
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको परिस्थिति चिन्ताजनक रहेको बताएका छन् ।
बुधवार काठमाडौंमा मदन—आश्रितको ३१ औं स्मृति दिवसलाई सम्बोधन गर्दै ओलीले देशको अवस्था ठिक नरहेको बताएका हुन् ।
अहिलेको सा गठबन्धन सत्तामा मात्रै सिमित र राजनीतिलाई हलुका रुपमा लिइरहेको ओलीको आरोप छ । नेपाली काँग्रेसलाई राजनीतिक भन्न पनि नसक्ने स्थितिमा पुगेको भन्दै उनले काँग्रेस किं कर्तव्य विमुढ अवस्थामा रहेको टिप्पणी गरे । अध्यक्ष ओलीले वर्तमान गठबन्धन नीति, कार्यक्रम, उद्देश्यबिहीन गठबन्धन भएको आरोप लगाए ।
‘अहिलेको राजनीतिलाई जसरी अत्यन्तै हल्काफुल्का ढंगले लिइएको छ, मानिसहरुको लिन खोजिरहेका छन्, खासगरी सत्ताधारीहरुले, सत्ताधारी गठबन्धनले त्यो दुःखद् कुरा हो । देशको परिस्थिति अत्यन्त गम्भीर छ । अत्यन्त जटिल छ । ’ ओलीले भने,–नेपाली कांग्रेस भन्ने एउटा पार्टी छ, हावा न चावा भन्या । कुनै राजनीतिक संज्ञा दिनपनि मन लाग्न छोडिसक्यो । देश यस्तो गम्भीर परिस्थितिमा छ । एउटा लामो इतिहास बोकेको नेपाली काँग्रेस किं कर्तव्य विमुढ, भोलि कहाँ जाने केही थाहा छैन भन्ने जस्तै छ, आज कसरी देशलाई सही बाटोमा लैजाने सोच्ने अवस्थामा छैन । यसको अर्थ हाम्रो पार्टी एक्लैले यो अभिभारा वस्तुतः पूरा गर्नुपर्ने परिस्थिति बनेको छ, यो सहज छैन । ’
अध्यक्ष ओलीले राजनीति भयावह अवस्थाबाट गुज्रिरहेको बताए। उहाँले अहिलेको सत्ता गठबन्धन टिक्छ की जान्छ भन्नेमा मात्रै सिमित रहेको दाबी गर्नुभयो ।
‘हामी कसैसँग कहिल्यै मिल्दैनौँ भन्ने होइन तर सत्ता गठनका लागि मिल्ने कुरा हुँदैन, देश, जनता, सुशासन, परिवर्तनका लागि हामी कोहीसँग मिल्न सक्छौँ । अहिलेको गठबन्धन सत्ता, सरकार प्राप्त गर्न गरिएको गठबन्धन हो, सत्ताधारी हो । नीति, कार्यक्रम, उद्देश्यबिहीन गठबन्धन हो, कार्यक्रम बिहीन गठबन्धन हो ।’ ओलीले भने ।