
काठमाडौं । साविक विजेता गुजरात टाईटन्स ईण्डियन प्रिमियर (आईपीएल)को प्ले अफमा पुगेको छ । सोमवार राति भएको खेलमा सनराईजर्स हैदरावादलाई ३४ रनले हराउँदै गुजरात प्ले अफ पुग्ने पहिलो टिम बनेको हो ।
गुजरात १३ खेलमा नौ जितका साथ १८ अंक जितेर प्ले अफ प्रवेश गर्यो । हैदरावाद उपाधि होडबाट बाहिरिएको छ । पहिले ब्याटिङ गरी १८८ रन बनाएको गुजरातले सनराईजर्स हैदरावादलाई १ सय ५४ रनमा सीमित गर्यो । हैदरावादका लागि हेनरिक क्लासनेले सर्वाधिक ६४ रन बनाए ।
४४ बलको सामना गर्दै उनले तीन छक्का र चार चौका प्रहार गरे । ५९ रनमा सात विकेट गुमाएको हैदरावादका लागि हेनरिक क्लासेन र भुवनेश्वर कुमारले आठौं विकेटका लागि राम्रो साझेदारी गरे । क्लासेन टिमको स्कोर १२८ हुँदा आउट भए । भुवनेश्वर कुमारले २७ रनको योगदान गरे । गुजरातका लागि मोहम्मद सामी चार र मोहित शर्माले तीन विकेट लिए ।
यसअघि अहमदावादमा पहिले ब्याटिङ गरेको गुजरातले शुभमन गिलको शतक मद्दतले ९ विकेट गुमाएर १८८ रन बनाएको थियो । अर्को किनारामा लगातार विकेट झर्दा गिलले टिकेर खेल्दै ५८ बलमा १०१ रन बनाए । उनले १३ चौका र १ छक्का प्रहार गरे। यस्तै साई सुदर्शनले ४७ रनको योगदान गरे । गुजरातका चार ब्याटर शुन्यमा आउट भए । हैदरावादका भुवनेश्वर कुमारले ५ विकेट लिए । १२ खेलमा मात्र चार खेल जितेको हैदरावाद उपाधि होडबाट बाहिरिएको छ ।