scheduleबिहिवार आश्विन २ गते, २०७६

साझापोस्ट जापान संस्करण- हामी यसकारण आयौं

देशमै पर्याप्त रोजगारीको अवसर नपाउँदा लाखौं नेपालीहरु विदेशिन बाध्य छन् । नेपालीको वैदेशिक गन्तव्यमध्ये जापान पनि एउटा महत्वपूर्ण गन्तव्य अन्तर्गत पर्दछ । जापानमा लगभग ७० हजार नेपालीको बसोबास रहेको केही तथ्यांकहरु सार्वजनिक भएका छन् । क्षेत्रगत भन्ने हो भने टोकियोपछाडि दोस्रो ठूलो संख्यामा नेपालीको जमात क्युस्यु क्षेत्रमा बस्छन् । जापानमा नेपाली विद्यार्थीहरुको संख्या पनि दिनप्रति दिन बढिरहेको छ । यससँगै नयाँ चुनौती र अवसर सिर्जना भइरहेका छन् ।

अर्जुन बगाले

यिनै चुनौतीहरुलाई अवसरमा बदल्न सके र जापानमा सिकेको ज्ञान, सीप र पुँजीलाई नेपाल लैजान सके नेपालको विकासमा टेवा पुर्‍याउन सकिन्थ्यो । यही उद्देश्य पूरा गर्दै जापानमा बस्ने नेपाली र नेपालीको मातृभूमि नेपाललाई जोड्ने पवित्र ध्येयका साथ हामीले साझापोस्ट डक कमको जापान संस्करण सुरु गरेका छौं ।

सूचना र प्रविधिको तीव्र विकासले सञ्चार माध्यमको परम्परागत मूल्य मान्यताहरु बदलिएका छन् । कुनैबेला अनलाइन मिडियालाई प्रवासमा बस्ने नेपालीको लागि मात्र ठानिन्थ्यो । आज यो सबैको महत्वपूर्ण आम सञ्चार माध्यमको रुपमा स्थापित भएको छ । नेपालका परम्परागत मिडिया सुधार हुँदै गैरहेको अवस्थामा अबको नेपाली पत्रकारिताको मूलधार नै अनलाइन मिडिया भएको छ ।

यही बदलिएको पृष्ठभूमिमा नेपाल र जापानसँग प्रत्यक्ष सम्बन्ध जोड्न र संवादलाई खुकूलो बनाउन साझापोस्ट जापान संस्करण (www.sajhapost.com/japan) ले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौं । जापानमा रहेका नेपालीको खबर र विचारलाई विश्वभरीका नेपाली पाठकसामू पुर्‍याउन हामी प्रयत्नरत रहनेछौं । साझापोस्ट सबैको विचार, भावना र गतिविधि बाँढ्ने साझा चौतारी बनाउन हामी हरहमेशा प्रयत्नरत रहनेछौं । यो हाम्रो प्रयासले यहाँहरुको विश्वास र मायाबाट सार्थकता पाउने अपेक्षा गरेका छौं ।

जापानमा धेरै सामाजिक संघसंस्थाको स्थापनासँगै व्यवसाय एवं सामाजिक तथा मनोरञ्जनसम्बन्धी क्रियाकलापहरु बढ्दै गइरहेको छ । यस्ता गतिविधिले नेपालीको एकातिर व्यक्तित्व विकासलाई सघाउँछ भने अर्कोतिर सबैको सामूहिक संकल्पबाट राष्ट्रलाई समृद्ध बनाउन केहि हदसम्म टेवा पुर्‍याउनेछ । तर, यस्ता गतिविधि र त्यससँग जोडिएका विचार र भावनाहरु सबैलाई बाँड्न आवश्यक छ । एउटा कोठाभित्र वा अन्य साँघुरो परिधि र परिवेशमा यस्ता असल अभ्यासहरुलाई सीमित गरिनु हुँदैन ।

कतिपय महत्वपूर्ण र अति आवश्यकीय सूचना समयमा जानकारी नहुँदा कुहिरोको कागजस्तो भौतारिनुपरेका कुराहरु जापानका अग्रजहरुबाट सुन्न पाईन्छ । २१औं शताब्दीमा बदलिंदो समाजमा अझै यस्ता मिडियाहरुको उचित विकास नहुने हो भने त्यस्ता अवस्थाबाट अगाडि बढ्न सकिँदैन ।

सकारात्मकताको प्रचार प्रसार र नकरात्मकतालाई खबरदारी गर्नु चौथो अंगको धर्म हो । हामी यहाँहरुकै सहयोग र सद्भावमा यो अभिभारा पूरा गर्न दृढ संकल्पित रहनेछौं ।

देश समृद्ध बनाउने र आफ्नै मातृभूमिमा प्यारा आफन्तसँग रमाउने चाहना सबै नेपालीको हुन्छ । यो चाहना पूरा गर्न हामी हाम्रो वरिपरिका क्षमता प्रतिभालाई साझापोस्ट जापान संस्करणमार्फत जोड्न चाहन्छौं । यहाँहरु सबैको सल्लाह, सुझाव र आलोचनाका साथै साथ र सहयोगको अपेक्षा गरेका छौं ।

अर्जुन बगाले
जापान संस्करण सम्पादक

प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

default-addImage
default-addImage