शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

गणतन्त्र कसका लागि ?

गणतन्त्र कसका लागि ?

साझा पोष्ट
सोमबार, जेठ १५ २०८०
  • images
    गणतन्त्र कसका लागि ?
    images

    आज जेष्ठ १५ गते अर्थात गणतन्त्र दिवस । २०६५ जेष्ठ १५ गते जननिर्वाचित संविधान सभाले २ सय ४० वर्षे निरंकुश शाहवंशीय राजतन्त्रको अन्त्य गरी गणतन्त्र अर्थात जनताले चाहेको व्यवस्था स्थापना भएको दिन । स्वतन्त्रता, नागरिक सार्वभौमत्ता र लोकतन्त्रमा विश्वास गर्ने सबै खुशी थिए,किनकी निरंकुश, जनविरोधी ,वंशवादी, व्यक्तिवादीव्यवस्था ढलेको थियो ।


    images
    images

    संविधान सभाले गणतन्त्र घोषणा गर्दै गर्दा ०६५ साल जेठ १५ गतेलाई ‘नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा विधिवत् प्रवेश गरी नयाँ युग आरम्भ भएको ऐतिहासिक अवसर’ भनेको थियो । अर्थात १६ वर्ष अघि यो एउटा सुन्दर विहानी र नयाँ युगको शुरुवातका रुपमा आएको थियो   जनताको बलमा स्थापित गणतन्त्र अब युवावयतिर जाँदैछ । आफैले चाहेर ल्याएको यो शासन व्यवस्थाप्रति आम नागरिकका अपेक्षा धेरै छन् । तर, नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको गति निकै सुस्त मात्रै होईन, जनताको अवस्थाको कोणबाट हेर्दा यो गतिहीन छ । यसको कार्यान्वयन र फलप्राप्ति जनताका लागि 'आकाशको फल...' जस्तो  भएको छ । 

    गणतन्त्र, एउटा शासन व्यवस्था मात्रै होइन । संस्कृति पनि हो । संविधान र विधि, पद्धतिबाट चल्ने कानुनी राज हो । तर, बितेका १५ वर्ष पुरै निराशाजनक छन । सत्तामा पुग्ने र स्वेच्छाचारी शासन लाद्ने ध्यान बाहेक अरु केही देखिन्न । यो रुपमा गणतन्त्र त हो तर सारमा यो दुई चार जना नेताले शासन लाद्ने र तिनका आसेपासे पोस्ने व्यवस्थाका रुपमा परिणत भएको छ ।  गणतन्त्र अहिले पनि राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री सांसद र कर्मचारीतन्त्रको घेरा भित्रै छ । यो बाहिर निस्केकै छैन । राष्ट्रपतिका ठाउँमा राजा छैनन, तर जे चलिरहेको छ, त्यो पुरानै ढर्राको छ ।  गणतन्त्र आम नागरिकको घर आँगनमा पुग्नै सकेको छैन । 
    बितेका १५ वर्षमा भ्रष्टाचार र कमिशनखोरको बिगबिगी छ । भ्रष्ट र बिचौलियाहरु छाती खोलेर हिंड्ने अनि ईमानदार र मेहनतकश मान्छेहरु निरीह बन्नु पर्ने अवस्था छ ।   ठूला ठूला भ्रष्टाचारका काण्डले गणतन्त्र कसरी अघि बढेको छ प्रष्टै हुन्छ ।  गणतन्त्र कसैलाई आएको छ भने पार्टीका प्रमुख, ती नेताका वरिपरि घुम्ने पहिलो दोस्रो तहका नेता, तिनका परिवार, ठेकेदार, उद्योगपति, व्यापारीरूलाई आएको छ । तिनीहरूले गणतन्त्रको भरपुर दुरूपयोग गरेका छन् ।संसद जनताको प्रतिनिधिको रूपमा होइन, ठेकेदार, व्यापारी, उद्योगपति, माफिया, तस्करहरूका लागि काम गर्ने अखडा बन्ने खतरा छ । संवैधानिक अंगहरु दलीयकरणले ध्वस्त हुने दिशामा छन् । 

    शासन व्यवस्थाका रुपमा गणतन्त्र आयो, संविधान पनि बन्यो, संविधानमा समाजवाद लेखिएको छ, तर गणतन्त्रपछि धनी र गरिबबीचको खाडल झन्झन् गहिरिएको छ ।   जातीय छुवाछुत र लैङ्गिक भेदभाव र असमानता उस्तै छ । राम्रो स्वास्थ्य शिक्षाको कुरा धेरै पर अहिले पनि भुइँ मान्छेले दुई छाक सहज ढंगले खान पाउने र विरामी हुँदा सिटामोल पाउने अवस्था छैन । तर शक्तिशाली र पहुँचवालाहरू राज्यस्रोतबाट लाखौँ, करोडौँ खर्चिएर विदेशमा उपचार गराइरहेका छन् । उत्पादन वृद्धि र रोजगारी सिर्जनामा ध्यान दिइएको छैन, नागरिक बाहिर पठाउने र  रेमिट्यान्सबाट देश चलाउने सोच भन्दा माथि शासकहरु माथि उठ्नै सकेनन, त्यसले आम नागरिकमा वितृष्णासमेत बढ्दो छ । भ्रष्टाचार र मानव तस्करीका काण्डले देशको अन्तर्राष्ट्रिय छवि पुरै कमजोर भएको छ, अर्थात मुलुक र नागरिकको इज्जत र मानप्रतिष्ठा गुमिरहेको छ ।

    प्रष्ट शब्दमा भन्ने हो अहिले गणतन्त्र कसको र कस्तो गणतन्त्र भनेर प्रश्न गर्ने खालकै छ र गर्नुपर्छ । किनकी जनताले गणतन्त्रको फल पाएका छैनन । यदा कदा केही दल र तिनका नेताले भन्ने गरेको सुनिन्छ, बोल्न पाइएको छ, लेख्न पाइएको छ, ।' तर अहिले बोलेर लेखेर के हुन्छ ? भन्ने अवस्था सिर्जना भएको छ, शासकीय जवाफदेहीता छैन । दलहरु भित्रै कुरा गर्ने हो भने पनि  सीमित व्यक्तिको हालीमुहाली छ, प्रश्नहरुको न कुनै सुनुवाई हुन्छ, न प्रश्न गर्न पाईने अवस्था छ । 

    आज गणतन्त्र दिवससत्ता र शक्तिमा हालिमुहाली गरिरहेको वर्गले कर्मकाण्डी ढंगले उत्सवका रुपमा मनाइरहँदा त्यो उमंगको अनुभूति आम नागरिकले गर्न सकेको छैन । र, यो दिशामा  शासक र राजनीतिक दलहरुले ध्यान दिएका छैनन् । आम नागरिकले अनुभूति नगरेसम्म संघीय लोकतान्त्रिक गणतन्त्रको जतिसुकै चर्को नारा लगाए पनि अर्थ रहँदैन । परिवर्तनको अनुभूति राज्य संयन्त्रको सेवा प्रवाहले मात्र दिलाउन सक्छ ।  बितेका १५ वर्षका नेपाली गणतन्त्रका अनुभवहरू सन्तोषजनक छैनन् । सत्तामा पुग्ने र स्वेच्छाचारी शासन लाद्ने ध्याउन्नबाट छिटो ब्यूँझनु राम्रो हुनेछ । 

    गणतन्त्र जनताको ठूलो बलिदानबाट प्राप्त भएको हो । जनताको बलिदानमाथि शासकहरूले भद्दा मजाक गरिरहेका छन, यसलाई जनताले नै सच्याउने हो । किनकी  गणतन्त्र आफैँमा जवाफदेही बनाउने व्यवस्था पनि हो । नेपालमा अहिले खराब शासकहरूका विरुद्धमा जसरी आवाज उठिरहेको छ यो सराहनीय पक्ष हो र यो गणतन्त्र बलियो बनाउने आशा पनि हो । कतिपय निरंकुशतावादी र जनविरोधी शक्तिले यो जनताको आक्रोशलाई आप्नो गलत सोंच पुुरा गर्ने हतियार बनाउन सक्छन, त्यसतर्फ भने स्वतन्त्रता, नागरिक सार्वभौमत्ता र लोकतन्त्रमा विश्वास गर्ने हरेक नागरिक र संस्थाले चनाखो हुनुपर्छ । किनकी गणतन्त्रको विकल्प निरंकुशता हुँदै होईन ।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार