
एजेन्सी । आईपिएल अन्तर्गत आइतबार राती भएको खेलमा गुजरात टाइटन्ससँगको हारपछी रोयल च्यालेन्जर बैंगलोर प्ले अफको दौडबाट बाहिरिएको छ ।
बैंगलोरको हारको फाइदा मुम्बई इन्डियन्सलाई भएको छ । बैंगलोरको हारसँगै मुम्बई प्लेअफमा पुगेको छ । आजै भएको खेलमा हैदरावादलाई ८ विकेटले हराएको मुम्बईले बैंगलोरको हारको कामना गरिरहेको थियो ।
ओपनर शुभमन गीलको नट आउट १०४ रनको उत्कृष्ट पारीको मद्दतमा गुजरातले बैंगलोरलाई ६ विकेटले हराएको हो । १९८ रनको लक्ष्य गुजरातले १९.१ ओभरमा ४ विकेटको क्षतीमा भेटाएको हो ।
यस अघि विराट कोहलीको शतकीय पारीको मद्दतमा बैंगलोरले १९७ रन बनाएको थियो ।
आजका खेलसँगै आईपीएलका लिग चरणका खेल सकिएका छन भने प्लेअफ समीकरण पूरा भएको छ । २० अंकका साथ गुजरात शीर्ष स्थानमा छ भने १७ अंक सहित चेन्नई दोस्रो स्थानमा छ । समान अंक भएपनी रनरेटका आधारमा चेन्नई भन्दा पछाडि परेको लखनउ तेस्रो स्थानमा रहदा १६ अंक सहित मुम्बई प्लेअफमा पुग्ने चौथो टीम बनेको छ ।
अब गुजरात र चेन्नईबीच हुने पहिलो प्लेअफ खेलको विजेता सोझै फाइनल पुग्ने छ भने पराजित हुने टीमले फाइनलमा पुग्नका लागि लखनउ र मुम्बईबीचको विजेतासँग खेल्नेछ ।