आइतबार, जेठ ६ गते २०८१
Logo
आइतबार, जेठ ६ गते २०८१
images
images
Logo
images

गाजाको अस्पतालमा गरिएको रकेट आक्रमणको सर्वत्र विरोध

गाजाको अस्पतालमा गरिएको रकेट आक्रमणको सर्वत्र विरोध

साझा पोष्ट
बुधबार, कात्तिक १ २०८०
  • images
    गाजाको अस्पतालमा गरिएको रकेट आक्रमणको सर्वत्र विरोध
    images

    पेरिस ।  गाजाको एक अस्पतालमा भएको हमलामा कम्तीमा दुई सय जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । उक्त हमलाप्रति विश्वभर आक्रोश र निन्दा व्यक्त गरिएको छ भने अम्मान, ट्युनिस, बेरुत र तेहरानमा विरोध प्रदर्शनसमेत भएको छ । 

    images
    images

    उक्त क्षेत्रमा शासन गर्दै आएको प्यालेस्टिनी लडाकू समूह हमासले इजराइलले उक्त हमला गरेको आरोप लगाएको छ । इजराइली सेनाले हमासको आरोपलाई ‘झुट’ भन्दै हमासको सहयोगी इस्लामिक जिहादले गलत रकेट आक्रमण गरेको आरोप लगाएको छ । 

    images
    images

    हमलाको विभिन्न संस्था र देशले विरोध गरेका छन् :

    संयुक्त राष्ट्रसङ्घ

    संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेर्रेसले गाजाको अस्पतालमा सयौँ प्यालेस्टिनी नागरिक मारिने गरी भएको हमलाबाट आफू भयभीत भएको बताए । गुटेर्रेसले हमलाप्रति कसैलाई आक्षेप नलगाई हमलाको कडा भर्त्सना गरे  । 

    विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)

    विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले घातक हमलाप्रति खेद प्रकट गर्दै गाजापट्टीमा नागरिक र स्वास्थ्य सेवाको तत्काल सुरक्षाको माग गरेको छ । “अल अहली अरब अस्पतालमा भएको आक्रमणको डब्लुएचओले कडा भर्त्सना गर्दछ”, डब्लुएचओले एक विज्ञप्तिमा भनेको छ, “अस्पताल चलिरहेको थियो, त्यहाँ बिरामी, बिरामीका हेरालु र आन्तरिकरूपमा विस्थापित मानिसहरूले आश्रय लिइरहेका थिए, प्रारम्भिक रिपोर्टले सयौँको मृत्यु भएको र घाइते भएको सङ्केत गर्दछ ।”

    फ्रिकी युनियन

    अफ्रिकी युयिननका प्रमुख मुसा फाकी महामतले घातक हमलापछि इजराइलमाथि ‘युद्ध अपराध’ को आरोप लगाए । “सयौँ मानिस मारिने गरी आज गाजाको अस्पतालमा भएको इजराइली बम हमलाप्रति खेद प्रकट गर्न हामीसँग पूरारूपमा शब्द नै छैन”, इजराइलमाथि अन्तर्राष्ट्रिय कारबाहीको माग गर्दै उनले भने । 

    आइसीआरसी

    इन्टरनेसनल कमिटी अफ दि रेड क्रस (आइसीआरसी) ले पनि ‘अस्पतालहरू मानव जीवन बचाउनका लागि आश्रयस्थल हुनुपर्छ, मृत्यु र विनाशको दृश्य होइन’ भन्दै हमलाप्रति निन्दा गरेको छ । 

    एमएसएफ

    मेडिकल च्यारिटी डक्टर्स विथआउट बोर्डर्स (एमएसएफ) ले अस्पतालमा भएको हमलाप्रति खेद व्यक्त गरेको छ । “गाजा सहरस्थित अहली अरब अस्पतालमा भएको हालैको बमबारीबाट हामी भयभीत छौँ, अस्पतालका चिकित्सकहरूले बिरामीहरूको उपचार गरिरहेका थिए र विस्थापित गाजावासीलाई आतिथ्यता प्रदान गरिरहेका थिए”, एमएसएफले भनेको छ ।

    अमेरिका

    अमेरिकी राष्ट्रपति जो बाइडेनले विस्फोटबाट आफू आक्रोशित र अत्यन्त दुःखी भएको भन्दै विस्फोटबाट जीवनको भयानक क्षति भएको बताए ।

    बाइडेनले उक्त खबर सुन्नेबित्तिकै आफूले तुरुन्तै इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहु र जोर्डनका राजा अब्दुल्लाह द्वितीयसँग कुराकानी गरेको जानकारी दिए ।

    इजिप्ट

    राष्ट्रपति अब्देल फताह अल–सिसीले अहली अस्पतालमा इजराइली बमबारीको कडा शब्दमा भर्त्सना गरे । उक्त हमलाबाट गाजामा प्यालेस्टिनी नागरिकमध्ये सयाँ निर्दोषको मृत्यु भएको उनले   बताए । 

    उनले  'नियोजितरूपमा भएको बमबारीलाई अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लङ्घन ' भने । । 

    साउदी अरेबिया

    क्षेत्रीय शक्ति साउदी अरेबियाले नागरिकहरूमाथि इजराइलको निरन्तर हमलाको निन्दा गरेको छ । उसले अस्पतालमा भएको हमलालाई सबै अन्तर्राष्ट्रिय कानून र मान्यताहरूको स्पष्ट उल्लङ्घन हो भनेको छ ।  

    जोर्डन

    जोर्डनको विदेश मन्त्रालयको एक विज्ञप्तिमा इजराइलले उक्त हमलाको जिम्मेवारी लिनुपर्ने भन्दै हमलाको कडा निन्दा गरेको छ । 

    त्यसपछि अम्मानले मध्यपूर्वमा शान्ति स्थापना गर्न अमेरिकी राष्ट्रपति बाइडेन सहभागी हुने एक शिखर सम्मेलन रद्द गर्ने घोषणा गर्यो र त्यसको जवाफमा बाइडेनले अम्मानको भ्रमण स्थगित गरेका छन् ।  

    अम्मानस्थित इजराइली दूतावासमा दर्जनौँ प्रदर्शनकारीले हमला गर्ने असफल प्रयास गरेका थिए । 

    युरोपेली युनियन

    युरोपेली युनियनको विदेशमामिला प्रमुख जोसेप बोरेलले खेद प्रकट गर्दै एकपटक पुनः निर्दोष नागरिकले उच्च मूल्य चुकाउनुपरेको बताए । 

    “यो अपराधको जिम्मेबारी स्पष्टरूपमा स्थापित गर्नुपछ र अपराधीहरूलाई जवाफदेही बनाउनुपर्छ”, उहाँले सामाजिक सञ्जाल एक्समा लेखेका छन् । 
    इरान

    इरानका राष्ट्रपति इब्राहिम रइसीले बुधबार सार्वजनिक शोक दिवस घोषणा गरे। उनले अस्पतालमा भएको हमलाको बदला इजराइल र उसको सहयोगी अमेरिकाविरुद्ध हुने बताए ।

    “गाजाका अस्पतालमा घाइते प्यालेस्टिनी पीडितहरूमाथि आज साँझ खसाइएको अमेरिकी–इजराइली बमहरूको ज्वालामा चाँडै नै यहुदीहरू जल्नेछन्”, राष्ट्रपति रइसीको भनाइ उद्धृत गर्दै इर्ना समाचार समितिले भनेको छ । 
    राति नै तेहरानस्थित बेलायती र फ्रान्सेली दूतावासबाहिर सयौँ प्रदर्शनकारी जम्मा भएका थिए । आफ्नो आक्रोश पोख्न मध्य तेहरानको प्यालेस्टाइन स्क्वायरमा हजारौँ जनता भेला भएका थिए । 

    इराक

    इराकका प्रधानमन्त्री मोहम्मद सिया अल–सुडानीले एक विज्ञप्तिमा ‘आक्रामण’ अन्त्यका लागि संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्बाट ‘तत्काल समाधान’ का लागि आह्वान गरेका छन् । 

    इराकी सरकारले हमलाका पीडितहरूका लागि तीन दिनको शोकको घोषणा गरेको छ । 

    टर्की

    टर्कीएका राष्ट्रपति रेसेप तय्यप एर्दोगानले घटनाप्रति खेद व्यक्त गर्दै सबैभन्दा आधारभूत मानवीय मूल्यहीन इजराइली आक्रमणको पछिल्लो उदाहरण भनेका छन् । 

    सामाजिक सञ्जाल एक्समा उहाँले लेखेका छन्  “गाजामा यो नृशंस कार्यलाई रोक्न म सबै मानवतालाई आमन्त्रित गर्दछु ।” 

    फ्रान्स

    फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले अस्पतालमा घातक हमला गरेर कुनै पनि कुराले सर्वसाधारणलाई निशाना बनाउनुको औचित्य स्थापित गर्न नसक्ने बताए ।  “गाजापट्टीमा मानवीय पहुँच खोल्न ढिलो गर्न हुन्न”, उनले भने । 

    हेजबोल्लाह
    इरान समर्थित लेबनानको हेजबोल्लाह मुभमेन्टले मङ्गलबार गाजापट्टीको अस्पतालमा भएको हमलाको निन्दा गर्न ‘क्रोध दिवस’का रूपमा आह्वान गरेको छ । उसले उक्त हमलालाई ‘नरसंहार’ भन्दै हमलाका लागि इजराइललाई दोषी ठहर गरेको छ ।  

    “बुधबार शत्रुका विरुद्ध क्रोध दिवस हो”, हमासको सहयोगी हेजबोल्लाहले विज्ञप्तिमा भनेको छ, । उसले हमलालाई नरसंहार र क्रुर अपराधको संज्ञा दिएको छ । 

    बेरुतको उपनगर अवकरस्थित अमेरिकी दूतावासबाहिर सयौँ प्रदर्शनकारी र लेबनानी सुरक्षा फौजबीच झडप भएपछि हेजबोल्लाहको उक्त भनाइ आएको हो । प्रदर्शनकारीहरूले ‘इजराइल मूर्दाबाद’ र ‘अमेरिका मूर्दाबाद’ भन्ने नारा लगाएका थिए । 

    अरब लिग

    अरब लिगका प्रमुख अहमद अबुल गेटले पश्चिमा मुलुकहरूले यो त्रासदीलाई तुरुन्तै रोक्नुपर्ने बताए । “हाम्रो अरब संयन्त्रले युद्ध अपराधको दस्तावेजीकरण गर्छ र तिनीहरूका अपराधी न्यायबाट उम्किन सक्तैनन्”, उनले चेतावनी दिँदै भने । 

    कतार

    कतारको विदेश मन्त्रालयले हमलालाई ‘क्रुर नरसंहार’ र “रक्षाहीन सर्वसाधारणविरुद्ध जघन्य अपराध” भनेको छ । एक विज्ञप्तिमा कतारले अहली अरब अस्पतालमा भएको हमलालाई “अन्तर्राष्ट्रिय कानूनका प्रावधानहरूको गम्भीर उल्लङ्घन” र “भिडन्तका क्रममा भयानक वृद्धि” भनेको छ । 

    ट्युनिसिया

    मङ्गलबार ट्युनिसियाको राजधानीस्थित फ्रान्सेली दूतावासबाहिर सयौँ क्रुद्ध प्रदर्शनकारी भेला भएका थिए । उनीहरूले अस्पतालमा भएको हमलाप्रति अमेरिकाको निन्दा पनि गरेका थिए । ‘फ्रान्सेली र अमेरिकीहरू यहुदीका सहयोगी हुन्’ भन्दै प्रदर्शनकारीले नारा लगाएको थिए । 

    प्रदर्शनकारीहरूले दुवै देशका राजदूतहरूलाई फिर्ता गर्न माग गर्दै ट्युनिसियाली भूमिमा अमेरिकी दूतावास हुनुहुन्न भन्ने नारा लगाएका थिए ।-एएफपी

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार