scheduleशनिवार आश्विन ४ गते, २०७६

जापान हुनुहुन्छ वा आउँदै हुनुहुन्छ, हतार नगर्नुहोस्

रोजिन थापा मगर

हरियाली वन पाखाको सुन्दरता, हिरा झैं सधै चम्किरहने हिमाल अनि बुद्ध जन्मिएको शान्तिले भरिपूर्ण मेरो देश नेपाल छोडेर यस परदेशी भूमिमा आएको पनि ३ वर्ष पूरा भएर चौथो वर्षमा कुदिरहेको छ । तर, यहाँ आउनुभन्दा पहिले बुनेका सपनाहरु भने अझै उस्तै अनवरतरुपमा मनका हरेक कुनामा बसेको छ ।

अझै पनि थाहा छैन कि ती सपनाहरु कति पूरा हुन्छन् र कति अधुरो नै रहनेछन् । मात्र यत्ति थाहा छ कि त्यसको लागि धैर्यताका साथ मेहनत गर्न जरुरत छ । किनकी सानो छँदा बुवाले भन्नुभएको थियो, ‘बाबु जीवनमा हरेस कहिले नखानू, सधै मेहनत गर्नू तर, फलको आशा भने नगर्नू अनि धैर्य भएर अघि बढ्नू ।’ त्यही शब्द जुन बुवाले सुनाउनु भएको थियो त्यसैलाई अनुशरण गर्दै यो ३ वर्ष बितेको पत्तो नै पाएनछु । अझै कति बित्नेछ त्यो पनि थाहा छैन । म त्यसको आंकलन गर्न सक्दिनँ ।

मेरो मन त तब भक्कानिएर आउँछ जब दशैंमा बाआमाले लगाइदिनु भएको टीका र जमरा अनि दिनुभएको आशीर्बादको याद आउँछ । अनि तिहारमा दिदीबहिनीले लगाइदिएको सप्तरङ्गी टीका र मखमली फूलले बनाएको मालाको याद आउँछ । त्यस दिनमा विदेशमा हुने सबैको आँखामा आँसुको मुल नफुट्ने सायदै हुन्छन होला । आज कतै खुट्टामा ठेस लाग्दा याद आउँछ त्यो दिन जब सानो छँदा बुवाआमाको हात समाएर हिंड्न पाएको दिन अनि ताजा हुन्छन् । यादहरु ताजा हुन्छन् जब यहाँ भोकभोकै काम गर्नुपर्दा आमाले कर गरी गरी आफ्नै हातले खुलाउनु भएका भातका गाँसहरु ।

मलाई अझै पनि याद छ त्यो मेरो बाल्यकालदेखिको कलेज पढ्न जादाँसम्मका दिनहरु जहाँ म सधै मेरो बुवाको भरमा बसेको हुन्थेँ । बिहान पढ्न जानुभन्दा अघि कहिले पैसा दिनुहोला र कलेज जाउँला भनेर सोच्थे । तर, म आज महिनाको थोरैमा डेढ लाखदेखि दुर्इ लाखसम्म महिनाको कमाउने गर्छु तर सोच्छु कि जिन्दगी खत्तम भयो जापान आएर । यो सब मेरो लागि मात्र नभएर म जस्तै नेपालबाट जापान आएका सम्पूर्णलाई लागू हुन्छ जस्तो मलाई लाग्छ । तर हामी यो यथार्थ बुझ्न असमर्थ छौं कि मेहनत गरेको भए जापान पनि आज नेपालजस्तै देश हुने थियो । जापानको विगत र अहिलेको नेपालको परिवेश एकै हुन् । मलाई लाग्छ कि हामी नेपाली मेहनत गर्न डराउँछौ र धैर्य गर्न नसक्नु हाम्रो कमजोरी हो । यो कसरी प्रमाणित हुन्छ भने हामीले जापान आएर देख्न नसकेको भविष्य हो ।

जापान एउटा यस्तो देश हो जसले इतिहासलाई जितेको छ । अब भन्नुहोला कसरी भनेर । विश्व युद्धमा अमेरिकासँग हारेको थियो जापान तर आज यही जापानको ब्राण्ड सोनी टिभी अमेरिकाको राष्ट्रपतिको कार्यालयमा राखिएको छ । अमेरिकी राष्ट्रपतिले जापानको कार प्रयोग गर्छन् । यसैलाई अमेरिका विरुद्धको जित सोच्छन् जापानीज नागरिकहरु । यो सबै सम्भव भयो मात्र मेहनतले । तर हामी भने यही देशमा भविष्य नदेखेर भौंतारिएका छौं । अवसर भएको देश जापानलाई अरबको खाडीसँग तुलना गर्नसम्म पनि पछि पर्दैनौं । आखिर उही खाडी मुलुकसँग दाँज्नु नै थियो भने किन खाडी नगएर विद्यार्थीको बहानामा जापान आयौं त ? नजिकको तिर्थ हेला भनेझैं नआउँदासम्म यही जापानमा सबैथोक देख्ने हामी आएपछि यहाँको रहनसहन अनि संस्कृतिलाई किन अपनाउन सक्देनौं ? किन कि हामी दुःखसँग अझै पनि डराउँछौ । मेहनत गर्नुपर्दा टाउको बटार्ने गर्छौं । किन कि हामी हुर्किएर आएको वातावरणले नै त्यही सिकाएको छ ।

भन्दा र सुन्दा तितो लाग्नसक्ला तर यथार्थ यही नै हो । हैन भने आखिर यो ठाउँले के दिएको छैन र हामीलाई कि सधै यी भोटेहरु काम छैन, अनि यो ठाउँमा भविष्य छैन भन्दै मुर्मुरिने गर्छौं ? त्यसको एक मात्र उत्तर हो- दुःख ।

भनिन्छ नि हतारको काम केही ठिक हुँदैन । हामी जापानमा आएका नेपालीहरु त्यही हतारपनको फन्दामा फस्न पुग्छौं । जापानमा छिर्न नपाउँदै काम खोज्नको लागि हतार अनि त्यही हतारले जापानीज भाषा अध्ययन कमजोर बनाइदिन्छ । अनि जसोतसो भाषा विद्यालय सकिने बेला भएपछि दुई वर्षे कलेज या सेनमोनको लागि हतार अनि फेरि त्यसपछि सके वर्किङ पर्मिटको लागि हतार नभए अर्को कलेज या युनिभर्सिटी खोज्न हतार ।

अनि त्यही हतारपनले गर्दा जिन्दगीमा धेरै गुमाइ सकेपछि बुझ्न पुग्छौं । यो एउटा तितो र सत्य यथार्थ हो कि हामीले धैर्यता, लगनशिलता र सत्यजस्ता तत्वहरुको महत्व बुझ्न छोडिसकेका छौं ।
देशभित्र हेरौं, नेताले जनतालाई दिने झुटो आशाको पहाड बनिसकेको छ । गुण्डागर्दी, बलात्कार र अपहरण जस्ता घिनलाग्दो कार्यले गर्दा घरबाट बाहिर निस्कने बेला सयपटक सोच्न बाध्य हुनुपरेको छ र निस्के पनि ढुक्क भएर हिंड्न सक्ने अवस्था छैन ।

जापान आउनुभन्दा पहिले बुझ्न जरुरी रहेको छ कि यहाँ पैसा रुखमा फल्ने हैन जुन सजिलै टिप्न सकियोस् । तर यहाँ मेहनत गरे अवसर प्रशस्त छन् र त्यही अवसरहरुको लागि धेरैभन्दा धेरै चुनौतीहरुको सामना गर्न तयार छु भन्ने मनोभाव लिएर जापान छिर्नुहुन अनुरोध गर्दछु । सबैभन्दा पहिला आफ्नो भूतलाई नबिर्सनु होस् र यथार्थलाई अपनाउनु होस अनि मात्र तपाईले देख्नु हुनेछ भविष्य जापानमा ।

(रोजिन हाल फुकुओकामा छन्)

प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

default-addImage
default-addImage