scheduleबिहिवार चैत्र २७ गते, २०७६

हाम्रो नेपाल हामी नेपाली अभियान, जापान : एक समीक्षा

धर्मराज अधिकारी
धर्मराज अधिकारी

हाम्रो नेपाल हामी नेपाली अभियान जापान अहिले चौथो वर्षमा चलिरहेको छ । छोटो समयको प्रयोग र अनुभवको समीक्षा गर्नुपर्दा यस अभियानले फुकुओकाम अवस्थित हाम्रो नेपाली समाजको स्थिर विकासको लागि आवश्यकता पर्ने पारस्परिक एकता, भाइचारा, सदाचार र सद्भावको सन्देश प्रवाह गर्न सानै र सीमितरुपमा भए पनि सफल भएको छ ।

यो छोटो समयमा अभियन गरेका विविध कार्यक्रम र यसले लिएको बाटोले फुकुओकामा मात्र सीमित नभई सम्पूर्ण जापानमा नै एकता र सद्भावको सन्देश सम्प्रेषण गरेको महसुस गरिएको छ । यसका लागि अभियानमा सहभागी सम्पूर्ण साथीभाइहरुको सक्रिय भूमिका, चिन्तन र व्यवहारलाई नै श्रेय जानेछ । हाम्रो नेपाल हामी नेपाली अभियान जापान एक चेतनामुलक अभियान भएको हुनाले र यसको संस्थागत स्वरूपमा सामान्य अवस्थाका गैरसरकारी संघसंस्थाभन्दा भिन्न स्वभाव र स्वरूपमा सञ्चालन हुँदै गर्दा यसले निर्वाह गरेको समन्वयमुखी एवं संयोजनकारी भूमिका अझ भनौं अभिभावकीय भूमिकाको नौलो प्रयोग भैरहेको सन्दर्भमा यस अभियानलाई अझबढी गतिशील स्थायी बनाउन सबैको सक्रिय र सकारात्मक सहभागिताको आवश्यकता देखिन्छ ।

अभियानले अहिलेसम्म गरेका कार्यक्रमहरु थोरै भएपनि आधारभूत र महत्वपूर्ण कार्यक्रम रहेको कुरामा दुईमत छैन । यसले आयोजना गरेका कार्यक्रमहरुले फुकुओकाको नेपाली समाजमा एकता, सचेतना र नवीनता दिन सफल भएको छ । तीनवटा विशाल र वृहद ओरिन्टेशन कार्यक्रम जसमा नेपाल /जापानका प्रख्यात व्यक्तित्वहरु केदारभक्त माथेमा, रवीन्द्र मिश्र, राजेश हमाल, भवन भट्ट, तानाका मासको, जिज्ञानकुमार थापा सहित दर्जनौं नेपाली तथा जापानी व्यक्तित्वहरुले प्रवासी नेपाली समाजको वर्तमान अवस्था र यसको भविस्यका विषयमा धरै-धेरै महत्वपूर्ण अभिव्यक्तिहरु दिनुका साथै हाम्रा युवाहरुलाई आफ्नो उज्ज्वल भविष्यप्रति प्रतिबद्ध रहन, कठोर परिश्रम गर्न र अनुशाशित हुन उत्प्रेरणा दिन सफल भएको छ ।

त्यस्तै, लगातार दुई वर्ष आयोजना गरिएको हाम्रो BBQ पार्टीले फुकुओका स्थित नेपाली समाजमा भाइचारा र सद्भावको सञ्चार गर्ने एउटा नवीन प्रयास भएको महसुस गरिएको छ । दुवैपटक सय जनाभन्दा बढी नेपालीहरुको सहभागिता रहेको BBQ मा साना-साना नानीबाबुहरुको उपस्थितिले पार्टीको वातावरणलाई रमाइलो बनाएको थियो ।अझ संक्षेपमा भन्नुपर्दा यो एउटा नेपाली परिवारको पारिवारिक BBQ जस्तो बनेको थियो । यो BBQ लाई अझ बढी रमाइलो र आनन्दमय बनाउन आउँदा दिनहरुमा विविध तथा रमाइला कार्यक्रमहरु सहितको व्यवस्थापनको प्रबन्ध गर्न आवश्यक महसुस पनि गरिएको छ । यो कार्यक्रममा सकेसम्म फ़ुकुओकामा रहनुभएको सबै नेपाली परिवारको सहभागितासहनुको साथै एउटा रमाइलो मिलन र पर्वको रुपमा विकास गरेर हाम्रा नेपाली परिवारको आपसी चिनजान, मित्रतालाई पारिवारिक वातावरणमा विकास गरी हाम्रो समाजलाई एउटा जिवन्त, न्यानोपन भएको नेपाली समाजको विकासमा योगदान पुर्‍याउने कुरामा यस अभियानले विश्वाश लिएको छ ।

अभियानको तेस्रो र अत्यन्त महत्वपूर्ण ठानिएको कार्यक्रम हो क्युशु समीट । गतवर्ष २०१८ फेब्रुअरीमा पहिलो क्युशु समीट भब्यताकासाथ सम्पन्न भएकोथियो। उक्त समिटमा क्युस्युमा अवस्थित सक्रिय लगभग १६ ओटा नेपाली संस्थाका नेतृत्वहरुको सहभागिता रहेको थियो ।उक्त समिटको आकर्षक पक्ष के छ भने सहभागी सबै संस्थाहरुले एउटै थलोमा बसेर आफ्नो कुरा र अरुको कुरा सुन्ने सुनाउने सुनौलो अवसर हो । कम्तिमा सबै साथीहरुले आफ्नो र अरुको संस्थाको भूमिका दायित्व र जिम्मेवारी के हो र त्यसको सम्पादन कति गर्न सकिएको छ र कति गर्न सकिएको छैन भन्ने कुराको आत्मा समीक्षा गर्ने सु-अवसर पनि मिलेको थियो। वास्तवमा यो क्युशु समिटको मूल उद्देश्य नै हामी सबैजना एकै ठाउँमा बसी हाम्रा राम्रा पक्ष र कमसल पक्षहरुको समीक्षा गर्दै सफल, सबल र अर्थपूर्ण संघ संस्था र तिनको कार्यक्रमहरु सञ्चालन हुन् सकोस्, जसले समग्र रुपमा नेपाली समाजलाई एकताबद्ध र अनुशासित बनाओस् भन्ने हो । अभियानको दोस्रो Kyushu Summit आगामी फेब्रुअरी २३ का दिन आयोजना गर्ने तयारी भैरहेको छ।

अन्तमा, हाम्रो नेपाल हामी नेपाली अभियान जापान एउटा सचेतनामुलक अभियान हो । यो समन्वय र संयोजनकारी अभियान पनि हो । यसले समाजमा भएका अरु संघ संस्थाहरुलाई सहयोग सुझाव गर्ने र सबैलाई आ-आफ्नो क्षेत्रमा सक्रीय रहन प्रेरित गर्ने र नेपाली समाजमा देखिएका समस्याहरुलाई समाधान गर्न सामूहिक प्रयत्न गर्ने वातावारणको विकास गर्ने अभियानको अभिप्राय रहेकोले अभियानमा सबै संघ संस्थाहरुको साथै अन्य सामाजिक भावना भएका व्यक्तिहरुको सक्रिय सहभागिताको अपेक्षा गरिएको छ । फुकुओकाको सन्दर्भमा यहाँ क्रियाशील NRNA Kyushu, Funeso, Friendship Lions Club, जनजाति महासंघ, जापान लोक सांस्कृतिक संघ तथा विभिन्न क्षत्रीय एवं जातीय समाजहरुका अगुवा वर्ग, स्कूल कलेजका शिक्षकहरु, व्यवसायी तथा समाजसेवीहरुको सक्रिय सहभागिता रहेको यस अभियानले फुकुओकमा एउटा अभिभावकको भूमिका खेलिरहेको छ।

प्रवासी नेपाली समाजले संसारका सबै ठाउँहरुमा केहि न केहि समस्याहरु भोगी रहेका छन् । यसको मात्रा र प्रकृति देश देश र शहर शहरमा फरक फरक  हुनसक्छ ।  हाम्रा संस्थाहरु पनि  सबै ठाउँमा  धेरै थोरै छन् तर, के तिनीहरुले त्यहाँको नेपाली समाजलाई एकताबद्ध पर्ने र त्यहाँ भएका नेपाली युवा तथा अन्य वर्गलाई सही बाटोमा हिड्नको लागि उत्प्रेरणा दिने वातावरणको निर्माण गर्ने कार्यक्रमहरुका साथै समाजमा देखिएका विकृति र विसंगतिका विरुद्धमा जनचेतना फैलाउने भूमिका खेल्न पर्ने आवश्यकता महशुस गरेका छन् ।

यस्तो सामूहिक प्रयासको ज्यादै कमि महसुस गरिएको छ । यसका लागि कुनै एउटा संस्थाले यो कार्य गर्न सक्दैन । सबैको सहयोग र सहभागिताको आवश्यक पर्दछ । त्यसैले हामी प्रवासी नेपाली समाजमा रहेका सबै संघ संस्थाहरुले एकै ठाउँमा बसेर चिन्तन मनन गर्ने र समस्याहरुको समाधान खोज्ने कार्य गर्ने संयन्त्रको विकास गर्न पर्ने यथार्थताले जापानको फ़ुकुओकामा सन् २०१६ मा स्थापना  गरिएको हाम्रो नेपाल हामी नेपाली अभियान, जापानलाई जापानका अन्य शहरहरुमा पनि विस्तार गर्दै यसको भूमिकालाई अझ बढी सक्रिय र गतिशील पर्दै बृहद प्रवासी नेपाली समाजलाई संयोजन र समान्वय  गर्दै हाम्रो नेपाल हामी नेपाली अभियानलाई एउटा सार्थक अभियानको रुपमा विकास हुनेछ भन्ने विश्वास गरिएको छ। 

(अधिकारी हाम्रो नेपाल हामी अभियान जापानका प्रमुख संयोजक हुन्)

२० जनवरी २०२०

प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

default-addImage
default-addImage