scheduleआइतवार भाद्र २९ गते, २०७६

एनआरएनए जापानः यसकारण फिर्ता लिएँ अध्यक्ष पदको उम्मेदवारी

किरण बर्मा

आदरणीय जापानबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु, प्रिय मित्रहरु, सञ्चारकर्मी साथीहरु ! एनआरएन जापानको अध्यक्षमा मैले उम्मेदवारी घोषणा गरेपछि मेरो पक्षमा जनमत सिर्जना गर्न अहोरात्र खटिनुहुने, सद्भाव र समर्थन साझा गर्नुहुने सबैमा मेरो हृदयको कुनादेखिको सम्मान र कृतज्ञता ।


छोटै समयमा मप्रति देखाउनु भएको माया, विश्वास र सद्भावका लागि यहाँहरुप्रति नतमस्तक छु । ऋणि छु । नेपाली समुदाय र मानवताको हितमा समर्पित हुन यसले मलाई थप प्रेरणा प्राप्त भएको छ ।


एनआरएनए जापानको नवौं अधिवेशनमा मैले अध्यक्ष पदमा उम्मेदवारी दिएपछि मजस्तै चारजना एनआरएनए अभियन्ता मित्रहरुले अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको यहाँहरुलाई विदितै छ । उहाँहरु चारैजना टोकियोबाट र म एकजना मात्र टोकियो बाहिर मोफसलबाट रहेँ । यसकारण मेरो उम्मेद्वारी मोफसलको बहुसंख्यक एनआरएनएहरुको प्रतिनिधित्व थियो । यही कुरा मैले मेरा प्रतिस्पर्धी मित्रहरुलाई राखेँ र एकपटक क्षेत्रलाई पनि अवसर दिन अनुरोध गरेँ । टोकियो बाहिर रहनुभएका एनआरएनहरुको एकमुष्ट भावनाको प्रतिनिधित्व गर्दै मैले गरेको अनुरोध उहाँहरुले सुन्नु भएन ।


त्यसो हुन नसकेपछि रातभरि मेरो मनमा कुराहरु खेले । एक मनले चुनावी मैदानमा पसिसकेपछि जित हार जे भए पनि मैदान नछोड्न सुझाव दियो । अर्को मनले जसरी पनि पदमा पुग्नुपर्ने, जसरी पनि चुनाव जित्नुपर्ने भन्दा असल राजनीतिक संस्कार स्थापित गर्नुपर्छ भन्यो । जापानको सबैभन्दा ठूलो संस्था, विश्वभर फैलिएको संस्थामा आवद्ध भएर समाजसेवा गर्न आखिर पद नै अन्तिम कुरा त होइन जस्तो लाग्यो । काम गर्न पद नै चाहिन्छ भन्ने छैन । हामी सामाजिक संस्थामा सबै मर्यादा र प्रतिष्ठा भुलेर लडिरहँदा यसले कस्तो सन्देश दिइरहेको हुन्छ, त्यसमा पनि सचेत रहनुपर्छ जस्तो लाग्यो । यो सोच्न सजिलो छ । तर, मुख्य कुरा त्याग हो । अर्ति धेरै दिन सक्छ तर, त्याग गर्ने कमै हुन्छन् । त्यही त्यागको अप्ठेरो तर पवित्र निर्णय लिनुपर्छ भन्ने मनले जित्यो ।


मलाई लाग्यो, अब सुरु आफैंले गर्नुपर्छ । चारैजना उम्मेदवारहरु राम्रो हुनुहुन्छ, सक्षम हुनुहुन्छ । मलाई विश्वास छ, ८ सेप्टेम्बरसम्म उहाँहरुले सल्लाह गरी सर्वसम्मत निर्णय गर्न सक्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु । यही मनसाय राखेर मैले अध्यक्ष पदमा दिएको उम्मेदवारी फिर्ता लिने निर्णय गरेको यहाँहरुलाई जानकारी गराउन चाहन्छु ।


यसबीचमा खासगरी एनआरएनए क्युसु क्षेत्रीय कमिटिले गर्नुभएको विशेष सहयोगको लागि आभार व्यक्त गर्दछु । यहाँहरुको माया, साथ र सहयोग मैले आजीवन भुल्नेछैन । यहाँहरुप्रति कृतज्ञ छ ।
चुनावहरु आउँछन्, जान्छन् तर, त्यसले दिने सन्देश र बसाउने संस्कार महत्वपूर्ण कुरा हो । त्यसैले भनिन्छ, सामान्य नेताले एउटा निर्वाचन र त्यसको परिणाम हेर्छ तर, राजनेताले अर्को पुस्ताको बारेमा सोच्छ । यसर्थ, चुनाव कसले जित्छ त्यो महत्वपूर्ण कुरा नहुनसक्छ ।

त्यो भन्दा चुनावले कति आशावादको सञ्चार गर्न सक्यो र नेपाली समुदाय र मातृभूमि नेपालको पक्षमा कति ताजा दृष्टिकोण निर्माण गर्न सक्यो भन्ने कुरा महत्वपूर्ण हुन्छ । कम्तिमा म यो कुरालाई दृढतापूर्वक विश्वास गर्दछु ।


म कुनै पदमा रहे पनि नरहने पनि नेपाली समुदायको हक, हित र अधिकारको लागि आवाज बुलन्द गरिरहनेछु । पैरवी गरिरहनेछु । हरेक गैरआवासायीय नेपालीले उठाउने सकरात्मक एजेण्डाको दृढ समर्थन र कार्यान्वयनको लागि तदारुकता देखाउनेछु भने गलत कार्यको निर्भिक भएर विरोध गरिरहनेछु । सबैलाई पुनः मुरीमरी धन्यवाद । चुनावी मैदानमा रहेका साथीहरुलाई असल राजनीतिक संस्कार देखाउन अपिल गर्दछु । फेरि पनि निर्विरोध निर्वाचित हुनुभएका साथीहरुलाई सफल कार्यकालको शुभकामना ।

प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

default-addImage
default-addImage