
काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कपको तयारी पूरा भएको छ ।
नेपाल भलिबल संघले सोमबार पत्रकार सम्मेलनबाट यही जेठ ८ देखि १४ गतेसम्म नेपालमा आयोजना हुने काभा महिला च्यालेन्ज कपको तयारी पूरा भएको जानकारी दिएको छ ।
संघका अध्यक्ष तथा प्रतियोगिताका संयोजक जितेन्द्रबहादुर चन्दले प्रतियोगितालाई सफल रुपमा आयोजना गर्न आफूहरु लागीपरेको बताए । प्रतियोगितामा बंगलादेश, भारत, माल्दिभ्स, श्रीलंका, कजाकस्तान, कीर्गिस्तान, उज्वेकिस्तान र आयोजक नेपालको सहभागीता रहने छ ।
यसअघि नेपालले २०१९ मा पुरुषतर्फ एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगिता आयोजना गरिसकेको छ । त्रिपुरेश्वरस्थित राखेपको कर्भड हलमा आयोजना हुने सो प्रतियोगितामा दक्षिण एसिया तथा सेन्ट्रल एसियाका ८ राष्ट्रको सहभागीता रहने छ ।
मुख्य प्रशिक्षक जान जोसे डी ब्रान्टको नेतृत्वमा नेपाली महिला टोलीको तयारी समेत अन्तिम चरणमा पुगेको बताइएको छ । यस पटक नेपाली महिला भलिबल टोलीकी नियमित सदस्य प्रतिभा माली चोटका कारण टिममा छैनन् । उनी नहुँदा अन्य खेलाडीहरुले पनि राम्रो प्रदर्शन गर्नुपर्ने टोलीका प्रशिक्षक जगदीश भट्टले बताए ।
प्रतियोगिता आयोजनाका लागि केही समय अघि नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द र काभाका अध्यक्ष मोहमद लाथिफले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । प्रतियोगिताको आयोजनाको खर्च अनुमानीत २ करोड ७१ लाख रहेको संघले बताएको छ ।