scheduleशनिवार आश्विन ४ गते, २०७६

नेपाल फेस्टिवलको नालीबेली र यसको गौरव

रामकृष्ण श्रेष्ठ

नेपाल, भारत, श्रीलंका र बंगलादेश लगायतका दक्षिण एसियाका विभिन्न देशहरुमा बैशाख महिनाबाट नयाँ वर्षको आगमन हुन्छ । प्रकृतिले पनि नयाँ पालुवा लगाउने, जाडो सकिने र ढकमक्क बसन्त ऋतु अर्थात् स्प्रिङ्गले सजाउने महिना बैशाखको बेग्लै अर्थ छ । तर पनि यसलाई अत्यधिक महत्त्वपूर्णरुपमा हामीले लिन र मनाउन सकिरहेका छैनौं । जापानसहितका विकसित मुलुकहरूमा जनवरी १ तारिखलाई नै नयाँ वर्षको सुरुवातको रुपमा धुमधामसँग स्वागत गर्ने चलन छ । जसरी दशैं र तिहारमा हामी नेपालीहरु भगवती दुर्गा र लक्ष्मी मातासँग सु-स्वास्थ्य एवम् सुख-सम्पतिको कामना गर्दछौं । त्यसैगरी जापानलगायत विश्वका विभिन्न देशहरुमा नयाँ वर्षलाई नै ठूलो पर्वको रुपमा मनाएको देख्न सकिन्छ।

रामकृष्ण श्रेष्ठ

विज्ञान र प्रविधिको विकाससँगै संसार साँघुरिदै आएको छ । युगौंयुग नेपालमै बिताएका नेपालीहरूका पछिल्ला नयाँ पुस्ता केहि वर्षदेखि संसार चाहर्न निस्किसकेका छन् । जापान नेपालीहरुका लागि रोजगार व्यवसाय होस् अथवा अध्ययन मननका लागि बहाना जेसुकै किन नहोस् धेरै युवाहरूको रोजाईको गन्तव्य विकसित मुलुक जापान पनि हुन पुगेको छ । यसैको फलस्वरूप आजको मितिमा ८५, ००० (पचासी हजार) को हाराहारीमा युवा नेपालीहरु जापानका विभिन्न शहरहरुमा बसोबास गर्दै आइरहेका छन् ।

जापानको चौथो ठूलो शहर यो फुकुओकामा पनि झन्डै ६/७ हजार नेपालीहरु विभिन्न क्षेत्रमा आवद्ध छन् । फुकुओका वरपर छरिएर रहेका नेपालीहरुलाई एकै ठाउँमा भेला गर्ने, आपसमा भाइचारा निभाउने र कसरी नेपाल र नेपालीको इज्जत कायम राख्दै जापानको बसाईलाई राम्रो बनाउने भन्ने कुराहरु हामी सबैको साझा सवाल बनेको छ र आगामी दिनहरुमा पनि यो विषय थप आवश्यक हुँदै जाने सुनिश्चित छ । विदेशको भूमिमा हामी नेपालीहरूको संख्या बढ्दै गर्दा हाम्रो देश नेपाल र नेपालीको पहिचानलाई जापानभर नै सकारात्मक ढंगले परिचित गराउनु पर्ने साझा अनुभुतिबाट नै नेपाल फेस्टिवलसहितका विभिन्न कार्यक्रमहरूको सफल आयोजना हुँदै आएको हो ।

यसो त हामीहरू जो जहाँ बस्छौं, काम धन्दा गर्छौं र सामान्य व्यवहारबाट आफ्नोको साथसाथै नेपाल र एउटा नेपालीको परिचय दिइरहेकै हुन्छौं । हाम्रो व्यवहार र हाम्रो तरिका विदेशमा आइसकेपछि निजी नहुँदोरहेछ । यो त नजानिँदो किसिमले राष्ट्रकै प्रतिनिधित्व हुनपुग्दो रहेछ । राम्रो व्यवहारले अहा! नेपाली ! नराम्रोले छी नेपाली ! भनिहाल्दा रहेछन् ।

हाम्रो बोलीवचन र स्वभावले हामी नेपालीबीच हाम्रो परिवारको संस्कार र विदेशीका बीच नेपालीको स्वभाव यस्तो पो हुँदोरहेछ भनेर अर्थ लाग्दोरहेछ । नेपाल सानो छ, तर सुन्दर छ । यहाँका मान्छेहरू मायालु छन् । उनीहरूमा कोमल हृदय छ । उनीहरू मिलेर खुशी मनाउन सिपालु छन् । यस्तै हाम्रा राम्रा पक्ष र संस्कृति झल्कने गरी जापानीमाझ नेपाललाई चिनाउन पनि हामीले हरेक वर्ष बैशाख महिनामा (वैशाखी मेला) नयाँ साल मनाउने गरी कार्यक्रम गर्दै आइरहेका थियौं । वैशाखी मेलाको नाम अनि कसरी शुरू भयो, बंगालीसँग कसरी र किन सहकार्य भयो ?

कसरी हामी नेपालीहरू आफैंले मिलेर छुट्टै नेपाल फेस्टिभल आयोजना गर्ने हैसियतमा आइपुग्यौं ? साथीहरूको अथक मेहनत र सहयोगी मनहरूको ठूलो हात छ । गतवर्ष पनि यसबारे चर्चा भैसकेकाले र इतिहास कदापि नमर्ने भएकाले पनि आज म धेरै बोल्दैन ।

हो, फुकुओकामा रहेको विभिन्न संघ-संस्थाहरुको रगत र पसिनाले हुर्केको यो साझा चौतारीलाई ८औं वर्षबाट नेपाल फेस्टिवलको नामले मनाउने निर्णय भयो । हामीले यसलाई फुकुओका मात्र नभनी यो जापानभरीको साझा मेला हुनुपर्छ भन्ने पवित्र उद्देश्यबाट सातौं वर्षसम्म मेरै संयोजकत्वमा सफलतापूर्वक सम्पन्न हुँदै आइरहेको मेलाले नेपाल फेस्टिवलको गौरवपूर्ण नाम पाएको छ । प्रारम्भमै जापानका लागि हाम्रा राजदूतसहितको गौरवशाली उपस्थितीकाबीच भव्य र सभ्य ढंगले यसको सुसम्पन्न पनि भएकै हो ।

हामी सबैको नेपाल फेस्टिवललाई थप व्यवस्थित र थप भव्यताका साथ सफल बनाउन लागि पर्ने साथीहरु, संघ-संस्थाहरूलाई भगवान् गौतम बुद्धले थप आशिर्वाद दिऊन् भनी प्रार्थना गर्दछु । हामीले एकआपसमा भाइचाराको विकास गर्ने, मिलेर नयाँ साल सुखद रहोस् भनी शुभकामना साटासाट गर्ने र यसै फेस्टिवलका माध्यमबाट हाम्रो कर्मभूमी जापान र नेपाललाई असाध्यै माया गर्ने जापानी नागरिकहरुका बीच भगवान गौतमबुद्धको जन्मभूमी नेपाल चिनाउने, प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपाल जान उत्साहित गर्ने र समग्रमा नेपाली पर्यटन व्यवसायलाई थप लोकप्रिय बनाई आफ्नो जन्मभूमीको अर्थतन्त्रलाई जतिसक्दो टेवा पुगोस् भन्ने नै यस कार्यक्रमको प्रमुख उद्देश्य रहेको छ ।

नेपाल फेस्टिबलको कार्यक्रम सम्बन्धी जानकारी
हरेक वर्षको वैशाखको नयाँ दिनमा हजारौं नेपाली र जापानी नागरिकहरूको सहभागितामा यो नेपाल फेस्टिबलको आयोजना हुँदै आइरहेको छ । सन् २०११ देखि नयाँ वर्षको १ दिन मात्र आयोजना हुँदै आइरहेको यो फेस्टिबल १ दिनले नपुगेर सन् २०१७ सालबाट २ दिन मनाउँदै आइएको छ । सन् २०१६ सम्म नेपाल र बंगलादेशका नागरिकहरुको संयुक्त प्रयासमा सम्पन्न हुँदै आएको वैशाखी मेला अर्थात् यो नेपाल फेस्टिवल गत बर्ष २०१७ बाटमात्रै हामी नेपालीहरुको एकल आयोजनामा सम्पन्न हुँदै आइरहेको छ ।

यो बर्ष २०१९ को अप्रिल ६ र ७ गते नेपाल फेस्टिवलको कार्यक्रम रहेको छ | ३० देखि ४० वटा नेपालीपना झल्कने खानासहितका बिभिन्न स्टलहरु रहने छन् । नेपाली कला र संस्कृति झल्कने मालसामान र खाना लगायतका स्टलका अतिरिक्त सांगितिक कार्यक्रमद्वारा सहभागीलाई भरपुर रमाइलो प्रदान गर्ने व्यवस्था गरिएको छ। फुकुओकामा अवस्थित विभिन्न संघ-संस्थाहरुले आ-आफ्नै मौलिक भेष-भुषामा सुसज्जित भएर नेपालीपनाको परिचय दिन पञ्चेबाजासहित सूर्य र चन्द्रमा अंकित नेपालको झण्डा फर्फराउँदै र नेपालमा नयाँ वर्ष आएको सन्देश जानेगरी सगौरव फुकुओका नगर परिक्रमा गर्ने र यही पार्कमा फर्केपछि कार्यक्रमको औपचारिक सुरुवात गर्ने चलन चलिआएको छ ।

अन्त्यमा, सन् २०११ साल फुकुओका नेपाल सोसाईटीको अग्रसरतामा शुरु गरिएको यो एतिहासिक पर्वले पाएको निरन्तरता र हरेक साल बढिरहेको महिमाको कल्पना गर्दा त्यो वेलाका आरोह र अवरोध अनि आफ्नै कार्यसमितिका हरेक साथीहरूको तस्वीर मलाई अहिले पनि संझनामा आईरहेका छन् । हामीलाई यो फेस्टिबल गर्न धेरै गारो थियो । हामीहरू आफैं पनि विद्यार्थी थियौं । छातीमा हात राखेर भन्छु, कसरी हामीले यति ठूलो प्रोग्राम गर्‍यौं होला ? आज जस्तो यतिधेरै आफन्त, यो सोच, संख्या र आत्मविश्वास कहाँ हुनु ? पशुपतिनाथ भन्नुस् वा भगवान गौतम बुद्धको प्रेरणा । यो सव असम्भव लाग्दो कुरा आज सम्भव र सरल भएको छ । सबैलाई आभार ।

आज यो फेस्टिवल सफल हुँदैगर्दा र यो भव्य समारोहमा आफ्ना विचार राख्दै गर्दा म उपस्थित सबैलाई आभार प्रकट गर्न चाहान्छु । यो नयाँ वर्ष २०७६ ले हामी सबैमा खुशीको वर्षात गरोस । यहाँहरूको शुभ रहोस भनी मंगलमय शुभकामना भन्न चाहन्छु । निकै खटेका मित्रहरू, यहाँहरूको मेहनत, परिश्रम र लगानीले इतिहास निर्माण गरिरहेको छ । हरेक वर्ष हुने नेपाल फेस्टिवलहरूले यहाँहरूलाई विर्सन दिनेछैन् । आजपनि मेरो कार्यकालमा पूर्णरुपमा सहयोग गर्नु हुने मेरो अग्रज तथा प्रिय साथीहरुलाई हार्दिक नमन गर्दै आज खटिरहेका सबै नेपाली दाजुभाई तथा सबै संघ-संस्थाहरुलाई पुनः शुभकामना तथा बधाई ज्ञापन गर्दछु र नेपाल फेस्टिवलको यो हाम्रो अभूतपूर्व एकता, सहकार्य र विश्वासले भरिएको फुओकाको सन्देश गैरआवासीय संघ-संस्थाको केन्द्रसम्म पुर्‍याउनुपरेको छ । म यतिबेला संकेतमा मात्र भन्छु- परिवर्तन सम्भव छ । परिवर्तनकै लागि हामी यहाँसम्म आइपुगेको हो । हामी फुटेर होइन, जुटेरै यो संभव छ । फेरी पनि नयाँ वर्ष २०७६ को शुभकमना । जदौ !!

(श्रेष्ठ नेपाल फेस्टिवल फुकुओका, संरक्षक समितिका संयोजक हुन्)

प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

default-addImage
default-addImage