scheduleआइतवार चैत्र २३ गते, २०७६

ज्ञानेन्द्रको अभियानसँग नाम जुधेपछि जापानबाट यस्तो आपत्ति

धर्मराज अधिकारी

फुकुओका, २६ फागुन । हामो नेपाल हामी नेपाली अभियान, जापान प्रवासी नेपाली समाजलाई एकताबद्ध पार्ने, आपसी सद्भाव र भाइचाराको भावनाको विकास गर्दै हाम्रो नेपाल र हामी नेपालीको अन्तराष्ट्रिय समाजमा उच्च पहिचान र मर्यादाको विकास गर्ने पवित्र विचारले जापानको फुकुओका शहरमा बसोबास गर्ने नेपाली समाजले सन् २०१६ साल अगष्ट ७ तारिखबाट सुरुवात गरिएको सामाजिक अभियान हो ।

हाम्रो नेपाल हामी नेपाली अभियान, जापान अहिले आफ्नो ४ वर्षको कार्यकालमा चलिरहेको छ । यस अवधिमा युवा विद्यार्थीहरुको लागि तीनवटा बृहद अभिमुखीकरण कार्यक्रमहरु सपन्न भए । जसमा नेपालबाट आदरणीय व्यक्तित्वहरु श्रद्धेय केदार भक्त माथेमा, रवीन्द्र मिश्र, महानायक राजेश हमाल, भवन भट्ट र जिज्ञानकुमार थापाको आतिथ्यमा प्रशिक्षण दिनुको साथ साथै जापान सरकारका प्रतिनिधिहरु, जापान प्रहरी प्रशासनका प्रतिनिधिहरु, जापानका प्रख्यात विश्व विद्यालयका प्रोफेसरहरुबाट नेपाल र नेपालीहरुको विषयमा अत्यन्त उच्च स्तरको अभिव्यक्तिहरु व्यक्त भएको थियो ।

यसबाहेक यस क्षेत्रमा कार्यरत सबै नेपाली संघसंस्था र समाजहरुको बीचमा सहकार्य र सहयोगको वातावरण निर्माण गर्न क्युस्यु समिट, नेपाली समाज एकताको बृहत पारिवारिक BBQ, समाजमा घट्ने विभिन्न घटनाहरुमा निरन्तररुप एउटा अभिभावकीय भूमिका निर्वाह गर्दै नेपाली समाजको एउटा साझा चौतारीका रुपमा विकास भईरहेको एउटा सामाजिक अभियानको नाम हो हाम्रो नेपाल हामी नेपाली अभियान जापान ।

केहि दिन यता नेपाली सञ्चार मध्यमहरुमा र सामाजिक सञ्जालहरुमा हाम्रो नेपाल हामी नेपाली अभियानको एउटै नाममा ज्ञानेन्द्र शाहीले नयाँ अभियान शुरु गरेको समाचारले हाम्रो ध्यानाकर्षण भएको छ । उहाँले राष्ट्र र जनताका लागि गर्ने कुनै पनि कामका लागि हाम्रो कुनै आपत्ति छैन । तर, हामीले विगत ४ वर्षदेखि सञ्चालन गरिरहेको हाम्रो नेपाल हामी अभियान, जापानसँग दुरुस्त मिल्न गएकोमा हामीलाई आश्चर्य लागेको छ ।

यो केवल संयोग होला जस्तो हामीलाई लागेको छ । हामीले यस अभियानलाई विगत ४/४ वर्ष देखि सञ्चालन गर्दै आइरहेको सन्दर्भमा नेपालमा त्यहि नाममा अर्को अभियान शुरु हुँदा आम नेपाली जनमानसमा भ्रम र अन्योल सिर्जना हुने भएकोले हामी ज्ञानेन्द्र शाहीलाई यसै प्रेस विज्ञप्तिमार्फत् आफ्नो अभियानको नाम परिवर्तन गर्नको लागि विनम्र अनुरोध गर्दछौं ।

हाम्रो अभियान र ज्ञानेन्द्र शाहीले सुरुवात गर्नु भएको अभियानको उद्देश्य, चरित्र, स्वभाव र विचार फरक हुन सक्छ। हाम्रो अभियानको जन्म एउटा छुटै परिवेशमा भएको थियो । हाम्रो अभियान एउटा विशुद्ध सामाजिक अभियान हो । हाम्रो अभियान एउटा नेपाली समाजको साझा चौतारी हो ।

चिन्तन र चरित्रका लागि हाम्रो अभियान एउटा सन्देश हो । एकता सद्भाव र सहकार्यको लागि उत्प्रेरक हो । हामी पनि समाजमा विकृति र विसंगतिहरुको विरुद्धमा नै छौं । तर हाम्रो रणनीति सकारात्मक चिन्तन, मनन र प्रशिक्षणमा छ ।

त्यसैले समाजमा जन्म लिने विभिन्न अभियानहरुका आफ्नै विशिष्ट परिवेश र परिस्थितिहरु हुन सक्छन् । जनताका नाममा गरिने पवित्र कामहरुमा अन्योल र भ्रमहरु नहुने र आफ्नो काम गर्दा अरुको हक, हित र मर्यादामा असर नपर्ने गरी काम गर्नु हामी सबै सचेत नेपालीहरुको कर्तब्य हो । यस्तो आधारभूत मान्यतालाई कुनै पनि सामाजिक अभियानको न्यूनतम शर्तको रूमा मान्न सकिन्छ । यी नै कुराको प्रत्यभूतिका लागि सामाजिक अभियानको जन्म भएको हुन्छ ।

अन्तमा, हाम्रो नेपाल हामी नेपाली अभियान (जापान) आफ्नो लक्ष्यमा निरन्तर अघि बढिरहेको छ । यस अभियानको आफ्नै अस्तित्व र पहिचान बनिसकेको छ। यस अभियानसँग सम्वद्ध सम्पुर्ण अभियन्ताहरूका साथै आम नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा कुनै भ्रम र अन्यौल नपरोस र यस अभियानलाई सदा झै साथ सहयोगको लागि हार्दिक अनुरोध गर्दछौं ।

(हाम्रो नेपाल हामी नेपाली अभियान जापानद्वारा जारी प्रेस विज्ञप्ति)

प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

default-addImage
default-addImage