scheduleबिहिवार चैत्र २७ गते, २०७६

जापानमा यसरी असुरक्षित बन्दैछन् नेपाली विद्यार्थी

नरेन्द्र बस्नेत

जापानमा नेपालीहरु कहिले देखि कसरी आउन थाले भनेर ठोकुवा गर्न कसैले नसके पनि केहि तथ्यहरुलाई आधार मान्ने हो भने प्रधानमन्त्री देब शमशेर राणाको पालामा १९०२ सालमा आठ नेपाली युवाहरु तत्कालिन नेपाल सरकारको छात्रबृतिमा बिभिन्न विधामा अध्ययनको शिलशिलामा नेपाल बाट अप्रिलमा हिडेर जून १७, १९०२ मा पानि जहाज मार्फत टोक्योको योकोहामामा उत्रेको र तिनै नेपालीहरुनै जापान टेक्ने पहिलो नेपाली भनिएको छ ।
संसारको अति बिकशित देश मध्येको एक देश जापानमा पनि नेपालीहरुको संख्या २०१० देखि अत्यन्तै तिब्र गतिमा बढेको आंकलन गरिएको छ । यकिन डाटा राजदूताबाससंग पनि नभए पनि हाल जापानमा नेपालीहरुको संख्या झन्डै ८०,००० काटिसकेको आंकलन गरिएको छ जसमा आधा आधि बिद्यार्थी भएको अनुमान गरिन्छ । बग्रेल्ती बिद्यार्थी भिषामा आएकाहरु मध्ये कतिपय आफ्नो अध्ययन अनुरुप रोजगारीमा लागेका छन् भने कतिपय ब्यापार ब्यबसाय तिर लागेका छन् ।
जापानमा आउने विद्यार्थीहरुको बिषयमा कुरा गर्दा पछिल्लो समय विभिन्न खालका बिद्यार्थीहरु को बृद्धि भैरहेको छ । जसमा जापान सरकारको छात्रवृतिमा आउने बिद्यार्थी, नेपाल सरकारको विभिन्न माथिल्लो तहमा कार्यरत सरकारी कर्मचारीहरु नेपाल सरकारको कोटा अन्तर्गत प्राप्त सुबिधामा शैक्षिक बिदामा छात्रवृति अन्तर्गत आउने बिद्यार्थी र पछिल्लो समय भाषा अध्ययनको रुपमा जापान आउने बिद्यार्थी यसरी विभिन्न रुपमा आउने बिद्यार्थीहरु मध्ये भाषा बिद्यार्थीको रुपमा अर्थात् नितान्त आफ्नो खर्चले आउने बिद्यार्थीहरुको स्थिति भने कठिनपूर्ण नै छ । अझै पछिल्लो समय बिद्यार्थि भिषा अध्ययनको लागि भन्दा पनि जापान छिर्ने हतियारको रुपमा प्रयोग हुन थालेको गुणस्तरहिन बिद्यार्थीहरुको बढ्दो प्रवेशले स्पस्ट गर्दै लगेको छ झन्डै २०१० पछि आक्रामक रुपमा बढेको भाषा बिद्यार्थीहरुको संख्या संग संगै विभिन्न किसिमका दुखद घटनाहरु पनि वृद्धि हुदै गएका छन् ।

नेपाली परिवेश र संस्कार अनुसार अधिकांशमा नेपाल रहुन्जेल काम गर्ने बानि नपरेको, अनुभब नभएको,बिद्यार्थी भिषामा आउदा खेरि राम्रोसँग नबुझीकन कन्सल्टेन्सीको मात्र एकोहोरो कुराले सपनामा उडेर आउने, आएपछि अधिकांस पढाइमा ध्यान नदिने पूर्णरुपमा काममा मात्रै केन्द्रित भएर नितान्त पैसाको पिछाडी मात्र दगुर्ने(यद्दपि यो सबैमा लागु नहुन सक्छ) यसो गर्दै गर्दा पढाइ काम र अन्य कतिपय कुराहरुको तालमेल नमिल्दा शरीरलाइ प्रशस्त आराम नपुग्ने साथमा घरको आर्थिक परिस्थिति अनुसार नेपालबाट आउदा खेरिको ऋणले थिच्दै जाने आदि इत्यादी कारणहरुले विभिन्न किसिमिका अकल्पनीय घटनाको शिकार भएर परदेशी भूमिमा जीबन त्याग्न पनि बाध्य भएका घटनाहरु वृद्धि भइरहेका छन् भने पछिल्लो समय जापानी भाषा बिद्यालय तथा यहाँका भोकेशनल कलेज (सेन्मोन गाक्को) हरुले पनि नेपाली बिद्यार्थीहरुलाई विभिन्न बहानामा हेप्ने पिडा दिने र मानशिक तनाब थप्दै बिद्यार्थीहरुको भबिष्यमा खेलबाड गर्ने खालका घटनाहरु पनि यदा कदा देखिन थालेको छन् । जसमध्ये यो पंक्तिकार आफैले केहि पिडित बिद्यार्थीहरुको कम्प्लेनको आधारमा त्यस्ता कलेज प्रशासनसंग लडेर,डटेर सानो सहयोग गर्न केहि हदसम्म सफल भएको उदाहरणहरु मध्ये पछिल्लो यहाँ प्रस्तुत गर्न चाहन्छु ।

उदाहरण १
ओसाकाको तेंनोजी स्थित निच्यु बुन्का सेन्मोन गाक्को नामको कलेजमा अध्ययनरत बिद्यार्थीहरु मध्ये दुई तीन जना भाइहरुबाट जुलाई २ तारिक बेलुका हामीलाई गाक्कोको कमजोरीको कारणले इमिग्रेसनले भिषा दिन मानेन र हामी तत्काललाइ पीडित १२ जना भएको र त्यसमध्य कतिपयको भिषा यहि जुलाई १८–१९ मै सकिने र हामीलाई कुनै पनि हालतमा फर्किन अनुकुल हुदैन त्यसैले सहयोग गरि पाउ भनेर अनुरोध आएपछि यो पंक्तिकार तत्काल भोलिपल्ट नै गाक्को (कलेज) मा गएर वास्तविकता के हो बुझेर सकेको प्रयास गर्छौ भनेर त्यो पिडित भनिएका भाइहरुसंग कुराको बिट मारी,एनआरएनए जापान,यहाँको स्थानीय कार्यसमिति एनआरएनए कान्साईलाइ जानकारी गराउदै हामीहरु आफै यहाँको अधिकार कानुनी मान्यता प्राप्त व्यक्ति वा संस्था नभएर एउटा भोलियन्टियर संस्थाको व्यक्ति भएकोले नेपालीहरुको अभिभाबक नेपाली राजदुताबासलाई पनि जानकारी गराउदै साथमा ओसाका कन्सुलर लगायतलाइ पनि जानकारी गराई भोलिपल्ट जुलाई ३ तारिक तत्काल वास्तविकता बुझ्न जाने निर्णय गर्यौ । तर दुखद कुरा स्थानीय तबरबाट उपस्थित हुनलाइ कसैले पनि हिम्मत नगरेकोले यो पंक्तिकार आफै र एनआरएनए अभियन्ता महेश कटवालजी गएर बिद्यालय प्रशासन संग सत्य तथ्य र त्यसको समाधानको लागि पहल गर्यौ ।

पहिलो छलफलमा गाक्कोको वास्तविकता बुझ्ने प्रयास गर्दै पिडित नेपाली बिद्यार्थीहरुको जसरि पनि आफ्नो अध्ययनलाई निरन्तरता दिने चाहनालाइ हामीले बिशेष प्राथमिकता दिदै प्रशासनलाइ सक्दो दबाब दिने प्रयास गरेर पहिलो बार्तालाइ बिट मारेर फर्कियौ । नेपाली राजदुताबास लगायत अन्य आबस्यक ठाउ र सहयोग गर्न सम्भावित लागेको साथी भाइहरुसँग पनि परामर्श गर्दै अगाडी बढ्यौ तर हाम्रो भेटमा भए अनुरुपको तदारुकता कलेजले नदेखाएको भन्ने पिडित भाइ बहिनीहरुको गुनासोलाइ मध्यनजर गर्दै पुनश्च फेरि हामि जुलाई ९ मा सोमबार कलेज गएर छलफल गर्ने निर्णय गरि म लगायत केहि साथिहरु पुनश्च गयौ । जहाँ हामीलाई कलेजका प्रमुखले सकारात्मक तरिकाले आफ्नो कमजोरी र विद्यालयको कमजोरी बारेमा प्रस्ट जानकारी गराउदै जसरि भएपनि बिद्यार्थीहरुको सुरक्षित अवतरण गराउने भन्नेमा हामीलाई बिस्वस्त पार्न खोजे । जसमा हामीले सम्पूर्ण पिडित बिद्यार्थीहरु लाइ एकैसाथ राखेर भिषा सकिने बिद्यार्थीहरुलाइ प्राथमिकता चरणमा राख्दै कलेज प्रमुखको अगाडी जसरि पनि पिडित बिद्यार्थीहरु जापान बाट नफर्की कन यहि पढाई लाइ निरन्तरता दिन मिल्ने गरि तत्काल लाग्न को लागि अनुरोध गर्यो । जसको लागि हामीलाई आबस्यक परे नेपाली राजदूताबासको यथेस्ट सहयोग हुने र यदि कलेजले मन भित्रैबाट निस्वार्थ नलागेमा हामी बिद्यार्थी भाइ बहिनीहरुको भबिष्य सुरक्षित पार्नको लागि र आगामी पिढीहरुको हितलाइ पनि ध्यानमा राख्दै जस्तो सुकै प्रशासनिक कदम पनि चाल्न सक्ने भनि चेतावनी स्वरुप केहि शाब्दिक अस्त्रको प्रयोग गर्यौ र परिणाम स्वरुप सबैको जापान बसेर अध्ययनलाइ निरन्तरता दिने भन्ने कुरामा सफलता हात पार्न सफल भयौ ।

पछिल्लो समयको अपडेट अनुसार तत्कालिन अबस्थामा पिडित भनिएका १२ बिद्यार्थी मध्ये १ जना कलेजको प्रयासमा स्युसोकु अर्थात् रोजगार भिसाको लागि प्रक्रियामा अगाडी बढे एकजना आफ्नो स्वइच्छाले नेपाल फर्कने भए भने अरु बाँकी सबैलाई अन्य कलेजमा सफल स्थानान्तरणको प्रक्रिया अगाडी बढेर ऐले क्रमस : भिसा अप्प्लाईको प्रर्कियामा छन् भन्ने जानकारी प्राप्त छ ।
उदाहरण-२
ओसाकाको तेंनोजीको बिद्यार्थीहरुको समस्या आइपरेको नै बेलामा क्योटोको क्योटो कोकुसाई एकेडेमीमा अध्ययनरत बिद्यार्थीहरु मध्ये दुइजना बिद्यार्थीबाट पनि सहयोगको याचनाको जानकारी आयो र बिद्यार्थीहरुको कुरो बुझ्दा उनिहरुले भाषा कलेजमा एक बर्षको अध्ययन सकेर दोश्रो बर्ष पढाई गरेको तर, पढाई अत्यन्त कम्जोर रहेको भएपनि कलेज भने रेगुलर गएको र दोश्रो बर्षको आगामी २०१९ को मार्च सम्मको कलेजको सम्पूर्ण शुल्क चुक्ता पनि गरेको तर ऐले आएर भिषा थप्ने बेलामा कलेज प्रशासनले पढाई कमजोरीको कारण देखाउदै भिसा थप्न नसकिने र नेपाल फर्काइने यद्दपि त्यस कलेजको ग्राजुएसन पछिको भोकेसनल कलेजलाइ लाग्ने (जुन कुरा विद्यालयको कार्य क्षेत्र बाहिरको र गैह्रकानुनी ठहरिन सक्छ) एक बर्ष को शुल्क डिपोजिटको रुपमा कलेजमा बुझाएमा भिसा थप्न सकिने भन्दै अकल्पनीय र अशोभनीय सर्त राखेर बिद्यार्थीहरुलाई मानसिक तनाब दिएको कुराले स्तब्ध बनायो ।

जुन बिषयमा बिद्यार्थीहरुसंग अझै राम्रोसंग सत्य तथा बुझेर तत्काल बिद्यालय प्रसाशनसंग कुरा गर्ने निर्णय गरि आबस्यक ठाउँ हरुमा जानकारी गराई जुलाई १३ शुक्रबार यो पंक्तिकार, एनआरएनए कान्साईका केहि साथीहरु र एक क्योटोका स्थानीय नेपालीसंगको साथमा बिद्यालय गयौ । जानु भन्दा अगाडी पिडित भनिएका बिद्यार्थीहरुको कमजोरी, केहि गल्तिहरु लगायतको बिषयमा मैले राम्रोसंग बुझेर गएको थिए । जसले बिद्यालय प्रसाशन संग डटेर प्रतिबाद गर्न सजिलो भयो ।

बिद्यालयमा पुगेपछि त्यहाको प्रशासन सुरुमा अशोभनीय र अमानविय तरिकाले प्रस्तुत भएपछी हामी पनि केहि कडाइ को रुपमा पेश हुन बाध्य भयौ अन्ततोगत्वा उनीहरु हामीसँग कुरा गर्न राजि भए । यो बिषयमा मैले हामी जानु भन्दा अगाडी देखि नै राजदूताबासमा जानकारी गराएको थिए । जस अनुरुप हामी पुग्नु भन्दा अगाडी नै राजदुताबासबाट कलेजमा फोन गर्नु भएर नेपालीहरु प्रति देखाएको सदासयता र निभाएको अभिभाबकत्वले पनि केहि हदसम्म सकारात्मक भूमिका खेल्यो । लामो समयपछिको बादबिबाद र छलफल पछि बिद्यार्थीहरुको पढाई अत्यन्त कमजोर भएकोले त्यसमा बिशेष गरि बिद्यार्थी र कलेज दुवैतर्फ संबेदनशील भएर अगाडी बढ्ने, विद्यार्थीले हालसम्म गरेका कमजोरीलाइ आत्मसाथ गर्दै आगामी दिनमा त्यस्ता गल्ति र कमजोरीलाइ नदोहोर्याउने गरि स्वीकार गर्दै पीडित बिद्यार्थीको भिषा अनाबस्यक र अकल्पनीय सर्तहरु केहि नराखी नविकरण गर्न आबस्यक तयारीको लागि कलेजले निस्वार्थ सहयोग गर्ने गरि मिलापत्र गरियो ।

यो कठिन परिस्थितिलाइ सहजीकरणको लागि अत्यन्त संबेदनशील तरिकाले चिन्ता गरेर आबस्यक अनुसारको सहयोग र ढाडस दिने नेपाली राजदुताबासको जति नै प्रसंशा गरेर पनि कम हुन्छ । एनआरएनए जापानका अध्यक्ष टाशी लामाले आफ्नो ठाउबाट सकेको प्रयास गरेको कुरा पनि थप उर्जाको बिषय रह्यो भने स्थानीयस्तरमा केहि साथीहरुको सक्रिय भूमिका पनि अर्को उर्जाको बिषय रह्यो ।

पछिल्लो समय यसरि बिकराल हुदै गएको समस्यामा कतै हाम्रै नेपाली भाई बहिनीहरुको दोष छ भने कतै शोषक प्रवृतिका कलेज हरुको दोष छ । यी त बाहिर आएका केहि प्रतिनिधि घटना मात्र हुन्, केहि समय अगाडी एनआरएनए जापानले पनि ठुलो संख्यामा पीडित बिद्यार्थीहरुलाई लामो संघर्ष पश्चात न्याय दिलाउन सफल भएको थियो भने फुकुओकामा पनि सामान्य हिसाबले कल्पना नै गर्न नसक्ने खालको घटनामा त्यहाँको केहि सक्रिय साथीहरुले अन्तिम समयमा जानकारी पाएपछि दूताबासको सहयोगमा उद्दार गरेका थिए ।

दिन प्रतिदिन बढ्दै गएको नेपाली बिद्यार्थीहरुको जनसंख्या संगै बढेका यस्ता समस्या हरुको निराकरणको लागि सर्बप्रथम बिद्यार्थी स्वयम् सचेत हुन अत्यत्न जरुरी छ भने त्यसपछि कलेजको छनोटमा पनि बिशेष ध्यान दिन जरुरी छ ।
जापान आउनु अगाडी द्यिार्थीहरुले बुझ्नु पर्ने कुराहरु र यस घटनाबाट हामीले पाठ सिक्दै सुधार गर्न सकिने मलाइ लागेका केहि बुदाहरु यहाँ राख्न चाहन्छु ।

१-जापान आउनुभन्दा अगाडी बिद्यार्थीहरुले कन्सल्टेन्सीले देखाएको सपनामा मात्र नउडी जापान आएपछिको यहाँको जीबनसैली, यहाँको नियम कानुन रहन–सहनका बारेमा विभिन्न माध्यमहरु बाट बुझ्ने । जापान आएपछि यहाँ बसुन्जेल जुनसुकै तरिकाले जति नै समृद्ध नै भएको खण्डमा पनि भाषा दखलता अत्यन्त जरुरि भएकोले भाषा अध्ययन तथा सुधारमा बिशेष जोड दिने ।

२-जापानको नियम अनुसार बिद्यार्थीले हप्ता काम गर्न पाउने जम्मा २८ घण्टा हो भने कलेजको बिदाको समयमा तोकिएको अबधि भर दिनको आठ घण्टा काम गर्न पाइने लगायतका आबस्यक यहाका नियम कानुनका आधारभूत कुराहरु सक्दो बुझेर आउने प्रयास गर्ने यदि यी कुनै कुराहरु नबुझिकन आएको खण्डमा जापान आएपछि आफू भन्दा सिनियरहरुबाट बुझ्ने प्रयास गर्ने ।

३-भाषा अध्ययनरत बिद्यार्थीहरुलाई भाषा कलेजबाट अनाबस्यक हेप्ने, अमानबिय ब्यबहार गर्ने, अकल्पनीय प्रेसर दिएर मेन्टल्ली हरयास गर्ने खालको कुराहरु भएमा पेल्न खोज्ने कलेजबाट रतिभर पनि नडराई नेपाली दूताबास, एनआरएनए जापान अथवा आफ्नो पहुच भएको ठाउँ मार्फत नेपाली समुदाय माँझ आफ्नो कुरा राख्ने, पिडितहरु भनेर कुरा राख्दा बिद्यार्थीहरुले हामीलाइ भनेको कुराहरु र सम्बन्धित कलेजमा गएर कुरा गर्दा बिद्यार्थी हरुले धेरै झुटा बोल्ने गरेको कारण सहयोग गर्न भनेर जानेहरु पनि लज्जित हुने कतिपय अवस्था भएकोले आफ्नो कमजोरी र गल्तिहरु भएमा नलुकाई कन स्पस्ट जानकारी गराउने ।

४-जापानको कलेजहरु कुन कस्तो छ भनेर बुझ्नलाइ अत्यत्नै गार्हो हुने भएकोले आफुले जान खोजेको कलेजको पढाईको स्तर त्यसको ब्यबस्थापकीय हैसियत के कस्तो छ भन्ने बिषयमा सक्दो त्यो कलेज निक्र्यौल गर्नु भन्दा अगाडी बुझ्ने प्रयास गर्ने ।
५-पछिल्लो समय जापानका भाषा कलेजहरु र भोकेसनल कलेजहरुले अत्यन्तै अमानबिय ब्यबहार गर्दै आएको र आफ्नो क्षमता भन्दा बढी बिद्यार्थी राखेर जापानको नियम उल्लङ्घन गरी बिद्यार्थीको भबिस्य माथि खेलबाड गरिरहेको घटना हरु बढी रहेको परिप्रेक्षमा नेपाली राजदूताबासको सहयोग लिएर जापानको कुन कुन ठाउको कुन–कुन कलेजहरु इमिग्रेसनको ब्ल्याक लिस्टमा छन् भन्ने कुरा जानकारी लिएर विभिन्न माध्यमबाट सुसुचित गराउने कुरा सम्भब भएमा थोरै भएपनि सम्भावित घटना हरु निर्मुल पार्न सहयोग हुनेथियो कि जस्तो लाग्छ ।

सामाजिक सहयोगका चुनौतीहरु
जापानको बिभिन्न ठाउमा बिभिन्न किसिमले पीडित विभिन्न बर्गको मानिस आफ्नो पिडा दर्शाउदै फोन गर्नु हुन्छ र हामी कतिपय मनकारीहरु त्यो दुखमा केहि भए पनि मलहम लगाउन सकिन्छ कि भनेर आफ्नो व्यस्त समय संगै पैसा खर्चिएर लागि पर्छौ । यहाँ व्यक्तिगत रुपमा लागे पनि संस्थागत रुपमा लागे पनि हामी कुनै कानुनी प्राप्त निकाय नभएकोले केहि बिशेष साबधानी अपनाउने पर्ने हुन्छ नभए उल्टै फसिने सम्भावना पनि त्यतिकै हुन्छ । तर, दुःखको कुरा के छ भने पिडित भनिएका धेरैले सहयोगी मनहरुलाई सरकारी जागिर खाएर उनीहरुको सहयोगको लागि ड्युटीमा खटिएको जस्तै सम्झिने,(यद्दपि यो सबैमा लागु नहुन सक्छ) समस्या समाधानको क्रममा केहि अप्ठेरो यात्रा तय हुने भयो भने त्यसबाट पछि हटेर उल्टै सहयोग गर्न खोज्नेलाइ नै दोषी देखाउने खालको एकतर्फी स्वार्थपन गर्ने पीडित भनाउदाको कारणले उलटै सहयोग गर्न खोज्नेहरु पनि यदाकदा फसेको जानकारी जापानको नेपाली समाजमा ब्याप्त छ ।

तसर्थ कुनै पनि पीडित भनाउदाहरुले आफ्नो पीडालाई अन्तिमसम्म सम्झिएर इमान्दारिताको साथमा लड्ने प्रण गरेर मात्र सहयोगको याचना गर्ने गरौ जसले गर्दा आफ्नो ब्यस्त समय निकालेर सहयोग गर्नेलाइ पनि उत्प्रेरणा मिल्ने र पिडा दिन खोज्नेहरुले आगामी दिनमा त्यस्तो किसिमको हर्कत गर्न हिम्मत नमिलोस् ।

प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

default-addImage
default-addImage