सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

असार १७ : केपी ओलीको हावादारी र उडन्ते 'भविष्यवाणी' !

असार १७ : केपी ओलीको हावादारी र उडन्ते 'भविष्यवाणी' !

साझा पोष्ट
शुक्रबार, असार १७ २०७९
  • images
    असार १७ : केपी ओलीको हावादारी र उडन्ते 'भविष्यवाणी' !
    images
    काठमाडौं । आज असार १७ अर्थात देशको सबैभन्दा ठूलो राजनीतिक दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका अनुसार राजनीतिक हिसाबले उथलपुथल दिन । ‘असारको महिना नेपालको राजनीतिमा उलटफेरवाला महिना छ । ग्रह दशाका हिसाबले असाधारण छ ।  भताभुंग हुने अवस्था छ । असार १७ गते के हुन्छ, त्यो कस्तो दिन हो, शेरबहादुर देउवा ज्योतिषमा खुबै विश्वास गर्नुहुन्छ, बोलाएर सोधे हुन्छ त्यो दिन के हुन्छ ।’ गत बैशाख २६ गते पत्रकार विजयकुमारको कार्यक्रम दिशा निर्देशमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यक्त गरेको भविष्यवाणी हो यो । बैशाख २४ गते विराटनगरमा भएको चुनावी सभामा पनि ओलीले त्यही कुरा दोहोर्याए, ‘शेरबहादुरजीलाई म भन्न चाहन्छु, तपाईं ज्योतिषमा धेरै विश्वास गर्नुहुन्छ’, ओलीले भने, ‘आउँदो असार १७ गते तपाईंका ग्रह–नक्षत्र कहाँ छन्, आफ्ना ज्योतिषीलाई हेर्न लगाउनु होला ।’ स्थानीय निर्वाचनको एक महिना पछिको दिन भएकाले राजनीतिक समिकरण फेरबदल हुनसक्ने, देउवा सरकार ढल्न सक्ने अनुमान गरिएको थियो । तर, केही असन्तुष्टि देखिएपनि असार १७ गते आइपुग्दा न देउवा सरकार ढल्यो, न ढल्ने सङ्केत नै  छ । सत्तारुढ गठबन्धन पनि कायमै छ । बरु ज्योतिषि सुरेशचन्द्र रिजालका अनुसार हिजोदेखि प्रधानमन्त्री देउवाको शुभ समय शुरु भएको छ । रिजाल तिनै ज्योतिषि हुन् जसले शेरबहादुर देउवालाई ७ पटक प्रधानमन्त्री हुने योग छ भनेका थिए । देउवा अहिले पाँचौ कार्यकालमा छन । ओलीका अनुसार त आजको दिन देउवा नेतृत्वको सरकार ढल्छ, गठबन्धन भित्रको एउटा दलले बलो र अर्कोले खाँबो लिएर हिड्छन गठबन्धन भातभुंग हुन्छ । तर अध्यक्ष ओलीले असार १७ गतेको दिन नै तोकेर असाधारण दिन भने । असार १७ गते (जुलाई १) शुक्रबार शुक्ल द्वितीया को दिन, आज के त्यस्तो उलटफेर होला ? धेरैलाई आश्चर्य लागेको थियो ।  यो टिप्पणी लेख्दाको समयसम्म कुनै त्यस्तो चमत्कार हुन सक्ने संकेत देखिएका छैनन् । हिजोको दिन जस्तो थियो, सामान्यतया आजको दिन पनि त्यस्तै नै छ । ज्योतिषीय हिसावले पनि त्यस्तो असाधारण केही छैन । ज्योतिषि रिजाल भन्छन्, ‘हिजोदेखि असार शुक्लपक्षको नवरात्र शुरु भएको छ । जुन समयमा प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ लिनु भएको थियो । त्यो राम्रो समय हो । अनि मंगलग्रहको राशि  परिवर्तन भएको छ । त्यसबाहेक अरु कुनै पनि परिवर्तन छैन ।’ केपी शर्माका बुबा मोहन प्रसाद बरु ज्योतिषि हुन् । केपी ज्योतिषि होइनन् । उनलाई देशले चिनेको एउटा राजनीतिज्ञ र ठूलो दलको माउ नेताको रुपमा हो ।  तर देशकै ठूलो पार्टीका अध्यक्ष र पूर्व प्रधानमन्त्रीजस्तो व्यक्तिले कुन आधारमा मिति नै तोकेर त्यस्तो भविष्यवाणी गरे भन्ने प्रस्ट हुन सकेको छैन । यसले राजनीतिक दलका नेताहरू वैचारिक धरातल शून्य भएपछि यस्तै उडन्ते कुरा गरेर मानिसको मष्तिस्कमा भ्रम छर्दा रहेछन् भन्ने पुष्टि  हुन्छ ।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार