scheduleशनिवार आश्विन ४ गते, २०७६

‘आमा ! यसपाली त टिका थाप्न आउँछु है’

मुक्तिनाथ ढकाल

आमा यो दशैंमा म घर आउँदैछु । तिम्रो आशिर्वाद लिन र तिम्रो जीवनको उत्तरार्धमा यी बलिया हातहरुले मिठो मसिनो जे सकेको बनाएर खुवाउन । अबको तिम्रो बाँकी जीवनमा तिम्रो मात्रको असल छोरा भएर बढ्न यस दशैंलाई शुभ साइत बनाउँदै आउँदैछु आमा ।

आमा तिमी मेरो विछोडमा कति रोयौं होला ? रुँदा रुँदा आँसु सकिएपछि कति बर्बरायौ होला ? वर्षैपिच्छे आइरहने दशैंहरुमा मलाई कति सम्झियौ होला । कहिलेकाँही बिर्सन नसक्दा आफैंले आफूलाई र मलाई कति धिक्कार्यौं होला ?

लेखक

आमा तिमीलाई लाग्थ्यो होला, छोरो मेरो हो । ठूलो मान्छे हुन्छ । मलाई पाल्छ । मेरो बुढेसकालको सहारा, छरछिमेकीमा अरुका छोराहरुले जस्तै प्रगति गर्छ ।

हो, आमा मलाई पनि त्यस्तै लाग्थ्यो– धेरै पढ्छु, व्यापार व्यवसाय गर्छु । बाआमालाई राम्रोसँग पाल्छु, धनी बन्छु ।

तर, आमा ! समय बित्दै गयो । म ठूलो र बुझ्ने हुँदै गएँ । त्यसपछि मैले तिमीजस्तै हजारौं निमुखा आमाहरु देखेँ । जो मुख भएर पनि बोल्न सक्दैनन् । जो दिनभरी काम गरेर पनि भोकै सुत्छन् । जो दिनभरी घर लिपेर गोठमा बस्छन् ।

त्यस्तै मैले धेरै ‘बा’हरुलाई पनि देखेँ । जो दिनभरी भारी बोकेर आधा पेट खाने, नहुँदा पेटमा पटुका कसेर सुत्छन् । जो दिनभरी खेत जोतेर पनि खेतका मालिक हुँदैनन् ।

फेरि त्यही मेरो समाजमा मैले अर्काथरी मानिसहरु पनि देखेँ जो बसीबसी खान्छन् । उनीहरु नै धनी–विलासी छन् । उनीहरु नै भूमिपति छन् ।

त्यसैले आमा चौबिसै घण्टा खट्नेभन्दा सधैं घुमफिर र बसीबसी खानेहरु धनी हुने मेरो समाज बुझ्नलाई मैले सधैं घुमफिर र बसीबसी खानेहरु धनी हुने मेरो समाज बुझ्नलाई मैले तिमीलाई मात्र सुखी राख्ने किनारलाई छाडेर ‘जन्मदिने मातालाई भन्दा धरतीमातालाई ठूलो मानेँ’ । एउटा आमालाई भन्दा मैले मेरो देशका हजारौं दीनदुःखी, गरिब, शोषित–पीडित–दमित हजारौं आमाहरु देखेँ । बर्षाभरी खेतीबाली लगाउने र भेडाबाख्रा चराउनेहरुले मनाउने गरेको दशैं र मनाउन नपाएका दशैं पनि देखेँ ।

त्यसैले, आमा आजभन्दा बीसौं वर्ष पहिले ती आमाहरुको आवाजको निम्ति, सबै आमाहरुले समान दशैं मनाउन पाउनुपर्छ भन्दै तत्कालीन नियम, कानुन, शासन र शासक, भू–माफिया र पुँजीपति वर्ग, शोसक र सामन्तीको विरुद्ध आगो ओकल्दै बन्दुक बोक्न बाध्य भए । जसको उद्देश्य थियो कि दीनदुःखी, गरीब, पिछडिएका वर्गको उत्थान गर्न, देशमा सबै किसिमका जातजाति, भाषाभाषी, धर्म, लिङ्ग सबैलाई समान अधिकारको सुनिश्चित गर्नु, जनताको शासन जनताले गर्न पाउनु, यानिकी, शासन सत्ता र राष्ट्रमा सबैको समान हक अधिकार हुनु । पुराना केन्द्रीकृत शासन व्यवस्थालाई अन्त्य गर्दै नयाँ विकेन्द्रीकृत लोककल्याणकारी शासन व्यवस्थाको थालनी गर्नु ।

जहाँ हजारौं देशका छोराछोरीहरुले बलिदानी गरे । कयौं, छोराहरु मारिए । कयौं अङ्गभङ्ग तथा घरवारविहिन भए । आफ्नो एउटा आमालाई रुवाउँदै हजारौं आमाहरुको निम्ति बन्दुक बोक्ने ‘म’हरुकै कारण देशमा गणतन्त्र आयो । जनताको छोरो जनसत्ताको नायक बन्ने बाटो खुल्यो । देश शान्ति प्रक्रियामा गयो । फेरि, पनि म दशैं मान्न र तिम्रो हाततबाट टिका लगाउँदै आशिर्वाद लिन जान सकिनँ ।

जसरी जंगबहादुर र जगतजंगका पालाका चाप्लुसीबाज केशर र भोलाहरु विर शमशेरको पालामा राज्य, राष्ट्र र शासन सत्ताको अग्रपंक्तिमा देखिए । त्यसरी नै त्यसको १०० वर्ष भन्दा पछिको विद्रोहमा पनि पुरानै शासन सत्ताका केशर र भोलाहरु देखिए ।

जसको कारण फेरि मैले अब गाउँ–गाउँबाट नभएर शहर, बजार र बस्तीबाट नयाँ विचाररुपी युद्धहरु लड्नुपर्‍यो । किनकी अहिलेका नयाँ केशर र भोलाहरुले गणतन्त्रको खातिर, देश र जनताका खातिर ज्यानको बाजी लगाउने ‘म’जस्ता हजारौं ‘बालकृष्ण’हरुलाई हेगमा पु¥याउन खेल खेल्न सक्यो । जसको कारण मैले विचाररुपी लडाईं सरकार, सदन र सडकमा लड्दै गएँ ।

मलाई दुई चारवटा तिमीसँगै बसेर डर, त्रास, धम्की, आँसु र ऋणमा मनाउनभन्दा खुसीयाली र रमाइलो दशैं हजारौं वर्ष मनाउनु थियो आमा ।

अब मेरा लडाईं पूरा भएको छ । एकताका कुराहरु भइरहेका छन् । आमा, वर्षौंसम्मको बन्दुकको लडाईं र विचारको लडाईंपछि नयाँ जन्मेका केशर र भोलाहरुको अन्त्य आको छ, देशमा जनताले जनतालाई जनताद्वारा गरिने शासन व्यवस्थाको सुरुवात भएको छ ।

अग्रगामी विकास, शान्ति र स्थायित्वको निम्ति मैले लडाईं लडेका मोर्चाका कमाण्डरहरु पूर्ण जनसमर्थनमा अन्तर्राष्ट्रिय मान्यताअनुसार नेपालकै इतिहासमा पहिलोपटक सरकारमा छन् । आमा, त्यसैले बीसौं वर्षपछि यो दशैंमा तिम्रो चाउरी परेका लुला हातहरुबाट रातो टिका थाप्न आउँदैछु आमा, रातो झण्डा बोकेर ।

प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

default-addImage
default-addImage