काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहित विपक्षी दलहरुले मुलुकको सीमा सम्बन्धमा प्रधानमन्त्री वालेन्द्र शाहले दिएको अभिव्यक्तिबारे सदनमै पुनः स्पष्ट पार्नुपर्ने माग गरेका छन्।
सभाको आजको बैठकको प्रारम्भमा विपक्षी दलका सांसद आफ्ना आसनबाट उठेपछि सभामुख डोलप्रसाद अर्यालले उनीहरुलाई आफ्ना धारणा सदनमा प्रस्तुत गर्न समय दिएका थिए। त्यसपछि बाेल्दै नेपाली कांग्रेसका रेनुका काउँचाले प्रधानमन्त्रीले संसद्मा स्पष्ट पार्नुपर्ने विषयहरु पार्टीको महाधिवेशनमा प्रस्तुत हुनुले सदनको गरिमा घटाएको टिप्पणी गरिन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का डा पुष्पराज कँडेलले पनि प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्नेमा जोड दिँदै सीमासम्बन्धी अभिव्यक्ति स्पष्ट पार्नुपर्ने बताए। उनले उक्त अभिव्यक्तिले भविष्यमा दुई देशबीच हुने वार्तामा नेपालको विपक्षमा प्रमाणको रूपमा काम गर्न सक्ने खतरा औंल्याउँदै प्रधानमन्त्रीले माफी माग्नुपर्ने र उक्त भनाइ संसदको अभिलेखबाट हटाउनुपर्ने माग गरे ।
नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण गर्नेतर्फ सरकारका प्रयास परिलक्षित हुनुपर्नेमा जोड दिए। उनले प्रदेशसभा खारेज गरी सङ्घीयताको पुनःसंरचना गर्ने सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको प्रस्तावप्रति विमति जनाए।
श्रम संस्कृति पार्टीका आरेन राईले राष्ट्रियतासँग सम्बन्धित विषयमा प्रधानमन्त्रीले सदनमा उपस्थित भएर स्पष्ट पार्नुपर्ने माग गरे।


