
काठमाडौ । मुम्बई इन्डियन्सलाई हराउँदै गुजरात टाइटन्स आईपिएलको फाइनलमा पुगेको छ। अब उपाधिका लागि आइतबार गुजरात र चेन्नई भिड्नेछन् ।
गए राती भएको दोस्रो क्वालिफायर खेलमा शुभमन गिलको तुफानी शतक र मोहित शर्माको बलियो बलिङमा गुजरात टाइटन्सले मुम्बई इन्डियन्सलाई ६२ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो।
पहिले ब्याटिङ गर्दै गुजरात टाइटन्सले दिएको २३४ रनको लक्ष्य पछ्याएको मुम्बई इन्डियन्स १८.२ ओभरमा अलआउट हुँदै १७१ रन मात्र बनाउन सक्यो।
मुम्बईकालागि सूर्यकुमार यादवले सर्वाधिक ६१, तिलब बर्माले ४३ र क्यामरून ग्रिनले ३० रन बनाउनु बाहेक अन्य कुनै पनि ब्याट्समेनले दोहोरो अंकमा रन बनाउन सकेनन्।
मुम्बई इन्डियन्सले यसअघि ६ पटक फाइनल खेल्दा ५ पटक उपाधि जितेर प्रतियोगिताकै सर्वाधिक सफल टोली भएको छ। गुजरात टाइटन्सका लागि मोहित शर्माले उत्कृष्ट बलिङ गर्दै मुम्बई इन्डियन्सको ५ विकेट लिए। मोहम्मद शामी र राशिद खानले पनि २–२ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरात टाइटन्सले शुभमन गिलको शतकमा निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २३३ रन बनाएको थियो। शुभमन गिलले मात्र ६० बलमा १० छक्का र ७ चौकासहित १२९ रनको बलियो इनिङ खेले।