scheduleमगलवार मंसिर ३ गते, २०७६

अनुभूतिको विशाल संसार अटाएको दस्तावेज अर्थात् ‘अन्तर्दृष्टि’

फुकुओका, २४ असार । दृष्टिविहीन भएकै कारण उनले भोग्नुपरेका अपमान, तिरस्कार र त्यसबाट बच्न उनले गरेका संघर्षसँगै आत्मसम्मान खोजीको उनको यात्रा समेटिएको पुस्तक रोचक छ ।
सन् १८८० मा अमेरिकाको टस्कम्बियामा जन्मिएकी हेलेन केलर स्नातक तहसम्म पढ्ने पहिलो दृष्टिविहीन हुन् ।

थाहा छैन, यो दुःखको कुरा हो या उत्साहको– हेलेन केलरभन्दा झण्डै १०० वर्षपछि चितवनको जुटपानीमा जन्मिएका कमल लामिछाने विद्यावारिधि गर्ने नेपालका पहिलो दृष्टिविहीन भए ।

र, त्यही विद्यावारिधिसम्मको यात्रा तय गर्ने क्रममा लामिछानेले खेपेका प्रहार र भोगेको प्रेमसँगै उनको अनुभूतिको विशाल संसार अटाएको दस्तावेज हो– अन्तर्दृष्टि ।

‘युनिभर्सिटी अफ टोकियो’ बाट विद्यावारिधि गरेपछि चुकुवा विश्वविद्यालयमा प्राध्यापन र हाल अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा अनुसन्धानकर्ताका रुपमा कार्यरत डा.कमल लामिछानेको चुनौतीपूर्ण यात्रा वृत्तान्त ‘म्याजिकल’ लाग्छ ।

दृष्टिविहीन भएकै कारण उनले भोग्नुपरेका अपमान, तिरस्कार र त्यसबाट बच्न उनले गरेका संघर्षसँगै आत्मसम्मान खोजीको उनको यात्रा समेटिएको पुस्तक रोचक छ ।

घरमा पाहुना आउँदा लुसुक्क अर्को कोठाभित्र छिरेर होस् या विवाह–भोज जस्ता समारोहमा ओझेलमै रहेर उनले परिवार–समाजलाई अप्ठ्यारो नपारिदिएको जस्ता थुप्रै प्रसंगहरूले पाठकलाई उद्वेलित पार्छन् ।

१२ वर्षको उमेरसम्म अक्षर चिन्ने अवसर नपाएका लामिछाने त्यसपछि भने आफैंलाई चिन्ने प्रयासमा लागे । २०५५ सालमा त उनी प्रमाणपत्र तहमा ‘नेपाल प्रथम’ भए ।

एक्लै हिंड्दा अलमलिएर मानिसहरूसँग ठोक्किन पुग्ने लामिछानेले त्यसैलाई अवसर ठानेर आफ्नो गन्तव्य पहिल्याए ।

आफूलाई अवमूल्यन गर्ने पूर्वाग्रही पात्रहरूलाई गलत सिद्ध गर्दै सफलताको यात्रा तय गरेका लामिछानेको आत्मकथाले पाठकलाई उत्साहित बनाउँछ ।

आँखा नदेख्नेले के गर्न सक्छ, के गर्न सक्दैन भन्ने आफ्नै खालको पूर्वाग्रही सोच बनाएको समाजका लागि अन्तर्दृष्टि गतिलो पाठ हुनसक्छ ।

यद्यपि, तमाम प्रयास, संघर्ष र सफलताका बावजुद पनि लामिछानेले भनेका छन्, ‘म जतिसुकै सक्षम हुँ भनेर दाबी गरे पनि दृष्टिविहीन हुँदा सानाभन्दा साना व्यावहारिक समस्या आउँदा रहेछन् ।’

भेन्टिलेटरमा बिरामी बासँगै रहँदा होस् वा सुत्केरी श्रीमतीलाई स्याहार गर्न नसक्दा या विद्यावारिधि गरिसक्दा पनि ल्याप्चे लगाउनुपर्ने बाध्यता यी सबै कठिनाइलाई उनले सहजतापूर्वक पुस्तकमा उतारेका छन् ।

पुस्तकका केही सीमाहरू पनि छन् । अत्यधिक विवरणात्मक लेखाइ भएको पुस्तकमा सम्पादन शिल्पको अभाव खट्किन्छ ।

लामिछानेले आफ्नो प्राज्ञिक जीवनबारे गरेको व्याख्या र पारिवारिक किचलोको प्रसङ्ग केही पाठकलाई पट्यारलाग्दो हुनसक्छ ।

पुस्तकमा दोहोरो संवादको प्रयोग निकै कम छ । यद्यपि, कमल लामिछानेको आत्मकथा अन्तर्दृष्टि ले भन्छ, आँखा नदेख्नेहरूको संसार अँध्यारो हुँदैन ।

पुस्तक: अन्तर्दृष्टि (आत्मकथा)
लेखक: डा.कमल लामिछाने
प्रकाशक: फाइनप्रिन्ट
पृष्ठ: ३०२,
मूल्य रु.: ४९८

प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

default-addImage
default-addImage