बुधबार, असार १३ गते २०८१
Logo
बुधबार, असार १३ गते २०८१
images

सन्दीपको निलम्बन फुकुवा: विश्वकपमा पठाउने तयारी शुरु

सन्दीपको निलम्बन फुकुवा: विश्वकपमा पठाउने तयारी शुरु

साझा पोष्ट
बुधबार, जेठ २ २०८१
  • images
    सन्दीपको निलम्बन फुकुवा: विश्वकपमा पठाउने तयारी शुरु
    images

    दीपेन्द्र कुँवर -

    काठमाडौं ।  स्पिनर सन्दीप लामिछानेलाई  टि २० विश्वकप खेल्ने बाटो खुलेको छ । उच्च अदालत पाटनले बलात्कार मुद्दामा निर्दोष ठहर गरे लगत्तै नेपाल क्रिकेट संघ क्यानले निलम्बन फुकुवा गरेपछि सन्दीपलाई  अमेरिका र वेस्ट इन्डिज जाने बाटो खुलेको हो

    images
    images

    ‘सम्मानित उच्च अदालत पाटनको २०८१ जेठ २ को फैसला बमोजिम नेपाली क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनि फैसला आएको हुँदा सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेटबाट निलम्बन फुकुवा गरिएको जानकारी गराउँछौं’, अध्यक्ष चतुर बहादुर चन्दले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  लामिछानेलाई टी–२० विश्वकप खेलाउने पक्षमा नेपाल क्रिकेट संघ क्यानले तत्काल प्रक्रिया अगाडी बढाउने भएको छ। क्यानले तत्कालै आवश्यक प्रक्रिया पूरा गरेर सन्दीपलाई टोलीमा समेट्ने अध्यक्ष चन्दले साझा पोष्टलाई बताए । 

    chatru_statemnt.jpeg

    आईसीसीसँग अनुमति लिने र स्वास्थ्य अवस्थाका बारेमा छलफल गरेर निर्णय गर्ने चन्दले जानकारी दिए । 

    ‘सन्दीपको फिट्नेसको बारेमा क्यानमा सल्लाह गर्छौं। आईसीसीसँग एप्रुभल लिइसकेपछि कोच र क्याप्टेनसँगको सल्लाहमा छनोट समितिले निर्णय गर्छ’, अध्यक्ष चन्दले भने, ‘दुई दिनभित्रमा सबै कुरा टुंग्याउँछौं।’

    भौतिक रुपमा क्यानको बैठक नबसी अनलाइनमै सल्लाह गरेर द्रुतगतिमा टुंगो लगाउने पनि चन्दले जानकारी दिए । ‘अहिले क्यानका सदस्यहरु  भेटेर बैठक बस्न सम्भव छैन। ग्रुप छ, ग्रुपमा सबैको राय आइहाल्छ, जुम मिटिङ हुन्छ र त्यसमा राय लिएर त्यसैलाई लिपिबद्ध गर्छाैं ’, चन्दले भने, ‘सन्दीप खेल्नुपर्छ, खेलाउनु पर्छ भन्नेमा छौं। यसका लागि प्रक्रिया एक दुई दिनमा पुरा हुन्छ र सबै कुरा टुंगिन्छ।’

    नेपाल क्रिकेट संघले आईसीसीमा विश्वकप खेल्ने टोलीका सदस्यको सूची पठाइसकेको छ। तर टोलीका सदस्यहरु अझै १० दिन (मे २५ तारिख)  भित्रमा परिवर्तन गर्न सक्ने व्यवस्था छ। तर टोलीमा परेर गइसकेको व्यक्तिलाई फिर्ता नबोलाई टोलीमा सदस्य थप्न आईसीसीसँग अनुमति माग्ने क्यानको तयारी छ।

     नेपाली टोली हाल वेष्टइण्डिजमा अभ्यासमा व्यस्त छ । नेपालले सन्दीपलाई पठाउँदा अन्तिम १५ बाट एक खेलाडी बाहिर हुनेछन् । कुन खेलाडी बाहिर हुने कप्तान रोहित पौडेल र मुख्य प्रशिक्षक मोन्टी देशाईमा भरपर्नेछ ।   ५ महिनापछि अब उनी एकैपटक विश्वकपका अभ्यास खेलमा सहभागी हुने करिब निश्चित भएको हो।

    sandeep_safai.jpg

    टी–२० विश्वकप क्रिकेट अमेरिका र वेस्ट इन्डिजमा आगामी जुन १ तारिखदेखि सुरु हुनेछ। जिल्ला अदालत काठमाडौले २०८० पुष १३ मा दोषी ठहर गर्दै लामिछानेलाई आठ वर्ष जेल सजाय सुनाएको थियो र त्यसपछि क्यानले २०८० पुस २६ गते घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटबाट पूर्व कप्तान समेत रहेका सन्दीपलाई निलम्बन गर्ने निर्णय गरेको थियो। पुस १३ गते नै जिल्ला अदालतले दोषि ठहर गरे पनि २६ गते मात्रै सजाय निर्धारण गरिएको थियो। तर उनले पछि त्यसविरुद्ध पूनरावेदन गरेका थिए । 

     

    प्रतिक्रिया हरु
    थप समाचार