बुधबार, असार १३ गते २०८१
Logo
बुधबार, असार १३ गते २०८१
images

नेपाली टिम विश्वकप खेल्दैछ अनावश्यक दबाब होईन, हौसला दिउँ : पारस खड्का( भिडियो अन्तर्वार्ता)

नेपाली टिम विश्वकप खेल्दैछ अनावश्यक दबाब होईन, हौसला दिउँ : पारस खड्का( भिडियो अन्तर्वार्ता)

'नेपालले कुनै पनि टिमलाई अपसेट गर्न सक्छ'

साझा पोष्ट
बिहीबार , जेठ १० २०८१
  • images
    नेपाली टिम विश्वकप खेल्दैछ अनावश्यक दबाब होईन, हौसला दिउँ : पारस खड्का( भिडियो अन्तर्वार्ता)
    images

    नेपालले १० वर्षपछि फेरि आईसीसी टि—२० विश्वकप क्रिकेट खेल्दैछ । नेपालले जुन १ देखि वेस्टइण्डिज र अमेरिकामा हुने विश्वकपमा प्रतिस्पर्धा गर्नेछ । नेपालले २ खेल अमेरिका र २ खेल वेस्टइण्डिजमा खेल्नेछ । नेपालको समूहमा श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश जस्ता ठूला टिम छन् भने अर्को एसोसियट राष्ट्र नेदरल्याण्ड्स पनि यही समूहमा छ ।   नेपालले जुन ४ मा नेदरल्याण्ड्सँग खेल्दै विश्वकपको शुरुवात गर्नेछ ।  विश्वकपको माहोल र समग्र नेपाली क्रिकेटको अवस्था र रणनीति तथा आगामी कार्यक्रममा केन्द्रित हामीले नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्का एवम् नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्कासँग कुराकानी गरेका छौं । 

    प्रश्न: नेपालले १० वर्षपछि टी–२० विश्वकप क्रिकेट खेल्दैछ कस्तो लागीरहेको छ ?  

    images
    images


    जवाफ : खुशी छौं । विश्वकप हाम्रा लागि ठूलो प्लेट फर्म हो । दश वर्ष कुर्नुपर्यो, तर एट लिस्ट प्लेइङ  द वर्ल्डकप । नेपाली क्रिकेट वर्ल्डकप पुग्नु नेपाली खेलकूदका लागि ठूलो कुरा हो । 

    प्रश्न: तपाइँ व्यक्ति एउटा हुनुहन्छ, तर एउटा पूर्व खेलाडि, पूर्वकप्तान र अहिले क्रिकेट हाँक्ने संस्थाको महत्वपूर्ण व्यक्तिका रुपमा फरक पनि छ । यी तीन ठाउँमा बसेर हेर्दा एउटै देखिन्छ कि फरक ?

     
    जवाफ : निश्चय पनि फरक त भैहाल्छ । खेलाडिको पहिलो प्राथमिकता भनेको खेलेर कसरी जिताउने भन्ने हुन्छ । अन द फिल्ड प्रदर्शन गर्नै पर्यो, चाहे खेलाडि होस वा कप्तान । २० वर्ष क्रिकेट खेलेर अहिले सात आठ महिना भयो क्रिकेट संघको सचिव भएर आएको छु । तीन वटैको रोल चाहिँ नेपाली क्रिकेटलाई कसरी राम्रो बनाउने भन्ने हो । अन फिल्ड जति चुनौतीहरु थियो, अफ फिल्ड पनि त्यति नै छ । तर अवसर पनि छ  । हामी डिभिजन ५ मा थियौं, त्यसपछि फोरमा जाने थ्रीमा जाने वानमा जाने भन्ने थियो, गर्दा गर्दा वर्ल्डकप पुग्यौं । ओडिआई स्टाटस पनि भयो । सक्दो राम्रो गर्ने प्रयासमा छौं । 

    प्रश्न: विश्वकपको तयारी र टिमको प्रदर्शन हेर्दा कत्तिको सन्तुष्ट हुनुहुन्छ ? 


    जवाफ :  क्रिकेट संघले जे जति गर्न सक्थ्यो, हामीले कोशिस गर्यौ पुस गर्यौं । विश्वकपमा छनौट भएदेखि नै टिमलाई बीजी राख्ने हाम्रो प्लान थियो । मुख्यप्रशिक्षकसँग कोअर्डिनेट गरेर विश्वकप अघिनै ४० देखि ५० वटा टी ट्वेन्टी म्याच खेल्नुपर्छ भन्ने थियो, मलाई लाग्छ लगभग त्यो पुरा भयो । प्लेयरहरु निरन्तर फरक फरक कन्डिसनमा खेलेका छन् । योङ र पोटेन्सियल बोकेको टिम छ । एक वर्ष अगाडिको नेपाली क्रिकेटलाई अन द फिल्ड हेर्ने हो भने ओडिआई स्ट्याटस बचाउनुपर्ने अवस्था थियो, १२ वडा ओडिआई मध्ये ११ वटा जित्यौं, त्यसपछि एसिया कपमा क्वालिफाई भयौं, वर्ल्डकप क्वालिफाई भयौं । सबै हेर्दा हामीले खेलाडिलाई जति सक्दो राम्रो प्लेट फर्म दिन कोशिस गरेका हौं । कहिले काहीँ कस्तो हुन्छ भने ‘यो टिम भैदेको भए उ टिम भैदिएका भए’  भन्ने हुन्छ । ‘यहाँ पठाउनु भन्दा अर्को ठाउँ पठाईदिएको भए हुन्थ्यो’ कि भन्ने गुनासोहरु हुन्छन् तर क्रिकेट संघले चाहिँ आफूसँग जे बेस्ट साधन स्रोतहरु छ त्यसलाई एक जुट बनाएर दिएको छ । र, गर्नुपर्छ किनकी विश्वकप खेल्दैछौं । 

    प्रश्न: यो प्रश्न किन सोधेको भने हिजो तपाइँ खेलाडि हुनुहुन्थ्यो आज क्यानको सचिव हुनुहुन्छ । खेलाडिलाई लाग्न सक्छ नि यस्तो भैदिएको भए भन्ने कुरा....


    जवाफ :  खेलाडिले त कसरी राम्रो गर्ने भनेर नै सोचिरहेको हुन्छ र प्रयास पनि गरिरहेको हुन्छ । हामीले खेल्दा पनि गुनासाहरु थिए । मेरै नेतृत्वमा नेपाली क्रिकेट टिममा खेलाडिहरुका तर्फबाट ‘यसो भएन उसो भएन भनेर बोलेका थियौं र प्रश्नहरु सोधेका थियौं।’  अहिले त्यही प्रश्नको जवाफ दिने ठाउँमा म आफै पनि छु । जतिसक्दो टिमलाई व्यवस्थित गर्ने र साधन स्रोत जुटाईदिने हो । तर प्रश्नहरु त सधैं भैहाल्छन् । प्रश्नहरु आए परिस्थिति अनुसार उत्तर दिने हो । 

    paras_1.JPG

    प्रश्न: तयारीको सन्दर्भमा टिमको प्रदर्शनबाट तपाइँ सन्तुष्ट हुनुहुन्छ ? 

    जवाफ : सन्तुष्ट छु र किन सन्तुष्ट छ भने नेपाली क्रिकेटको इतिहास , खेलाडिको प्रयास र नेपाली क्रिकेटको संरचना हेर्ने हो भने त्यति ठूलो संरचना छैन  । तर त्यो सानो संरचनाबाट छोटो समयमै आउटस्ट्याण्डिङ रिजल्टहरु ल्याएका छौं । त्यसमा कति भाग्यमा सीमित थिए, कहिले पानी पथ्र्यो कहिले अपोनेन्टले कसैले कसैलाई हराउनु पर्ने ठाउँमा हराइदिन्थ्यो । कहिले लास्ट विकेट पाटर्नरसिप ४०–५० रनको हुन्थ्यो यी सबै संयोग, विभिन्न जेनेरेशनले गरेको मेहनत र नेपाली क्रिकेटलाई अघि बढाउनु पर्छ भन्ने संकल्पका कारण  नेपाली क्रिकेट यो स्टेजसम्म आएको छ । तर नेपाली क्रिकेट यो भन्दा माथि पुर्याउने जुन सोच विचार छ यसमा हामीले दिने रिर्सोस र रिजल्ट बेस डिसिजन हुन्छन ।  जित्ना साथ अघि बढ्यो र हार्ना साथ खस्क्यो भन्ने सोचबाट माथि उठ्नुपर्छ । हाम्रो आजसम्मको माप दण्डनै यही भएको छ, त्यसैले क्रिकेटलाई क्रिकेटकै रुपमा बुझौं र स्ट«क्चर कस्तो छ भनेर पनि बुझौं । जहाँ खेलाडिहरु उत्पादन गर्ने संयन्त्र होस, उमेर समूहदेखि माथि आउने बाटोहरु होस् यस्तो नहुँदा पनि हामी यहाँसम्म आईपुगेका छौं । यो खुशीको कुरा हो । 


    प्रश्न: र, पनि टिमको कस्तो प्रदर्शन होला भन्ने अपेक्षा र अनुमान पनि हुन्छ नि ?


    जवाफ :  खेलाडिहरुले ज्यान लगाएर आफूलाई प्रस्तुत गर्छन । अपेक्षा छ खेलहरु जितोस भनेर किनकी त्यो विश्वकप हो । चार मध्ये तीन वटा टेस्ट राष्ट्रसँग खेल्दैछौं । एउटा टेस्ट राष्ट्रलाई हराएर २ वटा म्याच जित्यौं भने त दोस्रो चरण जाने संभावना पनि छ । नेदरल्याण्ड्सँग एशोसिएटमा खेलिरहेका छौं र हराएका पनि छौं । तर टी–ट्वेन्टी फरम्याटको एउटा प्लस पोईन्ट के हो भने कुनै पनि टिमलाई कुनै पनि दिन कुनै पनि टिमले हराउन सक्छ । श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्दा हामीलाई भन्दा उनीहरुलाई दबाब छ  किन भने हामीले त आफूलाई देखाउने प्लेट फर्म पाएका छौं । त्यसैले आफूले जुन ढंगको क्रिकेट खेल्दै आएको हो निर्धक्क र निडर भएर खेल्ने हो । त्यसैले ‘यू नेभर नो’ के हुन्छ । टिमले राम्रो गरोस भनेर अपेक्षाहरु छन,  राम्रो प्रदर्शन गर्छ भनेर आशा र भरोसा पनि छ । 

    प्रश्न: प्रेडिक्सनका कुरा आउँछन र चर्चा हुन्छ ....


    जवाफ :  म एउटा पूर्व खेलाडि भएको भएर पनि यो प्रश्न सोधिन्छ होला, तर म आफू खेल्दा पनि नतिजाबारे सोचेर भन्दा पनि त्यो नतिजा ल्याउन चाहिने प्रोसेसको बारेमा बढी ध्यान दिन्थें । राष्ट्रिय टिमको खेलाडि भैसकेपछि मेहनत सबैले गर्छन साथै जित्दा खेरि के सही र हार्दा खेरि के गलत गरियो भन्ने कुरा हेरिन्छ । त्यसैले म चाहिँ परिणाम भन्दा प्रोसेसमा ध्यान दिनुपर्छ भन्छु । अहिले पनि मलाई के लाग्छ भने टिमलाई हामीले जे जति प्लेट फर्म र साधन स्रोत दिएका छौं । त्यसअनुसार राम्रो खेले भने खुशी हुनु स्वाभाविक हो । तर इनकेश प्रदर्शन राम्रो भएन भने पनि हामी निराश हुनुहुन्न । किनभने अपेक्षा धेरै माथि भैसक्यो तर त्यसलाई पुरा गर्न लगानी पनि त गर्नु पर्यो नि । हामी आजको दिनसम्म विभिन्न जेनेरेशनको खेलाडिहरु र प्रशिक्षकहरुले जसो तसो टारेर आईरहेका छौं ।

    हेर्नुहोस् फूल भिडियो: 

    ">

    प्रश्न: तपाइँ भन्दै हुनुहुन्छ अहिले नतिजाको कुरा गरेर धेरै अपेक्षा राखेर टिमलाई दबाब नदिउँ ?


    जवाफ :  एकदमै यही कुरा हो । अहिले हामीले उहाँहरुलाई के नै दिएका छौं र प्रेसर दिने ? अहिलेसम्म त खेलाडि र अरु स्टेक होल्डरले त योगदान नै गर्नुभएको छ । लिने भन्दा दिने धेरै छन् । यो योङ टिम छ योङ्गेस्ट क्याप्टेनको नेतृत्वमा विश्वकप खेल्दैछौं । अपेक्षाका कारण प्रेसर हुन्छ । आज सामाजिक सञ्जाल नै खोलेर हेरयौं भने नेपालले त विश्वकप नै जित्नुपर्छ जस्तो माहौल छ । त्यो अपेक्षालाई खेलाडिले कति मिट गर्छन भन्ने कुरा हो । कम्तीमा पनि हामी जिम्मेवार पदाधिकारीका रुपमा हामीले बुझ्ने कुरा के हो भने नतिजा तलमाथि हुन सक्छ संभावना पनि छ किनभने खेलकूद क्षेत्रनै त्यस्तो हो । तर नतिजासँगै हाम्रो निर्णय गर्ने तरिका र प्रक्रियामा तलमाथि हुनुभएन । अहिलेको लागि टिम राम्रो छ र टिमबाट सिंगो देशको अपेक्षा पनि छ  । त्यसैले अहिले हामीले पनि दिने भनेको शुभकामना नै हो ।

    प्रश्न: हुन त यहाँले अघि नै भन्नुभयो, टी २० क्रिकेट हो जे पनि हुन सक्छ ।’ तर  चार टिम मध्ये अलि टफको कुरा गर्दा चाहिँ कुन ?

    जवाफ : चारवटै म्याच महत्वपूर्ण छन् । चारवटै म्याच कम्प्यारेटिभ हुन्छ । हामी २ वटा अमेरिका र २ वटा वेस्टइण्डिजमा खेल्दैछौं । अमेरिकाको कन्डिसन अलि फरक छ । नेपालका लागि मात्रै होईन अरु धेरै जसो राष्ट्रका लागि त्यसले गर्दा त्यहाँ एडभान्टेज हुन सक्छ कि भन्ने लाग्छ । तर प्रोफेसनल प्लेयर भैकसकेपछि एडप्टेशन भैहाल्छ । धेरै जसो टिमले त बेस पनि बनाईसकेका छन् । त्यसले गर्दा चार वटै म्याच महत्वपूर्ण छ । अहिलेको लागि उनीहरुलाई भारी नबोकाउँ । टिमले विश्वकप खेल्दैछ इन्जोए गरौं र समर्थन गरौं । अलिकति क्रिटिकल एनालिसिस कम गरौं यो मेरो आग्रह पनि हो ।  

    प्रश्न:यो प्रेसरको कुरा होईन, कन्डिसनको कुरा । नेदरल्याण्ड्स र श्रीलंकासँग हामी अमेरिकामा खेल्दैछौं । दक्षिण अफ्रिका र बंगलादेशसँग हामी वेस्टइण्डिजमा खेल्दैछौं  फरक के हुन सक्छ  ?


    जवाफ : अमेरिकामा मैले पनि २ पटक खेलेको थिएँ, त्यतिबेला सरफेस ठीकठाकनै थियो । ब्याटिङ फेभर पनि होईन, बलिङ फेभर पनि होईन एभरेज पिच थियो । टिमले लास्ट टाईम पनि खेलिसक्या छ  । तर अहिले पूर्णरुपमा नयाँ भेन्यूमा हामी खेल्दैछौं । अहिले सबै ढिक्का ल्याएर बनाउने ड्रपिङ पिचहरु बनेका छन जस्तो लाग्छ । फ्लोरिडामा त पहिले पनि एउटा सेट पिचनै छ । म आफै पनि २–३ हप्ता अगाडि फ्लोरिडामा जाँदा नयाँ पिचहरु पनि बनाईरहेको देखें । वेस्टइण्डिज चाहिँ हाम्रा लागि नयाँ ठाउँनै भयो । तर पनि हामीले ३ वटा अभ्यास म्याच विश्वकपकै खेल हुने ठाउँको वरिपरि गएर खेल्यौं र एक हप्ताको क्याम्पमा त्यहाँ युज टु हुने कोशिस गर्यौं । हाम्रो प्राथमिकता पनि के थियो भने जाँदै नगएको ठाउँमा एकैचोटी त्यहाँ गएर अन्योल हुनुभन्दा अलिकति कन्डिसन बुझ्ने थियो । त्यसै अनुसार गर्यौ । नेपालले विश्वकप हुने ग्राउण्डमै डालासमा २ वटा वार्म अप म्याच खेल्दै छ । त्यसको फाईदा त हुन्छ नै । तयारी चाहिँ राम्रो भएको छ । कन्डिसनको कुरा त प्रोफेसन प्लेयरले  जहाँ गएपनि खेलेरै देखाउने हो। सबै टिमले आफूलाई प्रमाणित गर्ने विश्वकपमा । त्यसैले कम्प्यारेटिभ क्रिकेट हुने संभावना छ । तर कसले कति एडप्ट गर्न सक्छ त्यसले म्याच डेमा प्रभाव पार्न सक्छ । 

    paras_4.JPG

    प्रश्न: सन् २०१४ मा तपाइँले नेतृत्व गर्नु भयो, अहिले रोहितले गर्नुभएको छ ।  एउटा कप्तानका रुपमा मनोविज्ञान कस्तो हुन्छ ? अहिले रोहितलाई भैरहेको होला, जुन कुरा सन् २०१४ तपाइँलाई भएको थियो । 


    जवाफ : एउटा कप्तानका रुपमा एउटा उदाहरण सेट गरौं भन्ने हुन्छ र गनुुपर्ने पनि त्यही हो ।सन् २०१४ मा हामीले विश्वकप खेल्दा त्यतिबेला नेपालको धेरै जसो मान्छेले क्रिकेट हेर्न थाले । पछिल्लो १० वर्षमा नेपालमा क्रिकेट हेर्ने मान्छेको संख्या धेरै बढेको छ । त्यो सँगसँगै क्रिकेट बुझ्नेको संख्या पनि बढ्दैछ । तर जति हेर्ने संख्या बढेको छ त्यति बुझ्ने संख्या भैसकेको छैन  । नेशनल लेभलमा क्रिकेटको दर्शक धेरै राम्रो छ । त्यो एरा र अहिले हेर्दाखेरि शायद अहिले धेरै अपेक्षा छ । त्यतिबेला २० लाखले हेर्थे भने अहिले १ करोडले हेर्छन कि एउटा अनुमान । पछिल्लो १० वर्षमा सोसल मिडियाको ग्रोथ धेरै बढेको छ । एउटा प्लेयरले एउटा खेल हार्दा पर्सनल फ्यान पेज चलाएर खोज्यो भने पनि त्यहाँ गालि धेरै छ । हामी क्रिकेटमा प्यासोनेट छौं । संसार सामू नै कीर्तिपुरको त्यो एटमोसफेयर छ त्यो हेर्न पनि कति खेलाडि आएर खेल्छन् । र डिजिटल्ली पनि हामीले देखाएको छौ संसार सामु । मैले अघि भनें नि क्रिकेट बुझ्ने ग्यापलाई कन्ट्रोल गर्नुपर्छ । किनभने  क्रिकेट बुझने र हेर्ने बीचको ग्याप हटाउनुपर्छ ।एउटा क्रिकेट फ्यानका रुपमा टिमले राम्रो प्रदर्शन नगर्दा दुःख सबैलाई हुन्छ । त्यो दुःख सबैभन्दा बढी ती खेलाडिलाई हुन्छ । त्यसैले हामीलाई अलिकति धैर्यता चाहिएको छ । त्यो टाईम सन् २०१४ र अहिलेको तुलना गर्ने हो भने चाहिँ अहिले अपेक्षा र दबाब धेरै छ । 


    प्रश्न: त्यो प्रेसरलाई कसरी लिएर अघि बढ्ने , डिल कसरी गर्ने ? 


    जवाफ : देशको लागि खेलिसकेपछि यसका लागि तयार हुनुपर्छ । विश्वकप खेल्दा धेरै र अरु गेम खेल्दा प्रेसर कम लिन्छु भन्ने हुँदैन् । चाहे विश्वकप होस् वा अरु कुनै सामान्य खेल, तपाइँले देशको झण्डाको प्रतिनिधित्व गर्नुहुन्छ र देशलाई प्रतिनिधित्व गरेपछि सानो या ठूलो भन्ने हुँदैन । विश्वकप एउटा ठूलो प्लेट फर्म हो । अघि हामीले चुनौती र अवसरको कुरा गरे जस्तो यो एउटा अवसर हो । विश्व क्रिकेटमा नेपाल पनि आईरहेको छ है भनेर देखाउने मौका हो । फरक भनेको अहिले व्यवस्थापनको दबाब नै हो । प्रेसर हेन्डल गर्नु पर्यो । त्यो चाहिँ गर्छन् । टिम राम्रो संरक्षित वातावरणमा ग्रुमिङ भैरहेको छ । 

    प्रश्न:यहाँ जान्न खोजेको तपाइँ सन् २०१४ मा मैदान प्रवेश गर्नु अघि र गरेपछि प्रेसरको कुरा गरेको, जुन अहिले रोहितलाई भैरहेको हुन सक्छ । 


    जवाफ : त्यतिबेला पनि प्रेसर थियो तर अहिले बढी नै छ । त्यतिबेला नेपालको तीन वटा म्याच भनेको विश्व क्रिकेटलाई नेपालको परिचय गराउनु जस्तै थियो । त्यसले गर्दा प्रेसर त्यति बेला पनि थियो । तर कुनै पनि क्रिकेटरलाई फस्ट बल फाल्दा र फेस गर्दा प्रेस एउटै हुन्छ । हामी क्राउडमा खेल्ने बानी परेकोले वर्ल्ड स्टेजमा धेरै क्यामेरा छ मान्छे छ भनेर त्यति असर गर्दैन । व्यक्तिगत ध्यान एउटा कुरा हो तर प्रेसर चाहिँ खेलाडिले विस्तार झेल्दै जान्छ । एउटा राम्रो क्रिकेटरलाई तपाइँले सोध्नु भयो भने उसले बाहिरको कुराले केही फरक पर्दैन भन्छ ।कन्डिसनसँग यूज टु हुनु स्वाभाविक हो ।तर म्याच वरिपरिको बिल्ड अपलाई ध्यान दिनुपर्छ । कहिले काहीँ चाहेर नचाहेर कतिपय कुरा कानमा छिर्छन् आँखाले हेरिन्छ पढिन्छ त्यो कुरालाई म्यानेज गर्न सिक्नुपर्छ । अहिले क्रिटिकल एनालिसिस बढी हुनछ किनकी सबैका हातमा फोन छ जे भने पनि हुन्छ त्यसको जवाफदेही कोही पनि छैन । त्यसैले कोचले जुन खालको रोल दिएको छ हरेक प्लेयरले त्यो भूमिका निभाउनुपर्छ । त्यो कम्बाईन इफोर्ट छ भने अरु कुराले केही असर गर्दैन । 


    प्रश्न:सन्दीप लामिछानेले खेल्ने भन्न कुरा आएपछि अब यसको इम्प्याक्ट टिममा कस्तो पर्ला ?


    जवाफ : सन्दीपको प्रदर्शन त प्रष्टै छ यो विश्वकपसम्म पुग्दा खेरि पनि सन्दीप वन अफ द कि प्लेयर हो । अदालतको फैसलापछि खेल्न पाउने कुराले टिमलाई स्वाभाविक रुपमा बल मिल्छ । सन्दीपले टी टवेन्टीमा त विश्व रेकर्ड तोड्न २ विकेट लिन मात्रै बाँकी छ । सन्दीपको प्रदर्शन निकै राम्रो छ नेपाली टिमलाई ठूलो बुस्ट भएको छ । सन्दीप आउन साथ हरेक म्याचमा विकेट लिने कति लिने भन्ने अपेक्षा पनि छ । तर सन्दीप खेल्ने कुराले सबै उत्साहित छन् । 

    प्रश्न: अब रिप्लेसमेन्टको समस्या पनि होला फेरि 


    जवाफ : त्यो त कोच र सेलेक्टर्सको जिम्माको कुरा भयो र आधिकारिक रुपमा हामी चाँडै नै घोषणा गर्ने छौं । 


    प्रश्न:हुन त क्रिकेट टिम गेम हो । तर कहिले काहिँ कुनै दिन कसको हुन सक्छ भनिन्छ । तपाइँलाई त्यस्तो कुनै दिन 'म्याच टर्न' गर्ने खेलाडि को-को  लाग्छ ?  


    जवाफ : यो टिममा धेरै म्याच विनर छन् , ओडिआई मान्यता बचाउन जुन १२ वटा म्याच थियो ११ वटा जित्दा हरेक खेलाडिले राम्रो गरे।  केही खेलाडिको नाम लिनु औचित्यपूर्ण किन हुँदैन भने वेस्ट क्रिकेटर छन र हामी नेदरल्याण्ड्स बाहेक आफू भन्दा माथिको टिमसँग खेल्दैछौं । पेपरमा त नेपालविरुद्ध बंगलादेश, नेपालविरुद्ध श्रीलंका र नेपालविरुद्ध दक्षिण अफ्रिका छ तर प्रेसर उनीहरुलाई छ । हाम्रो लागि त मौका हो । विपक्षीलाई अपसेट गर्ने हाम्रो टिममा क्षमता छ । टी ट्वेन्टीमा एउटा खेलमा ३–४ जनाले राम्रो गर्यो भने पुग्छ पनि । तर अपेक्षा र यथार्थको कुरा हो । अपेक्षा आकाश छुने खालको तर यथार्थ चाहिँ हामी अन्तर्राष्ट्रिय क्रिकेटमा वामे सर्दैछौं । 


    प्रश्न:केही पार्टनरसिपमा समस्या देखिएको छ र चर्चा पनि हुन्छ यसबारे पनि केही सरसल्लाह सुझावको कुरा होला ?


    जवाफ : टिम इज प्लेइङ गुड क्रिकेट । एउटा एसिया कपमा क्वालिफाई भएन हाम्रो । तर एकै चोटी सबै कुरा सम्भव पनि छैन । अपेक्षा चाहिँ जिते देखि राम्रो भन्ने छ । पार्टनरसिप अन द फिल्ड, अफ द फिल्ड, ब्याटिङ बलिङ फिल्डिङ सबैमा चाहिन्छ  , किनकी यो टिम स्पोर्टस हो । ब्याटिङ गर्दा २५० रन बनाए पनि बलिङ राम्रो नभए  त्यो पनि चेज हुन्छ । बलरले राम्रो गर्यो भने १५० मा पनि जित्न सकिन्छ । कम्बाईन इफोर्ट हो । 


    प्रश्न:तपाइँ केही समय अगाडि अमेरिका जानुभएको थियो, के छ यो विश्वकपलाई लिएर नेपाली डायस्पोरा कति उत्साही छ  ?


    जवाफ : मैले धेरै नै उत्साह देखें ।  ४–५ वटा राज्यमा पनि गएको थिएँ ।डालास र फ्लोरिडामा खेल हुने भएकोले टिकटको निकै धेरै माग छ । त्यसलाई पनि हामीले आईसीसीसँग म्यानेज गरेर टिकट दिने व्यवस्था मिलाएका छौं । र, मैदानमा बज हुन्छ । सबै जना नेपालीहरु आएर म्याच हेर्नुपर्छ जर्सी कहाँ पाईन्छ भन्ने छ । विदाको प्याकेजहरु लिएर खेल हेर्न जाँदै हुनुहुन्छ ।

    प्रश्न: कति नेपाली होलान , अनुमान के छ ? 


    जवाफ : टिकट सोल्डआउट नै भयो भन्ने छ र नेपालीले नै किनेको हुनुपर्ने जस्तो लाग्छ । मैले हेर्दा होम ग्राउण्डमै खेलेको जस्तो हुने वातावरण छ । हुन त श्रीलंका पनि ठूलो क्रिकेटिङ नेशन भएकोले फ्लोरिडामा श्रीलंकनहरु पनि होलान । तर पनि नेपाली समर्थक धेरै हुनेछन भन्ने अनुमान छ । 


    प्रश्न:नेपाली टिमलाई तपाइँको सन्देश के छ ? 


    जवाफ : मेरो शुभकामना छ । हामी सबै उत्साहित छौ, धेरै अपेक्षा छ तर यो अपेक्षा पुरा गर्न त्यति सजिलो छैन । त्यसलाई ह्याण्डल गर्नु होला नेपालले हरेक म्याच जितोस भन्ने नै हुन्छ । टिम सेट छ । यो टिमलाई हामी सबै नेपालीको शुभकामना छ ।  खेलको अन्त्यमा 'विनिङ ल्याप' हेर्न पाउँ, हाम्रो आशा यही छ ।  

    paras_5.JPG


    प्रश्न: तपाइँ नेपाल क्रिकेट संघ क्यानको सचिव हुनुहुन्छ ?  तर पुरुष र महिला क्रिकेटलाई फरक ढंगले हेरेको भनेर पनि कुराहरु आए । हामी सन् २०२७ मा यू १९ महिला विश्वकप आयोजना गर्दैछौं, पूर्वाधार र लगानीका हिसाबले त्यसको तयारी के छ ? 


    जवाफ : नेपाली महिला क्रिकेटलाई प्राथमकिता दिनुपर्ने   र उजागर गर्नुपर्ने खाँचो छ । तर अहिले हामीलाई यो विश्वकप निकै महत्वपूर्ण थियो । त्यसकै तयारीमा थियौं ।  सिनियर महिला टिमको एसिया कप जुलाईमा हुँदैछ । ४० –५० दिनमा टिमलाई एसिया कपका लागि तयार गर्दैछौं । भर्खरै मेयर्स कप र पीएम कप सक्यौं । क्याम्प हप्ता १० दिनमा शुरु हुँदैछ ।  एसिया कप अघि पनि हामी टिमलाई २–४ वटा देशमा पठाउँदैछौ । एसिया कप सकिसकेपछि राष्ट्रिय प्रतियोगिता गर्छौं र १६–१७ वर्षको बहिनीहरुबाट छानेर २०२७ सम्म राम्रो टिम बनाउने प्रयास पनि हाम्रो रहनेछ । यो सबै अहिले पेपरमा छ यसलाई संस्थागत रुपले कार्यान्वयनमा लैजान्छौं ।  सन् २०२७ मा हुने १९ वर्ष मुनिको महिला विश्वकपको सहआयोजक हौं हामी । मन्त्रीज्यूहरुसँग, सचिवज्यूसँग कुरा गर्दा पूर्वाधारमा चाहिँ विशेष बजेट छुट्याएर लगानी गर्नुपर्छ भन्ने छ ।


    प्रश्न: कुरा फेरि पूर्वाधारमै जोडिन्छ । प्रधानमन्त्रीले तीन–तीन पटक भन्दा पनि ‘फ्लड लाईट’को कुरा अघि बढेन, त्यसैले राज्यको चासो नै छैन भन्ने पनि कुराहरु भैरहेका छन । अब त तपाइँ जवाफ दिने ठाउँमा आउनुभएको  छ। के भैरहेको छ ? 


    जवाफ : यो राष्ट्रिय खेलकूद परिषदले हेरिरहेको छ । मैले सुने अनुसार टेण्डरको प्रक्रिया पुरा भएको छ । आशा र भरोसा छ फ्लड लाईट चाँडो भन्दा चाँडो लाग्नेछ । कीर्तिपुरमा संरचनहरु पनि फेर्नुपर्नेछ । मूलपानी राष्ट्रिय गौरवकै योजनामा राखिएको छ। त्यसैले बजेट छुट्टिएला । बजेटसँगसँगै फास्ट काम पनि हुनुपर्यो । करार भयो भन्ने सुनेको छु, आधिकारिक जानकारी छैन ।  सन् २०२७ विश्वकप आयोजना गर्दा भाग मात्रै लिने भन्दा पनि प्रदर्शन पनि गर्ने हो । त्यसका लागि टिम पनि चाहियो र पूर्वाधार पनि चाहियो ।

    प्रश्न:गतवर्ष जिम्बावेको ‘ए’ टिम आयो, यो वर्ष आयरल्यान्ड ‘ए’, वेस्ट इन्डिज ‘ए’ आए । टेस्ट खेल्ने मुलुकलाई नेपालमा देख्न पाईएला ?

    जवाफ : हामीले समन्वय गरिरहेका छौं । टेस्ट राष्ट्र आउनु त्यति सजिलो छैन । वेस्टइण्डिज  ए र आयरल्याण्ड ए आएपछि राम्रो पनि भयो राम्रो क्रिकेटपनि खेल्यौ । वेस्टइण्डिजको टिम पनि राम्रो थियो । टेस्ट टिम ल्याउने हो भने पूर्वाधार राम्रो बनाउनुपर्छ । र, पूर्वाधार बन्छन पनि होला भन्ने विश्वास छ । किनकी सबै सकारात्मक पनि हुनुहुन्छ । हाम्रो होमवर्क जारी छ परिणाम आएपछि घोषणा गर्नेछौं । 

    प्रश्न:पहिलेदेखिनै एउटा गुनासो छ कि क्रिकेट काठमाडौंमा मात्रै केन्द्रीत भयो भनेर यतातिर के सोच्नुभएको छ ? 


    जवाफ : पीएम कप यो पालि हामीले बाहिर (भैरहवा) लिएर गयौं । राउण्ड रोबिन फरम्याट पनि भयो । देशभरी विभिन्न खालका राष्ट्रिय प्रतियोगिताहरु पनि आयोजना भए । कति जिल्लाले गरे कति प्रदेशले गरे । मेयर कप प्रतियोगिताहरु भैरहेका छन् । विकेन्द्रीकरणका लागि सातै प्रदेशमा राम्रो ग्राउण्डहरु हुनुपर्यो । यो बर्खामा हामीले देशै भरी जति पिचहरु छन, तिनलाई मेन्टेन गनुपर्नेछ ।  कम्तीमा राम्रो ग्राउण्ड र संरचना भयो भने क्रिकेटको स्तर बढ्ने हो । काठमाडौमा अलि बढी स्रोत साधन भएकोले पनि केन्द्रीत भए जस्तो भएको हो । विराटनगरमा ग्राउण्ड छ, रुपन्देहीमा २ वटा अन्तर्राष्ट्रिय स्तरकै ग्राउण्ड रेडि जस्तो भैसकेको छ । दाङको लमहीमा छ, फाप्लाको पनि कुरा भैरहेको छ,पोखरामा छ । ग्राउण्डहरु छन त्यसलाई बेटर बनाउनुपर्ने छ । 


    प्रश्न:तलबाट तपाइँसँग माग आउँदो हो, गुनासो आउँदो हो । के कुरा आउँछ ?  


    जवाफ : प्रतियोगिताहरु गर्नका लागि साधन स्रोतनै चाहियो भन्ने कुरा आउँछ । अहिलेनै हामी सबै दिन सक्ने अवस्थामा छैनौं । तर हेरेर केही कुरा दिने अवस्थामा भने पुगेका छौं । हाम्रो पनि कोष अझ बलियो बनाउनुपर्ने छ । बलियो हुँदै पनि गएको छ ।  जोडिन चाहनेरु धेरै छन, अलिकति खुकुलो बनाउँदै जाने हो भने धेरै प्रतियोगिता गर्न सक्ने अवस्थामा छौं । र, हाम्रो उद्देश्य पनि कोष बलियो बनाएर शक्ति र स्रोत विकेन्द्रीकरण नै गर्ने हो । 


    प्रश्न:खुकुलो बनाउने भन्नुभयो त्यो भनेको के ? 


    जवाफ : होईन ठूला ठूला स्पोन्सरहरु जोड्न सकौं, धेरै प्रतियोगिताहरु गर्न सकौं र पैसा बनाएर तलसम्म लैजान सकौं  भनेको । विभिन्न प्रतियोगिताहरु गर्दा हामीले पैसा कमाउन पनि सकिन्छ भन्ने भएको छ ।  हुन त खर्च पनि छ, स्थायी संरचना नहुँदा खर्च पनि छ । तर खर्चसँगसँगै आम्दानी पनि छ । 


    प्रश्न: पहिले खेलाडि हुनुहुन्थ्यो अहिले नेतृत्वमा आउनुभएको छ,अहिले आएर हेर्दा बजेट कस्तो रहेछ जस्तो लाग्छ ?  


    जवाफ : बजेट त जति धेरै दियो त्यति धेरै फाइदाको कुरा हो । तर सरकारले के का लागि दिने भन्ने हो ?  खेलकूद परिषदबाट हामीलाई पीएम कप र उमेर समूहका लागि बनेर केही रकम तोकिएको छ । त्यो बाहेक जितिसकेपछि सरकारले सम्मान गर्ने हो । त्यो बाहेक लगानी पूर्वाधारमै गर्ने हो । पूर्वाधारको कुरा क्रिकेट संघ अन्तर्गत होईन , राखेपले बनाइदिने हो  । पूर्वाधार बनाई दिने हो भने आफै इन्डिपेन्डेन्ट भएर हामी क्रिकेट संचालन गर्न सकौं कुरा यही हो । 

    paras_2.JPG


    प्रश्न: तर यसमा ध्यान नदिएको जस्तो देखिन्छ, अनि ‘लगानी भएन हामीसँग खेलेका कहाँबाट कहाँ गए’  भन्ने कुरा आउँछ...।  


    जवाफ : यो तुलना नै गलत हो भन्छु ।  हामी नयाँ हो, योङ हो । हाम्रो त १५–२० जना बाट ४०–५० जना बनाउँदै आएको हो । बंगलादेश, अफगानिस्तान क्रिकेटको वातावरणमा हुर्किएका थिए, ईतिहास नै फरक छ । तर त्यो कुराबाट माथि उठ्नका लागि फेरि पनि पूर्वाधार नै हो । हाम्रो स्कूल, कलेजका प्रतियोगिताहरु कस्ता हुन्छन, जिल्ला र प्रदेशमा क्लब लेबल कस्तो हुन्छ भन्ने हो । राष्ट्रिय प्रतियोगिता कति हुन्छन भनेर एउटा स्ट«क्चर बनेपछि हामी रिजल्ट कस्तो आउँछ भन्ने सोचेर अघि बढ्न सक्छौं ।  


    प्रश्न: वार्षिक क्यालेण्डर बनाउनुभएको छ, कार्यान्वयन गर्दै जाँदा कस्तो लागीरहेको छ । ५० करोड भन्दा बढीको महत्वाकांक्षी खर्चको योजना पनि आयो भन्ने थियो  ? 


    जवाफ : अहिलेसम्म त ठिकै छ । विश्वकपको तयारी पनि थियो, निश्चित बजेट राखेका थियौं ,धेरैको कुरा सकिन्छ र भन्ने थियो । तर आँटनु पनि पर्यो नि त । लक्ष्य निर्धारण गरेपनि पाउनका लागि मेहनत पनि गर्नुपर्यो । हामी ट्रयाकमै छौं, पुरा हुनुपर्ने हो । 


    प्रश्न: आगामी प्रतियोगिताको तयारी  के छ ?  


    जवाफ : विश्वकपपछि सेप्टेम्बरमा सीडब्ल्यूसी साईकल छ । नोभेम्बरमा नेपाल प्रिमियर लिग आयोजना गर्नेछौं। डिसेम्बरमा अर्को अन्तर्राष्ट्रिय सिरिज होला । जुन जुलाईमा वर्षाको समय हुने भएकोले जिल्ला प्रदेशमा विकास सम्बन्धी काम,अम्पयारिंग, क्यूरेटर कोचिङ कोर्षको योजना बनाउँदै छौं । विभिन्न क्याम्प आयोजना गर्छाैं । 


    प्रश्न: अन्तिममा तपाइँलाई भन्न मन लागेको तर छुटे जस्तो कुरा केही छ ? 


    जवाफ : विश्वकप हेर्दै हुनुहुन्छ, नेपाली टिमलाई हौसला दिनुस । यो ठूलो मौका हो । विश्वलाई नेपाली क्रिकेटको ब्राण्ड, समर्थक हाम्रो सम्यता कस्तो हुन सक्छ भनेर देखाउने पनि हो । अनि नेपाल क्रिकेटलाई माया गर्ने देश हो भनेर सन्देश दिनुपर्ने छ । हामी टक्सिक फ्यान भएर चिनीनुभएन् । हाम्रो आफ्नै सम्भता । हामी पाहुनालाई न्यानो सत्कार गर्ने देशका रुपमा चिनिन्छौं । जिते पनि हारे पनि हाम्रो टिम विश्वकपमा छ हौसला बढाउँ । नेपाल क्रिकेट संघ र नेपालीको तर्फबाट टिमलाई शुभकामना, हामीलाई तपाइँहरुमाथि विश्वास छ ।-दीपेन्द्र कुँवर 

     



     

    प्रतिक्रिया हरु
    थप समाचार