
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ । प्रहरीले काठमाडौं जिल्ला अदालतबाट उनीहरुलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति लिएको हो । प्रहरीले मागे अनुसार नै अदालतले समय दिएको छ ।
केही आरोपितका वकीलहरुले थुनामा नराखी हाजिर जमानीमा छाडेर अनुसन्धान गर्न सकिने भन्दै म्याद थप्न आवश्यक नरहेको बहस गरेपनि अदालतले त्यसलाई अस्वीकार गरेको छ ।
अहिलेसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डे, इन्द्रजित राईलगायत १२ जना पक्राउ परेर अनुसन्धानका लागि थुनामा छन् । पूर्वउपप्रधानमन्त्री एवं नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार छन् । उनलाई पनि प्रहरीले खोजिरहेको छ। छोरा सन्दीप भने अहिले प्रहरी हिरासतमा छन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका खाण गत वैशाख २७ गते आफ्नै घरबाट पक्राउ परेका थिए। उनी गृहमन्त्री भएका बेला गृहसचिव रहेका हाल उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेपछि खाण पनि अनुसन्धानमा तानिएका हुन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा छानविन सुरु भएपछि जनस्तर तथा राजनीतिक दलकै तर्फबाट निष्पक्ष छानविन र दोषीमाथी कारबाहीको माग गर्दै सरकारलाई दबाब बढिरहेको छ। काठमाडौं सहित देशका विभिन्न ठाउँमा दिनहुँ जसो प्रदर्शन भैरहेको छ ।