
काठमाडौं । काठमाडौंमा जारी काभा वुमन्स भलिबल च्यालेन्ज कपमा आज सेमिफाइनलका खेल हुँदैछन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भारत र उज्वेकिस्तान तथा घरेलु टोली नेपाल र कजाकस्तानबीच सेमिफाइनल खेल हुनेछ ।
पहिलो सेमिफाइनलमा भारत र उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।नेपालले दोस्रो सेमिफाइनलमा बेलुकी ५ बजे कजाकस्तानको सामना गर्नेछ । जारी प्रतियोगितामा सहभागीमध्येकै सबैभन्दा बलियो टोलीको रुपमा रहेको कजाकस्तान समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनल पुगेको हो । यस क्रममा कजाकस्तानले ९ सेट जित्दा २ सेट मात्र गुमाएको छ ।
घरेलु टोली नेपाल समूह ‘ए’ मा दुई जित र एक हारबाट समूह उपविजेता बन्दै सेमिफाइनल पुगेको हो । नेपालले प्रतियोगितामा ७ सेट जित्दा ३ सेट गुमाएको छ ।कीर्गिस्तान र बंगलादेशलाई सोझो सेटमा हराएको नेपाल भारतसँग प्रतिस्पर्धात्मक खेलमा ३–१ को सेटमा पराजित भएको थियो ।
नेपालले उपाधि रक्षा गर्ने सम्भावना कायम राख्न कजाकस्तानलाई पराजित गर्नुपर्नेछ । ६ खेलाडीलाई पहिलो पटक राष्ट्रिय टिममा समावेश गरेको नेपालले काभा च्यालेन्स कपअघि आन्तरिक तयारी बाहेक कुनै अन्तर्राष्ट्रिय खेल खेलेको थिएन ।
नेपालले उपाधि जित्ने सम्भावना कायम राख्न कजाकस्तानलाई पराजित गर्नुपर्नेछ । कजाकस्तानसँगको हारले भने नेपालको उपाधि जित्ने लक्ष्यसहित दोस्रो स्थान पनि गुम्नेछ । सेमिफाइनलमा पराजित भए नेपालले तेस्रो स्थानको लागि खेल्नुपर्नेछ ।