
काठमाडौं । पाँच पटकको विजेता मुम्बई ईण्डियन्स आईपीएलको क्वालिफायरमा प्रवेश गरेको छ ।
चेन्नईमा बुधवार राति भएको एलमिनेटरमा लखनउ सुपर जायन्ट्सलाई ८१ रनले हराउँदै मुम्बई क्वालिफायरमा प्रवेश गरेको हाे । अब मुम्बइले फाईनल प्रवेशका लागि गुजरात टाईटन्ससँग शुक्रबार खेल्नेछ । लखनउ प्रतियोगिताबाट बाहिरिएको छ । चेन्नई यसअघि नै फाईनल प्रवेश गरिसकेको छ ।
चेन्नईमा मुम्बईले दिएको १ सय ८३ रनको लक्ष्य पछयाएको लखनउ १६ ओभर ३ बलमा १ सय १ रनमा अलआउट भयो । उसका लागि मार्कस स्टोइनिसले सर्वाधिक ४० रन बनाए । केल मेयर्सले १८ र दीपक हुड्डाले १५ रनको योगदान गरे । मुम्बईका लागि आकाश मधवालले ५ विकेट लिए ।
चेन्नईमा टस जितेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८२ रन बनाएको थियो । मुम्बईका क्यामरन ग्रीनले २३ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ४१ रनको योगदान दिए । सूर्यकुमार यादवले २० बलमा २ छक्का र २ चौका सहित ३३, नेहाल बडेराले १२ बलमा २३ रन जोडे । उनले २ चौका र २ छक्का हाने ।
ओपनर तथा कप्तान रोहित शर्मा १० बलमा १ चौका र १ छक्कासहित ११ रनमा आउट भए । ईशान किशनले १५ र टिम डेविडले १३ रन जोडे । । लखनऊका नविन उल हकले ४ ओभरमा ३८ रन खर्चेर ४ विकेट लिए । यश ठाकुरले ४ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए । मोहसिन खानको नाममा एक विकेट रह्यो ।