शनिबार, जेठ ५ गते २०८१
Logo
शनिबार, जेठ ५ गते २०८१
images

इलामको उपचुनाव र राजनीतिक सन्देश

इलामको उपचुनाव र राजनीतिक सन्देश

शनिबार, वैशाख २२ २०८१
  • images
    इलामको उपचुनाव र राजनीतिक सन्देश
    images

    इलाम क्षेत्र नं. २ मा हालै सम्पन्न चुनाव एउटा सामान्य उपनिर्वाचन मात्र हो।तैपनि देशको राजनीतिमा त्यसले धेरै नै महत्त्व राख्दछ । त्यो चुनावको सबैभन्दा महत्त्वपूर्ण विशेषता यो हो कि त्यसमा, एकातिर, ‘स्वतन्त्र पार्टी’को जमानत जफत भयो भने, अर्कातिर राजावादी उम्मेदवार पनि नराम्ररी पराजित भए । त्यसका साथै जातिवादी उम्मेदवारको पनि पराजय भयो । चुनावको त्यो परिणामले त्यहाँका जनताको अमेरिकन साम्राज्यवादपरस्त, राजावादी र जातिवादीहरूका विरुद्ध पनि उच्च चेतना भएको कुरालाई बताउँछ । त्यहाँको चुनावमा भएको त्यस प्रकारको परिणामको लागि हामीले इलामका जनतालाई बधाई दिन्छौँ । तिनीहरूका विरुद्ध एमाले, माओवादी वा काङ्ग्रेसमध्ये जुनसुकै पक्षको जित भएको भएपनि त्यो सकारात्मक महत्त्वको कुरा हुन्थ्यो भन्ने सुरुदेखि नै हाम्रो मत रहेको थियो । का. चित्रबहादुर केसी र मैले कैयौँपल्ट यसप्रकारको विचार प्रकट गरेका थियौँ ।

    images
    images
    images

    एमालेसित राजनीतिक रूपले हाम्रा गम्भीर प्रकारका मतभेदहरू छन् । तैपनि त्यहाँका अवाच्छित प्रकारका उम्मेदवारको तुलनामा एमालेका उम्मेदवारको विजय भएकोमा प्रसन्नता प्रकट गर्दछौँ र विजयी उम्मेदवारलाई बधाई पनि दिन्छौँ । एमाले मात्र होइन, माओवादी वा नेपाली काङ्ग्रेसका उम्मेदवार विजयी भएको भएपनि हामीले त्यहीप्रकारको प्रसन्नता प्रकट गर्ने थियौँ, यद्यपि त्यहाँ माओवादीको कुनै उम्मेदवार थिएन ।

    images
    images

    यो आम रूपमा थाहा भएको कुरा हो कि कथित स्वतन्त्र पार्टी नेपालको राजनीतिको नै अत्यन्त अवाच्छित राजनीतिक ग्रुप हो । त्यसको कुनै दर्शन, सिद्धान्त, नीति वा कार्यक्रम पनि छैन र त्यसको कुनै राजनीतिक पृष्ठभूमि पनि छैन । आमजनतामा अझै पनि त्यो अमेरिकी साम्राज्यवादपरस्त तत्व भएको कुरामा धेरै भ्रम छ, तैपनि त्यो निश्चित रूपले नेपालमा अमेरिकी साम्राज्यवादको रणनीतिक उद्देश्य पूरा गर्न बनेको राजनीतिक ग्रुप हो । गतकालमा त्यसले चुनावमा जुन सफलता प्राप्त गर्यो , त्यो समर्थन जनताको त्यसप्रतिको राजनीतिक चेतनाका आधारमा प्राप्त समर्थन नभएर देशमा सत्तारूढ राजनीतिक पार्टी वा सङ्गठनहरूका गलत प्रकारका नीति, क्रियाकलाप वा भ्रष्ट गतिविधिका कारणले जनतामा पैदा भएको नकारात्मक भावनाहरूको नै परिणाम हो ।

    जनताका त्यस प्रकारका भावनाहरूलाई उभारेर त्यसले ०८४ को आमचुनावमा पनि बहुमत प्राप्त गर्ने र आफ्नै सरकार बनाउने दाबी गरिरहेको छ । यदि त्यस्तो भयो भने त्यसको परिणामस्वरूप नेपालमा सिधै अमेरिकी साम्राज्यवादको प्रभूत्व कायम हुनेछ र अमेरिकाको एमसीसी वा एसपीपी अन्तर्गत नेपाल अमेरिकाको सैनिक अखडा बन्न पुग्ने छ । त्यो बाहेक थोरै दिनमा नै त्यो ग्रुप ठूलो पैमानामा सहकारी रकमको हिनामिना गरेको भ्रष्ट कार्यका लागि पनि बदनाम भएको छ ।

    यो नेपालको राजनीतिको विडम्बना हो कि त्यस प्रकारको भ्रष्ट कार्यका लागि बदनाम व्यक्ति पनि देशको गृहमन्त्री बन्न पुगेको छ । निश्चय नै त्यसका लागि उनी मात्र जिम्मेवार छैनन् त्यसका लागि ती सबै राजनीतिक पार्टी, सङ्गठन वा नेताहरू पनि जिम्मेवार छन्, जसले त्यस प्रकारको व्यक्तिलाई उपप्रधानमन्त्री र गृहमन्त्री समेत बनाउन पुगे । त्यसका लागि इतिहासले उनीहरूसँग जबाफ माग्नेछ वा सायद दण्ड पनि दिनेछ । त्यो दण्ड कस्तो हुने छ ?  त्यो कुरा इतिहासले नै फैसला गर्ने छ ।

    त्यस प्रकारको अमेरिकापरस्त र भ्रष्ट व्यक्तिले चितवनका जनतालाई भ्रममा पार्न सफल भएका थिए । चितवनको लामो सङ्घर्षको इतिहास छ र त्यहाँका जनतामा उच्चप्रकारको राजनीतिक चेतना रहने गरेको छ । त्यही चितवनका जनता कसरी त्यस प्रकारको भ्रममा परे यो कम आश्चर्यको कुरा होइन । चितवनका जनतालाई त्यसरी भ्रम पार्न सफल भएको त्यो ग्रुपले इलाममा पुगेर नराम्ररी–जमानत समेत जफत भएर धक्का खानु परेको छ । यदि त्यहाँ कथित स्वतन्त्र पार्टीको उम्मेदवारको विजय भएको भए त्यसले देशमा धेरै नै भ्रम पैदा गर्दथ्यो र त्यसका गम्भीर प्रकारका राजनीतिक दुष्परिणामहरू पनि हुन सक्दथे । तर चितवनमा आएको त्यस प्रकारको बाढीलाई इलामका जनताले रोकिदिएका छन् ।

    माथि कथित स्वतन्त्र पार्टी, राजावादी र जातिवादी समेतका उम्मेदवारहरूलाई पराजित गरेकोमा हामीले एमालेका उम्मेदवारलाई बधाई दिने बेलामा ओलीको नेतृत्वमा एमालेले प्रतिगमनका पक्षमा काम गरेको तथा त्यसको चरित्र अधिनायकवादी प्रकारको भएको कुराप्रति पनि हाम्रो ध्यान छ । त्यसको त्यस प्रकारको भूमिका र चरित्रप्रति हाम्रो सम्झौताहीन प्रकारको सङ्घर्षको अडानलाई कायम राख्दै कोशी प्रदेशमा जातिवादका विरुद्ध त्यसले लिएको अडानलाई हामीले सकारात्मक रूपमा लिएका छौँ । प्रदेश नं. १ को कोशी प्रदेशको नामाकरणका विरुद्ध जातिवादी अभियान चल्दै आएको छ । त्यहीप्रकारको जातिवादी लहर सुदूरपश्चिममा पनि उठिरहेको छ ।

    जातिवादले निश्चित रूपले राष्ट्रलाई साम्प्रदायिक तनाव र विघटनको दिशामा लैजान्छ । सुदूरपूर्व वा सुदूरपश्चिमको त्यो जातिवादी लहरलाई नरोकेमा त्यसले देशव्यापी रूप लिने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । त्यसैले हाम्रो पार्टीले पहिलो संविधानसभाको बेलादेखि नै जातिवादको विरोध गर्दै आएको थियो र अहिले पनि  त्यो अडान कायम छ । यसका लागि पनि हामीले प्रसन्नता प्रकट गर्दछौँ कि एमालेले पनि सुरुदेखि नै जातिवादका विरुद्ध आवाज उठाउँदै आएको छ र कोशी प्रदेशमा उठेको जातिवादको लहरका विरुद्ध पनि दृढतापूर्वक उभिएको छ । तर माओवादी र नेकांभित्रको प्रतिपक्ष समेतले जातिवादलाई समर्थन गरेका छन् । त्यो अवस्थामा इलाम २ नम्बर क्षेत्रको चुनावमा जातिवाद पक्षीय उम्मेदवारको हारलाई पनि हामीले सकारात्मक रूपमा लिएका छौँ ।
    नेपालको संविधानमा गणतन्त्र र धर्मनिरपेक्षताको व्यवस्था भएदेखि नै राजावादीहरूले त्यसका विरुद्ध अभियान चलाउँदै आएका छन् ।

    गत चुनावमा, यद्यपि एमालेको समर्थनमा, संसदमा पनि उनीहरूले ठूलो सफलता प्राप्त गरेका थिए । हालसालैका महिनाहरूमा पनि उनीहरूले राजतन्त्रको पुनस्र्थापना तथा देशलाई हिन्दु राष्ट्र बनाउनका लागि आफ्नो गतिविधिलाई तीव्रता दिएका छन् । इलामको नजिकैको झापा उनीहरूको त्यस प्रकारको गतिविधिको एउटा प्रस्थानबिन्दु वा केन्द्र पनि बनेको थियो । पहिले राजावादीहरूलाई आफ्ना पक्षमा अभियान संचालन गर्न छद्म रूपले सक्रिय भएका पूर्वराजा अब ‘नागरिक अभिनन्दन’को नाममा देशव्यापी रूपमा नै गणतन्त्र र धर्मनिरपेक्षताका विरुद्ध तथा ०४६ भन्दा पहिले देशमा कायम भएको व्यवस्था, अर्थात् पञ्चायती तानाशाही व्यवस्थाको पुनस्र्थापनाका लागि प्रत्यक्ष रूपले नै सक्रिय भएका छन् । तर राजावादीहरू वा पूर्वराजाको त्यस प्रकारको भूमिकाका बाबजुद इलाम क्षेत्र नं २ को चुनावमा उनीहरूको उम्मेदवारको जमानत मात्र जफत भएन, निर्लज्ज प्रकारको हार पनि भयो । त्यसका लागि पनि  इलामका जनतालाई बधाई दिन्छौँ ।

    अन्तमा, माथि उल्लेखित विभिन्न कारणले इलामको क्षेत्र नं. २ को उपचुनावले नेपालको राजनीतिका लागि, खालि वर्तमानको लागि मात्र होइन, भविष्यका लागि पनि, ठूलो राजनीतिक महत्त्व राख्दछ । त्यहाँको चुनावले नेपालभरका जनतालाई ठूलो र ऐतिहासिक सन्देश दिएको छ । त्यसका लागि इलामका जनतालाई पुनःबधाई ।

    -लेखक नेकपा (मसाल)का महामन्त्री हुन् । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार