
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले एमसीसी पारित गरेपछि नेपालमा अमेरिकी सरकारका प्रतिनिधि र सेनाको उपस्थिति बाक्लिएको भन्दै आपत्ति जनाएका छन् ।
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गरेसँगै नेपालमा अमेरिकी सेना र सरकारका प्रतिनिधिहरुको उपस्थिति बाक्लिन थालेको उनले दाबी गरेका छन् ।
३१औं मदन-आश्रित स्मृति दिवसका अवसरमा काठमाडौंमा बुधवार कार्यक्रममा खनालले अमेरिकाका रक्षामन्त्रीहरु आएर सबैभन्दा पहिले तिब्बतीय क्याम्पमा र नेपालका गृहमन्त्रीकोमा पुग्ने गरेको र नेपाललाई खेलमैदान बनाउन खोजिएको बताए ।
‘एमसीसी र एसपीपी पास गराएपछि अमेरिकी सेना र सरकारका एकपछि अर्को झुण्डहरु नेपालमा आएका छन् ।’ पूर्वप्रधानमन्त्री खनालले भने के स्वार्थ छ ? यसमा नेपालीले बुझ्नुपर्छ । हाम्रो देशको गृहमन्त्रीकोमा पुग्छन् ? के स्वार्थ छ ? ’ उनले थपे, ‘नेपाललाई किन खेल मैदान बनाउन कोसिस गर्दैछन् ? हामी अब यसको सामना गर्नपर्छ ।’
अर्को फरक प्रशंगमा उनले नक्कली भूटानी शरणार्थी प्रकरण लज्जास्पद र राष्ट्रघाती भएको बताएका छन् । उनले यो प्रकरणको निष्पक्षरुपमा छानबिन गरी टुंगोमा पुर्याउनु पर्ने बताए ।