scheduleसोमवार भाद्र २ गते, २०७६

एकादेशको कथा होइन ‘ओन्सेनको कथा’

अशोक क्षेत्री रेशम

ओन्सेन एकादेशको कथा होइन । यो जापानको वास्तविक कथा हो । तातोपानीले जाडोमा नुहाउने प्रचलनको नाम हो ओन्सेन । जापानभर पौडीघर र ओन्सेन ठाँउठाँउ र निकै सस्तोमा पाइन्छ । करिब ३००-५०० रूपैयाँको हाराहारीमा सहजै हुन्छ यो ओन्सेन ।

अशोक क्षेत्री रेशम

ओन्सेनको कथा बडो उदेकलाग्दो र रहस्यमय छ । मनमनै दबाएर राख्नुपर्ने तर यथार्थ । ता-तातो पानीभित्र सर्वाङ्गै पस्ने पो रहेछ अनसेन । ओन्सेनको कुरा गर्दा कोहि मस्कन्छन, कोहि झस्कन्छन् । पहिलोपल्ट ओन्सेनमा छिर्दा मलाई छोरालाई लिएर पौडी खेल्न गएको शुरूको पल याद आयो । कयौंको संख्यामा छिर्ने र निस्कने ठाउँ हो चेन्जिङ रूम । सर्वाङ्गै ! के बच्चा के बुढा, सबै । शुरूमा त ६ वर्षे छोरो र म आपसमा हेराहेर गर्‍यौं । म आफैं चकित परे । जापान नभएको भए सुइकुच्चा ठोक्थेँ कि । यसैले त संसारमा ठिक र बेठिक भन्ने कुरा नै हुन्नझैं लाग्छ । परिस्थिति र समाजले निर्धारण गर्ने कुरा रहेछ सबै । क्रमश: हामी पनि सामाजिक बन्यौं । पछि यो निकै स्वभाविक बन्दै गयो । कुण्ठाको मतलब नै बाँकी रहन्न । यसपाली ओन्सेनले त्यही पल याद गरायो ।

ओन्सेनमा भित्रको तस्बिर झन गजबको हुँदो रहेछ । तातो बाफको मोहकभित्र मौन, शान्त र दुरुस्त मान्छे । पौडीमा स्विमिङ् कस्टम हुन्छ । टोपी पनि अनिवार्य गरिएको हुन्छ पौडीका लागि । तर ओन्सेन ! फगत एउटा हाते रूमाल । लाज छोपोस वा पसिना पुछोस, त्यही हाते रूमाल । पहराबाट निस्कने बाफसहित भोल्कानोझै निस्कन्छ तातोपानी । यसलाई जापानीमा जिक्कोगु भनिन्छ । यसैको बुलबुलमा शरीरलाई चुर्लुम्म डुबाउने योगाझै रहेछ अन्सेन । संसारका कैयन स्थानहरूमा प्राकृतिक अनसेन छन् । हाम्रोमा पनि तातोपानी छ । जापान भुकम्प र ज्वालामूखीको जोखिम क्षेत्र हो । हो, यहाँ पनि प्राकृतिक तातोपानीहरू मनग्गे छन् ।

ओन्सेनको कथा
ओन्सेनको कथा

हरेकजसो जापानी होटेलमा ओन्सेन अनिवार्य झै हुन्छन् । कृतिम तातोपानीको बुलबुलमा दर्जनौं संख्यामा पुरूष र संभवत उस्तै संख्यामा महिलाका लागि बेग्लाबेग्लै शौचालयझैं बनाएको हुन्छ अन्सेन । एउटा कुनामा चिसो पानीको पोखरी छ । दर्जनौं धाराहरू छन् । तातो मुस्लो निस्कने बुलबुलबाट पानीको रङ भुवादार बनेर सेताम्मे भएको छ । साइडमा शरीर डुबाउन मिल्ने पोखरी छ । कलकल बगिरहेको तातो पानीमा मान्छेहरू गम्छाले मुख छोपेर निर्लज्ज सुतिरहेका छन् । तातो पानीले मानौं, शारीरिक सहनशीलताको परिक्षणमा गरिरहेछ । पलपलमा मान्छेहरू चिसो पानीमा गम्छा डोबेर निचोड्छन् । मुखको पसिना पुछेर फेरि तातोतिर फर्कन्छन् ।

नजिकै विशाल साउना छ । केहि मिनेटका लागि भित्र पस्ने र निस्कने क्रम चलिरहन्छ । पानीमा शरीर डुबाएर साउनाभित्र हेर्न सकिन्छ । विदेशीले खुब नियाल्छ वरपर । समयसँगै ऊ पनि आँखा चिम्लन्छ । अघोर तातोले कदाचित तत्काल उद्दार गर्न सकियोस् भनेर यसप्रकार हेर्न मिल्ने बनाएको हुनुपर्छ लख काट्छु । साउनाभित्र मिलेर १०-१२ जना बस्न सकिन्छ । अगेनाको तातोले झैं शरीरको चारैतिरबाट एकनासले पकाउछ साउनामा । धेरैबेर बस्न कठिन छ । यहाँबाट निस्कना साथ ढोकानेरै चिसो पोखरी छ । यो तुलनात्मक रूपले सानो छ । यसमा तातेको शरीर डुबाउन मिल्दैन । शरीरमा चिसो पानी खन्याउन मिल्ने जग छ । रूमाल भिजाउन र धुन मिल्ने गरी बनाएको छ यो पोखरी । तातो पानीले जस्तोसुकै तामसी मान्छे क्रमश: सात्विक हुँदै जान्छ । यसो भनौं, शारीरिक विकार सँगसँगै मानसिक विचार र ऊर्जाहरू पनि तातोपानीका सामू मुर्झाउँदै जान्छन् ।

संसार कति फरक छ । बाहिर हिउँ खसिरहेछ । दिनभर थाकेको र चिसो शरीर के अनसन पुग्छ । पलभरमै रन्कन्छ । यसप्रकार तातेको शरीरमा बिस्तारामा पस्छन् उनीहरू । हरेक रात थोरै सहि तर पुरा निदाउँछन् । जापानी स्वस्थ्य र दिर्घजीवी छन् । खानपिन र कार्यशैलीको कथा त छँदैछ । जाडोमा अनसनको कथा बिछट्टै रहेछ । जापानका हरेक घरमा ओफुरो किन अनिवार्य हुन्छ ?  कुरा यो पो रहेछ । ओन्सेन, ओफुरो यानी तातो पानीमा शरीर डुबाउने जापानी कथा ।

फुकुओका, जापान

प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

default-addImage
default-addImage