scheduleबिहिवार चैत्र २७ गते, २०७६

जापान-कोरिया यात्रा : परिवर्तन रोकेर नरोकिने रहेछ

अशोक क्षेत्री रेशम

एएसएलआई (ASLI)द्वारा आयोजित एसियन कानुन विषयक अफिसियल कार्यक्रम सकाएर, सियोलको सुप्रसिद्ध सिटी हल जाँदै थिए । एकजना अंग्रेजी बोल्ने कोरियन युवतीले गोरी कटीलाई गुड बाई गर्दै मेरो बाटोतिर आई । संयोगले ऊ र म रेड लाईटमा केही पलका लागि कुर्दै गर्दा मैले चान्स लिदै सोधेँ- आर यु अ टुरिस्ट ?
हाँस्दै होइन, ऊ कोरियन भएको बताई । उसले यहीँकी लोकल भएको पनि बताई ।

उनको अंग्रेजी सुनेर विदेशी भन्ठानेँ । मैले थपेँ, ‘कोरियन भाषा नजानेर अंग्रेजी बोल्ने कोही भेटिए पनि हुन्थ्यो झैं लागेको छ ।’

उसको अंग्रजी वास्तवै स्पष्ट थियो । अंग्रेजी बोल्न ऊ इच्छुक भई वा मेरो शैली उसलाई मन परेको हो, हाम्रो कुराकानी अगाडी बढ्यो । वास्तवमा जापान र कोरियाजस्ता देशमा अंग्रेजी बोल्न सक्ने मान्छे भेट्नु पनि भाग्यकै कुरा हुन्छ ।

आफू अमेरिका पढेर फर्केकी, भ्रखरै साथीलाई यहाँसम्म छाड्न आएकी र आफू मनोविज्ञानकी विद्यार्थी भएको उनले बताई ।

मैले पनि नेपालको अदालतमा काम गर्ने र जापानमा पढाई सक्दै गरेको बताएँ । घर फर्कनुअघि एकपल्ट सपरिवार कोरिया घुम्न आएको पनि भनेँ । अदालत भनेपछि ‘न्यायाधीश हो’ भनेर धेरैले सोध्छन् । उसले पनि त्यही सोधी ।

अशोक क्षेत्री रेशम

कहिले हो, कहिले हैन भनेर टोपल्दै आएको मिश्रित अनुभव छ मेरो । अँ, असिष्टेण्ट भन्न मिल्छ भनिदिएँ । मनोवैज्ञानिक थिई ऊ । मेरो अनुभव छ, असिष्टेण्ट जज भनेर बुझिहाल्छन् ।

उत्सुकताका साथ ‘परिवार खै’ भनेर सोधी ।
‘उनीहरू यतै दरबार र संग्राहलयमा डुल्दै होलान् । अबको २ घण्टामा भेट्ने योजना छ,’ मैले भनिदिएँ ।

मेरा लागि खाँचो परे आफूसँग १ घण्टा समय रहेको उसले बताई । मैले ‘गाइड राख्ने आर्थिक क्षमता आफूमा नभएको’ कुरा राखेँ ।

उसले उदार बन्दै भनी, ‘म प्रोफेसनल होइन क्यार, सित्तैमा बताउँला ।’

मलाई ‘के खोज्छस् काना- आँखा’ भनेझैँ भयो ।

‘सियोल किन आएको ? कहाँ-कहाँ घुम्यौ र कहाँ घुम्ने योजना छ,’ उसले प्रश्नहरुको वर्षा गरी ।
कोरिया, हामी नेपालीले निकै सुनेको देश हो । दुबै देशबीच आपसमा राम्रो सम्बन्ध छ । धेरै कोरियनहरू बुद्ध धर्म मान्छन् रे । भगवान बुद्ध नेपालमा जन्मेको कुरा जोड्दै भनेँ, ‘यो मेरो धार्मिक यात्रा भने पनि हुन्छ ।’
ऊ नपत्याएर फिस्स हाँसी मात्र । मैले थपेँ, ‘धेरै नेपाली यहाँ पढ्न र काम गर्न आएका छन् । हाम्रा आफन्त पनि छन् यहाँ । मलाई यहाँको विकास हेर्न र समुद्रको यात्रा गर्ने रहर थियो । कन्फ्रेन्सको मौका छोपी जापानबाट आएको हुँ,’ मैले थप स्पष्टीकरण सुनाएँ । सियोल टावर र युनिभर्सिटिसम्म पुगेको तर, खासै नघुमेको, बरू भोली ब्लू हाउस जाने र पर्सी बुसान जाने कार्यक्रम रहेको एक स्वासमा बताएँ । शायद उसले १ घण्टामा मलाई के देखाउने र बाँकी के सुझाउने, उद्देश्यले यो कुरा सोधेकी हुनुपर्छ ।

उसले मेन्दोङ शहरको सिटीहलबाट देखिने परपट्टीको शालिक देखाउँदै भनी, ‘ऊ त्यो शालिक छ नी, कोरियन लिपीका आविस्कारक हुन् उनी । संसारमा कोरियाको हांगुल लिपी अपूर्व छ । हांगुल लिपिका आविस्कारक सेन्जोङ राजा हाम्रो लागि यी राष्ट्रपिता जत्तिकै छन् ।’ निकै गौरवसाथ प्रस्तुत हुँदै उसले व्याख्या गरी ।

‘शुरूमा खान्जी यानी चिनियाँ भाषाको प्रभाव थियो यहाँ कोरियामा । पछि राजनीतिक कारणले गर्दा खान्जीको निर्मूलीकरण गरी बिशुद्ध कोरियन लिपीको शुरूआत र विकास हुँदै आएको हो,’ उसले थपी ।

राजनीति भनेपछि मेरा पनि कान ठाडा हुन्छन् । मैले ‘उत्तर कोरिया नी ?’ भनेर जिज्ञासा राख्दा उसले स्पष्टीकरण दिँदै भनिन्, ‘सबैको साझा भाषा यही नै हो । हामीहरू पछि पो छुट्टिएको त !’

उसको एक घण्टा मेरालागि चिठ्ठा सावित हुने लक्षण थियो ।

‘कोरियामा ५०-६० वर्ष अघिसम्म निकै गरिबी थियो । युद्द, भोक, रोग र अभावको कोरियन इतिहासमा आज ठूलो परिवर्तन आएको छ,’ उसको प्रस्तुतिमा राष्ट्रप्रेम, आशा र भरोसाका भावहरू ज्यादा थिए ।

मेरो देश नेपालबारे आफूले पनि यस्तै गौरवपूर्ण प्रस्तुति दिने दिन आउलाझैं आशावादी भएँ म । राजनीतिको कुरा गर्दा उ अली भावुक भनी । आफैं शासक परिवारकी वंशज भएको बताउँदै कोरियन नोटमा अंकित परिवारको आफू पनि सदस्य रहेको बताउँदै राजनीतिक स्वार्थ मिलाउन कठिन हुने कुरा राखी ।

‘दुई कोरिया एक हुन्छन् त ?’ मेरो प्रश्न थियो । ‘हुनुपर्ने त हो तर राजनीतिक खिचातानी, स्वार्थ र महत्वपूर्ण पदहरूको व्यवस्थापन पेचिलो भइरहेको छ,’ उसको आशंका थियो ।

उसले बिट मार्दै भनी, ‘राजनीति अनुमान गरिसाध्य हुन्न है,’ निकै बाठी रहिछ, मनोवैज्ञानिक न परी ।

नजिकैको राजदरबार (संग्रहालय) लैजाने प्रस्ताव राखी । कोरियामा राजपरिवारको विशेष महत्व रहेछ । एयरपोर्टदेखि पर्यटनका मूख्य-मूख्य स्थानहरूमा राजकीय शोहरू देखाउने प्रचलन रहेछ । यही परम्परा हेर्न जाऊँ भनी ।

हामीले एक अर्काको फोटो खिच्यौं । साथैमा खिच्ने मेरो प्रस्तावलाई भैगो भनी उसले । यो सब ठाँटबाठ हेरेपछि उनले भनिन्, ‘राजा हुने राजतन्त्र प्रियझै लाग्छ ।’
‘हामीकहाँ पनि राजा थिए, अब छैनन्,’ भनेँ मैले ।
‘भएर ठिक थियो या नभयर ?,’ उसले प्रश्न गरी ।
‘थाहा छैन, म राजपरिवारको सदस्य होइन क्यार,’ भनिदिएँ । ऊ मुसुक्क हाँसी मात्र ।
‘तिम्रो के राय छ र ?’ मैले प्रतिप्रश्न गरेँ ।
‘यो त सापेक्षित कुरा हो तर, हाम्रोमा यो गौरवपूर्ण इतिहास बनेर बाँचेको छ,’ उसले भनी ।

विरेन्द्र राजाको वंशनास भएको देखि जान्ने म र मेरो पुस्तालाई नेपाली राजतन्त्रको परम्परालाई पुरै भूल्न थप समय लाग्ने छ । मनमनै कुरा खेले । फेसबुकमा उसले खिचिदिएको फोटोसहित सांकेतिक स्टाटस लेखेँ त्यो साँझ ।

मेरो गाइडको समय सकिँदैथियो । उसले नेपाल आउने मन भएको बताई । सगरमाथा, लुम्बिनी र पोखरा घुम्नैपर्ने मैले बताएँ । सस्तोमा स्वर्ग हेर्न नेपाल नै एकमात्र गन्तब्य रहेको पनि थपेँ । कम्तिमा भारत वा चिन जाँदा नेपाल छिर्ने बुद्धिमान पर्यटक हुन विशेष सुझाएँ । भारत र चिनकै तुलनामा पनि नेपाल शुपथ छ । एकपल्ट नेपाल पुगे अर्को पल्ट स्वत: आउने दावा गरेँ मैले । उसले जानकारीका लागि आभार भनी । मैले समयका लागि कृतज्ञता ज्ञापन गरेँ ।

सिटीहल सामू रहेको बगैंचामा निर्मित विशाल कोरियाको नक्सा अंकित फूलबारी र छेवैंमा SEOUL लेखेको कलात्मक कुर्सीमा फोटो खिचाएर हामीहरू विदा भयौं ।

कोरिया विद्यमान विश्व समाचारमा निकै चर्चित मूलुक मध्येको एक हो । हालैका शिखर वार्ताहरूले दुबै कोरियाको चर्चा थप चुलिएको छ । नेपालीहरूका लागि पनि निकै परिचित मूलुक हो, दक्षिण कोरिया । अध्ययन र कामका लागि जापान-कोरिया हामी धेरै नेपालीको लागि गन्तब्य बनेको छ । विकास र प्रविधिको प्रतिस्पर्धामा कोरिया चिरपरिचित नाम हो ।

गत महिना मात्रै दक्षिण कोरियाको यात्रा गर्ने दुर्लभ अवसर जुट्यो । हवाई-जहाजबाट सियोल, सियोलदेखि बुसान (KTX) रेल र सामुद्रिक यात्रा (FERRY) भएर बुसानबाट जापानको फुकुओकासम्मको संयोग आफैमा सम्झनलायक बनेको छ ।

भुपरिवेष्टित मुलुकका नागरिकहरू, यानी हाम्रा लागि सामुद्रिक यात्राले विशेष महत्व राख्छ ।

बुसानस्थित पोर्टमा चेकिङ र बोर्डिङ भयो । हवाईजहाजको तुलनामा सहज र कम झण्झटिलो हुँदो रहेछ यो । रमाइलो र सहज अनुभव भयो । समुद्रमाथि रोकिएको पानीजहाजमा छिरेपछि नै मनमा एक प्रकारको उत्साह थियो । तल्लै तलामा रहेको निर्धारित स्थानमा लगेज व्यवस्थापन गरी माथिल्लो तलामा उक्लेँ म पनि । सफा र फराकिलो तलाको अगाडि पट्टि ठूलो पर्दामा टिभी चलिरेहको थियो । आ-आफ्नो सिट खोजेर बसियो । छेउपट्टीको सिटमा बसेर क्षितिजसम्म फैलिएको समुद्रमाथी तैरियर यात्रा गर्नु सपना भन्दा कम थिएन ।

समुद्रमा तैरिरहेका मनग्ये जहाजहरूलाई नियाल्दै, जहाजको रेष्टूरेण्टको कफि र खानाको स्वाद मार्दै गरिएको त्यो पारिवारिक यात्रा हाल सम्मकै अर्को सर्वाधिक उचो उपलब्धी ठान्छु म । मनोरम दृश्य र मनोरञ्जनले भरिएका टेलिभिजनको कार्यक्रम र फ्रि-वाइफाईमा यात्रुहरू व्यस्त थिए । हामी पनि बाहिरको समुद्रको निलो पानी र थुप्रै जहाजहरू देखेर अचम्मित थियौं । फेसबुकमा लाइभ दिएँ । हुरुरु लाइक र कमेन्ट बर्षिए । अनन्तः सुखानुभूतिमा समुद्रमाथिको यात्रा भैराखेको छ ।

निलो र सुन्दर समुद्रको सीमा थिएन । न फूल, न हरियाली, न पहाड, न खोँच । पानी मात्रको संसार पनि यति ज्यूँदो र लोभ लाग्दो हुँदोरहेछ । कल्पन्छु, समुद्रभित्रको संसार । Marine World को त्यो बिशालता माथिको यो सामुद्रिक सतह आफैमा भ्रम मात्र हुन्छ । भलै, यी आँखाहरू झ्यालबाट देखिने गोलो समुद्रमै टोलाइरहेझैं होलान् तर, मन भने यो भित्रको त्यही अनुपम सुन्दरताको कल्पनामा मदहोस् भएको छ । हजारौं माछाहरू, जलचरहरू, घना जंगल र सामुद्रिक जनावरहरूको लिला सम्झेर समुद्रलाई हेर्नु, छाम्नु र यसमाथि सवार हुनुको काइदा नै बेग्लै हुन्छ । मेरा लागि मेरिन
वर्ल्डको एक्यूरियमले पनि यो समुद्रिक यात्रामा कलेबर थपेको हो ।

सामुद्रको यात्रामा व्यग्र र उत्साहित मेरा बचेराहरू आशा र अशल मस्त निदाइरहेका थिए । सहयात्री राजारामसहित गोरख र गणेश परिवारले पनि मैले झैं वा त्यो भन्दा अझ मिठो कल्पना गरेहुनन् ।

हामी सबै आफैंमा मस्त थियौं । यसप्रकार, हामी ४ घण्टाको सामुद्रिक यात्रा पुरा गरी जापान फर्कियौं । समुद्र मान्छेको साथी हो वा शत्रु ? यसले विकास वा विनास ल्याउँछ जस्ता बौद्धिक चर्चामा मेरो ध्यान छँदै छैन ।

अध्ययन, अन्तर्क्रिया र भ्रमण सिकाईका मूल आधार हुन् । सर्वप्रथम, जापानबाट सियोल जाने भनेपछि नै मनमा थुप्रै योजना र रहरहरू सल्बलाएका थिए । कोरियामा सुन्दर पन्थी, गणेश थापा, ई. अशोक क्षेत्री, किरण खड्का र सागर रानाभाटसहितका इष्टमित्र भेटेर कोरियाबारे सहजै जान्ने-बुझ्ने मौका मिल्यो । उक्त समय र अवसरका लागि सबैमा आभार प्रकट गर्दछु । संयोगले भगवान बुद्धको प्रतिमा अनावरण गर्ने पवित्र र ऐतिहासिक अवसरमा नेपालीद्वारा आयोजित परेड कार्यक्रममा सरिक हुनुले सुखद सम्झना संगालेको छ ।

शुरूमा सियोल पुग्नासाथ, मनमा झट्ट प्रश्न उठ्यो । कोरियालाई कसरी हेर्ने ? जापानको तुलनामा हेर्ने वा काठमाण्डौंलाई आधार बनाएर हेर्ने ? एयरपोर्टबाट शुरू गरिएको सबवे (जमिनमूनीको रेल) देखेर जापानलाई पनि पछाडी पार्ने विकसित शहर रहेछ भन्ने पर्‍यो । यसो त, जापानको रेल १८७२ मा र कोरिया सन् १९६० को दशकमा निर्मित रेल हो । यसर्थ,जापानको तुलनामा सियोल धेरै पछि निर्माण गरेको शहर हो । काठमाण्डौबाट हेर्ने हो भने थप आशावादी हुन सकिन्छ ।

गरे नहुने केही छैन । बरू पछिल्लो विकास थप आधूनिक हुन पुग्दोरहेछ । अमेरिकाबाट जापान घुम्न आएका मेरा एकजना केसी मित्रले भनेका, ‘नेपालबाट जापान/अमेरिका तुलना हुन कठिन छ ।’

एउटा विकसित मुलुकबाट अर्को त्यस्तै मुलुक हेर्दा मात्र तुलना हुन सक्छ । विकासपछि यानी, यहाँबाट मान्छेलाई प्राकृतिक सुन्दरताको बोध हुनपुग्छ । सुन्दर, शान्त र मोहकपूर्ण मानवजीवन प्रकृतिको निकटमा हुनु जरूरी छ । समुद्रको सतहजस्तै हो देखिने विकास र पिँध सरी हो प्रकृति ।

यस अर्थमा हाम्रो नेपाल विशेष छ । जापान, कोरिया, अमेरिका र विकसित मुलुक भन्दा पनि धेरै धेरै समुन्नत छ । यसरी संभावना नै संभावनाले भरिएको आफ्नो जन्मभूमिलाई नियाल्दा अझ मुलूक अझ प्रिय लाग्छ । बनाएरै बनेका छन् मुलुकहरू । परिवर्तन रोकेर रोकिने कुरा पनि रहेनछ ।

कोरियाको भ्रमणबाट इतिहासमा नेपाल पनि एक गरिब देश थियो भनेर सगौरव मुलुक चिनाउने दिन आउनेछ भनेर आशा जाग्यो । प्रतिस्पर्धा, युद्ध र अभावले थिचिएका मुलुकको दाँजोमा बुद्धको देश नेपाल कदापि विचरा थिएन र कसैको गुलाम नरहेको कुरा गर्दा छाती फुलेर आयो । सगरमाथाझैं उचो स्वाभिमान बोकेको समुन्नत, आधुनिक र नयाँ नेपालको निर्माण नेपाली मात्रले गर्नुपर्छ र गर्न सकौं । वास्तवमा समय नबितिसकेको पनि आभाष गरायो यो यात्राले ।

श्री पशुपतिनाथ भगवानले हामी सबैमा सद्बुद्धि दिऊन् !

प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

default-addImage
default-addImage