scheduleबिहिवार आश्विन २ गते, २०७६

यसकारण सुरु गरियो जापानमा ‘हाम्रो नेपाल, हामी नेपाली अभियान’

धर्म अधिकारी

हाम्रो नेपाल, हामी नेपाली अभियान
‘… विदेशमा हाम्रो पहिचान हाम्रो देश हुन्छ, हाम्रो संस्कार र संस्कृति हुन्छ । त्यसैले हाम्रो नेपाल हामी नेपालीको महान भावनालाई जीवन्त र सार्थक राखीराख्नु हामी सबै प्रवासी नेपालीको परम कर्तव्य हो । यही कुरा मनन गर्दै यस अभियानले प्रवासी नेपाली समाज तथा मातृभूमि नेपालको हितमा गर्ने सबै कार्यक्रममा मेरो सहयोग र समर्थन रहने छ…’ भन्ने भावना र प्रतिज्ञाबाट शुरु भएको हाम्रो नेपाल हामी नेपाली अभियानले आफ्नो जन्मको ठिक एक बर्ष पुरा गरेको छ ।

यस अवधिमा यस अभियानले गरेका कार्यक्रम तथा अभियानका विचार र चिन्तनलाई नेपाली समाजमा विस्तृत गर्ने र एउटा सुसभ्य प्रवासी नेपाली समाजको विकास र व्यवस्थापनमा सक्रिय रहने प्रयत्न यस अभियानमा संलग्न सबै अभियन्ताहरुले गर्दै आउनुभएको कुरा सबैमा जगजाहेर नै छ । यस अभियानको सबैभन्दा सुन्दर पक्ष के हो भने यो एउटा यस्तो अभियान हो जुन स्वयंमा एउटा चेतना हो र चेतनाको विस्तार गर्ने प्रयत्न हो । यसले हाम्रो प्रवासी नेपाली समाजमा एकता, पारस्परिक सहयोग र सद्भावको ऊर्जा निर्माण गर्नेछ ।

यस अभियानले हामीलाई हाम्रो विविधतामा एकताको सन्देश दिन्छ । हामीलाई ‘सर्वप्रथम हामी नेपाली हौँ र हामी एक हौं’ भन्ने भावनालाई विकास गर्न अभिप्रेरित गर्दछ । आज हामी र हाम्रो समाज चाहेर वा नचाहेर विभिन्न स्वरूप् र संरचनामा विभाजित भएका छौँ । हामीले यो विविधताबाट एकताको खोजी गर्न सिक्नुपर्छ । हाम्रो नेपाली समाजको बिबिधता हाम्रो सुन्दरता हो, हाम्रो पहिचान हो, हाम्रो संस्कृति हो । त्यसैगरी हामीबीचको एकता र सद्भाव पनि हाम्रो विशिष्ट क्षमता, परम्परा र संस्कृति हो । नेपाली समाजको विविधता र यसको एकतामा हामीले गौरव गर्नुपर्छ र यसलाई सदासर्वदा बचाई राख्नुपर्छ ।

अभियानको अर्को पाटो भनेको हामीले हाम्रो मातृभूमीप्रतिको हाम्रो कर्तव्य निर्वाहको पक्ष हो । हामी प्रवासमा लामो समय बस्दै गर्दा हामीले आफ्नो भौतिक सम्मृद्धि पाउँदै गर्दा हामीले आफ्नो मातृभूमिप्रतिको माया प्रेम र कर्तव्यलाई बिर्सन सक्दैनौं र हुँदैन पनि ।

यस सन्दर्भमा मनन गर्दा प्रवासमा रहेका हामी नेपालीहरु विभिन्न परिस्थिति र अवस्थामा कार्यरत छौं । हामी सबैको अवस्था समान र एउटै छैन । हाम्रो पेशा, पेशागत दायित्व परिवार र पारिवारिक दायित्व पनि फरक फरक छ । तेसैले अहिलेको अवस्थामा हामीले आफ्नो निजी आवश्यकता र दायित्वको निर्वाह गर्दैगर्दा हामीले हाम्रो देशप्रतिको कर्तव्य कसरी पूरा गर्न सक्छौं भन्ने कुरा एउटा रचनात्मक बहसको बिषय हुन् आवश्यक छ । हामीले विभिन्नस्वरूपमा यो महान कार्यलाई सम्पादन गर्न सक्छौं, गर्नैपर्छ ।

धर्म अधिकारी

हुन त अहिले पनि हामीमध्ये कतिले विभिन्न सामाजिक तथा व्यवसायिक क्रियाकलापबाट देश र जनतालाई फाइदा हुने काम गरिरहेका पनि छौं । यसलाई अझ व्यापक र व्यवस्थितरुपमा विकसित गर्दै जानु आजको आवश्यकता हो ।

अतः एउटा सुसभ्य प्रवासी नेपाली समाजको विकास र व्यवस्थापनमा साथ सहयोग गर्दै प्रवासमा रहेका हामी सबैमा आफ्नो देश नबिर्सौं र केहि गरौँ भन्ने छ । यस्तै भावनाको विकास गर्नेजस्ता पवित्र विचारधाराबाट प्रेरित यस अभियानले प्रथम वर्षमा यिनै विचारहरुको चिन्तन मननलाई अगाडि बढाउँदै गत ३० जुन २०१७ मा नेपाली विद्यार्थीहरुको अभिमुखीकरण कार्यक्रम भव्यरुपमा सम्पन्न गरियो । यस वर्षको जुलाई १३ मा पनि दोस्रो अभिमुकिकरण कार्यक्रम योजना हुँदैछ । यी कार्यक्रमहरुमा फुकुओका सबैको न्यानो र सक्रिय सहयोग रहनेछ भन्ने विश्वास गरिएको छ ।

अभियानको संगठनात्मक चरित्र उल्लेख गर्नुपर्दा हाम्रो नेपाल हामी नेपाली अभियान जापान एक चेतनामुलक अभियान भएको हुनाले र यसको संस्थागत स्वरूपमा सामान्य अवस्थाका गैरसरकारी संघसंस्थाभन्दा भिन्न स्वभाव र स्वरूपमा सञ्चालन गर्न बाञ्छनीय देखिएकोले एउटा नयाँ प्रयोगका रुपमा सञ्चालन गरिएको छ । यसमा सहभागी हुने सबैजना अभियन्ताको रुपमा रहनु हुनेछ ।

यस अभियानमा फुकुओकामा कार्यरत सम्पूर्ण सामाजिक संघसंस्थाका संयोजक तथा प्रतिनिधिहरुको सक्रिय भूमिकाको अपेक्षा गरिएको छ । अवधारणा पत्रमा उल्लेख भएअनुसार यो अभियान प्रारम्भिक अवस्थामा फुकुओकामा केन्द्रित रहने छ तर, आवश्यक महसुस भएमा भविष्यमा जापानका अन्य शहरमा पनि यस अभियानको विस्तार गर्न सकिने छ । यसको स्वरूप निम्न अनुसारको हुनेछ- अभियानमा हाल प्रमुख संयोजक, प्रवक्ता र अन्य सबै संयोजक अभियन्ता रहनु भएको छ । हाल अभियानमा करिब ६० जना अभियन्ता साथीहरु गोलबन्द हुनुभएको छ ।

(अधिकारी अभियानका प्रमुख संयोजक हुन् )

प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

default-addImage
default-addImage