scheduleबुधवार आषाढ़ ४ गते, २०७६

धुर्मुस-सुन्तलीको विरोध गर्नुअघि ऐनामा आफूलाई हेर्ने कि ?

रोजिन मगर

धुर्मुस-सुन्तली फाउन्डेसनद्वारा निर्माण गर्ने भनिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम निर्माणको घोषणा भएसँगै अनेकौं तर्कवितर्क सुरु भएको छ । त्यसमध्ये केहि व्यक्तिहरु धुर्मुस-सुन्तलीलाई सिकाइरहेका पनि छन् । उनीहरु भन्दैछन् कि स्टेडियम हैन, एक सय रुपैयाँमा उपचार हुने अस्पताल खोल्नुस् भनेर ।

कोही भन्दैछन् कि साउदी कतारमा दुःख गरेर कमाको पैसा न दिनु बरु अरु के जाति संघसंस्थालाई दिने रे ! एउटा देश विकास हुनलाई त्यो देशको सरकारभन्दा हरेक नागरिक धेरै जिम्मेवार हुन्छन् भन्ने यहाँनेर महत्वपूर्ण छ । काम नभएर ‘टाइम पास’को लागि फेसबुक चलाउनेहरुले धुर्मुस-सुन्तलीलाई सुझाव दिँदै छन् ।

यो जोडीले जनविश्वासलाई पूरा गर्दै केही काम सम्पन्न गरिसकेका छन् । उनीहरुले देशको करोडौं जनताको माया र साथ पाएका छन् । त्यो यत्तिकै हैन । उनीहरुले गरेर देखाइसकेका छन् ।

राजनीतिक नेताहरुले अस्पताल बनाइदिन्छु भन्छन् । अरु के के बनाइदिन्छु भन्छन् तर काम गर्दैनन् । काम नगरे पनि हामी हाम्रा नेताका लागि निरन्तर ताली पिट्दै आइरहेका छौं । तिनै जनता सामाजिक कार्यहरु सफलतापूर्वक गरिसकेका यो जोडीले क्रिकेट स्टेडियम बनाउँछौं भन्दा विभिन्न प्रकारले आक्रमण गरिरहेका छन् ।


धन्य छन् मेरा देशका जनता, जो चोकमा बसेर एक कप चियाको भरमा देश विकासको कुरा हाँक्छन् । अनि राजनीतिलाई गाली गर्छन् । हाम्रो देश विकास न हुनुमा नेताहरु हैन हामी जनता सबैभन्दा धेरै जिम्मेवार छौं । किनकी, हामी उनीहरुको औंलाको ईशारामा नाँचिरहेका छौं । जनताको लागि भनेको छ, आन्दोलन घोषणा नेताले गर्छन् । आन्दोलन हुन्छ तर त्यसको दुःख कसले भोग्नु परेको छ ? प्रहरीको डण्डा खाने पनि नागरिक नै हुन्छन् । दिन भरी काम गरेर दुई छाक खानेले त्यो रात भोकै सुत्नुपर्ने हुन्छ र त्यो पनि आम नागरिक नै हुन्छ ।

अनि आन्दोलन घोषणा गरेका ठूला नेताहरु सडकमा उत्रिएका छन् आजसम्म ? विद्यार्थीको नाममा सडकमा उत्रियो, गरिखाने जनतालाई दुःख दियो अनि देश विकास भएन भन्यो । आलोचना गरिरह्यो । त्यसैले देश विकासतर्फ उन्मुख नहुनुको मुख्य कारण भनेको हाम्रो देशको युवावर्ग र विद्यार्थीहरु हुन् । अनि हामी जनता ।

धुर्मुस-सुन्तलीले बनाउन लागेको क्रिकेट स्टेडियम निर्माणको विरुद्धमा हुनुभएको महानुभावहरुलाई मेरा केही प्रश्नहरु-
१. धुर्मुस-सुन्तलीले तपाईंहरुले साउदी कतारमा दुःख गरेर कमाएको पैसा सहयोग गर्नैपर्छ भनेर कसले भनेको छ ? अनि दुःख भन्ने साउदी कतारमा बस्नेले मात्र गरेका छैनन् ।

२. तपाईंको इच्छा छैन भने नगर्नुस् सहयोग तर अरुलाई पनि सहयोग नगर्नुस्, चन्दा न दिनुस् भनेर मान्छे भड्काउने अधिकार तपाईंलाई कसले दियो ?

३. मानिसको आधारभूत आवश्यकता भनेको गाँस, बास र कपास भनिन्छ र त्यो भूकम्पपश्चात् अनेकौं बस्तीहरु बनाएर धुर्मुस सुन्तलीले नै कयौं मानिसहरुलाई व्यवस्थापन गरेका छन् । त्यो काम चाहिँ यिनीहरुको थियो कि नेपाल सरकारको ?

४. धेरैजसोले बाटो, पुल, अस्पताल बनाउनुस्, स्टेडियम रमाइलोको लागि हो, त्यो सरकारले बनाउने हो भन्नु भएको छ । यदि त्यसो हो भने तपाईं पनि त देशको नागरिक हो । धुर्मुस-सुन्तली जस्तै तपाईं किन बनाउनु हुन्न त ? किन यस्तो पवित्र कामको नेतृत्व लिनु हुन्न ?

५. यदि तपाईंको विचारमा बाटो, पुल, अस्पताल, शिक्षा आदि धेरै आवश्यक छ भने त्यो एक साधारण नागरिक धुर्मुस-सुन्तलीको जिम्मेवारी कसरी भयो ? त्यो झन सरकारले पहिलो प्राथमिकतामा राख्नु पर्ने हैन ?

६. भ्रष्टचार भएको रकम किन त्यस्ता कार्यमा प्रयोग भएन भन्ने धारणा पनि देखेँ/सुनेँ । उनीहरुलाई मेरो प्रश्न छ कि धुर्मुस-सुन्तलीसँग सोध्ने हो या नेपाल सरकारसँग यो प्रश्न ? देशमा भ्रस्टाचार हुनु पनि धुर्मुस सुन्तलीको गल्ती झैं भन्नु भयो त ?

७. देश अहिले जुन अवस्थाबाट गुज्रिरहेको छ । त्यस अवस्थामा कुन चाहिँ विषयले मन बुझाउने र म नेपाली भनेर गर्व गर्ने बाटो छ ? जब आफ्नो जन्मभूमि छोडेर विदेशमा हुन्छौं अनि देशको क्रिकेटले जित्यो भनेर सुन्न देख्न र आफु भएको देशको नागरिकलाई मेरो देशले जित्यो भनेर भन्न पाउँदा जुन गर्व अनुभूति हुन्छ त्यो खेलकुदबाहेक अरु कुनै छैन । जितेर आउँदा विमानस्थलसम्म लाईन लागेर स्वागत गर्न जाने पनि त हामी नै हौं, हैन र ?

प्रश्नहरु त मनमा धेरै छन् तर योभन्दा धेरै लेख्न चाहिनँ । यदि कसैलाई अझै पनि यस पवित्र कार्यप्रति आपत्ति छ भने आउनुहोस् सार्वजनिक बहस गरौं । म तयार छु । हैन भने देशको खेलकुद क्षेत्रमा विकास हुनु भनेको पनि देशको नै विकास हो । त्यसैले विरोध जनाएर गैरजिम्मेवार नागारिक नबन्नु हुनका लागि अनुरोध गर्दछु । कसैलाई सुझाव दिनुभन्दा पहिले आफुलाई नियाल्ने बानी गरौं ।

प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

default-addImage
default-addImage