काठमाडौं, मंसिर ४ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्ने भएका छन् । शनिबार हुने फाइनलका लागि दुवै टोलीले आफ्नो तयारी पूरा भएको बताएका छन् ।
शुक्रबार आयोजित प्रि–म्याच पत्रकार सम्मेलनमा दुवै टोलीका कप्तानले उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिने बताएका हुन् । लुम्बिनीका कप्तान रोहितकुमार पौडेल र सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले फाइनललाई लिएर आफ्नो टोली उत्साहित र आत्मविश्वासी रहेको बताए ।
लुम्बिनीका कप्तान रोहितले तीन दिनको विश्रामपछि टोलीले राम्रो अभ्यास गरेको र सुधार गर्नुपर्ने पक्षमा काम गरेको जानकारी दिए । लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थानमा रहेको लुम्बिनीले फाइनलअघि पाएको विश्रामलाई सदुपयोग गरेको उनको भनाइ छ ।
रोहितले प्रतियोगितामा टोलीले हासिल गरेको जितको लयले आत्मविश्वास बढाएको बताए । कुनै पनि टिम खेलमा मोमेन्टम महत्वपूर्ण हुने उल्लेख गर्दै उनले अहिले लुम्बिनीले जुनसुकै परिस्थितिमा पनि जित्न सक्छौँ भन्ने आत्मविश्वास विकास गरेको बताए ।
यद्यपि, पछिल्लो प्रदर्शनकै आधारमा फाइनलको नतिजा अनुमान गर्न नमिल्ने उनको भनाइ छ ।
‘सुदूरपश्चिम पनि एकदमै राम्रो टिम हो । हामीले आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्नुपर्छ । फाइनलमा जुन टिमले राम्रो खेल्छ, त्यसैले जित्छ,’ रोहितले भने ।
यस सिजन लुम्बिनीले सुदूरपश्चिमलाई लिग चरण र पहिलो क्वालिफायरमा पराजित गरिसकेको छ । पछिल्ला तीन भेटमा लुम्बिनीले जित निकाले पनि त्यसले फाइनलमा कुनै अर्थ नराख्ने रोहितको तर्क छ ।
‘पछिल्ला तीन खेलमा हामीले सुदूरलाई जितेका छौँ, तर त्यसअघिका दुई खेलमा उनीहरूले पनि जितेका छन् । क्रिकेट हो, जे पनि हुन सक्छ,’ उनले भने ।
उता सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले पनि फाइनलका लागि आफ्नो टोली तयार रहेको बताए । लुम्बिनीको बलिङ आक्रमण राम्रो रहेको स्वीकार गर्दै उनले त्यसलाई सामना गर्ने रणनीति बनाइसकेको जानकारी दिए ।
‘उनीहरूको बलिङ अट्याक राम्रो छ । त्यसलाई कसरी खेल्ने भन्ने विषयमा टिम मिटिङमा योजना बनाइसकेका छौँ । त्यो कुरा धेरै नगरौँ, भोलि मैदानमै हेरौँ,’ दीपेन्द्रले भने ।
प्रतियोगिताका क्रममा विदेशी खेलाडी आउने–जाने क्रमले टोलीको सन्तुलनमा केही प्रभाव पारेको पनि उनले बताए । खेलाडी परिवर्तन हुँदा ब्याटिङ क्रम मिलाउन चुनौती भएको उनको भनाइ थियो । तर फाइनलका लागि उपयुक्त संयोजन बनाउने विश्वास उनले व्यक्त गरे ।
यसअघि विराटनगर किंग्ससँगको खेलमा भएको घटनाबारे सोधिएको प्रश्नमा दीपेन्द्रले पुरानो विषयलाई धेरै सोचेर फाइदा नहुने बताए । ‘त्यो एउटा खेल थियो, त्यतिबेलाको परिस्थितिमा त्यस्तो भयो । त्यो कुरा अब सकियो । पुरानो कुरा सोचेर फाइदा छैन, अगाडि बढ्नुपर्छ,’ उनले भने ।
लगातार दोस्रो पटक उपाधि भिडन्त
एनपीएलको तेस्रो संस्करणको फाइनलमा लुम्बिनी र सुदूरपश्चिम लगातार दोस्रो पटक आमनेसामने हुन लागेका हुन् । अघिल्लो संस्करणको फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो ।
यसपटक पनि लुम्बिनी उपाधि रक्षा गर्ने लक्ष्यमा छ । जारी प्रतियोगिताको लिग चरणमा ११ अंकसहित शीर्ष स्थानमा रहेको लुम्बिनीले अहिलेसम्म एउटा मात्र खेलमा हार बेहोरेको छ ।
सुदूरपश्चिम भने लगातार तेस्रो पटक फाइनल पुगेको हो । यसअघि पहिलो संस्करणमा जनकपुर बोल्ट्स र दोस्रो संस्करणमा लुम्बिनीसँग पराजित भएको सुदूरपश्चिम यसपटक पहिलो पटक उपाधि जित्ने लक्ष्यमा छ ।
सुदूरपश्चिमले बिहीबार भएको दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई तीन विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । त्यसअघि पहिलो क्वालिफायरमा लुम्बिनीसँग पराजित भएपछि उसले दोस्रो क्वालिफायर खेल्नुपरेको थियो ।
ड टु हेडमा लुम्बिनी अगाडि
एनपिएलमा हालसम्म भएका ५ भेटमध्ये लुम्बिनीले ३ र सुदूरपश्चिमले २ खेल जितेका छन्। यस आधारमा लुम्बिनी हेड टु हेडमा अगाडि छ।
यो संस्करणमा मात्रै यी दुई टोलीबीच ३ पटक प्रतिस्पर्धा हुन लागेको हो। उद्घाटन खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले हराएको थियो। पहिलो क्वालिफायरमा पनि लुम्बिनी ६ विकेटले विजयी भएको थियो।
अघिल्लो संस्करणको फाइनलमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले नै पराजित गर्दै उपाधि जितेको थियो। तर गत वर्ष लिग चरणको खेलमा सुदूरपश्चिमले ७ विकेटको जित निकालेको थियो।
पहिलो संस्करणको लिग चरणमा पनि सुदूरपश्चिमले लुम्बिनीलाई ४५ रनले पराजित गरेको थियो।
अब शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे हुने फाइनलले लुम्बिनीले उपाधि रक्षा गर्नेछ वा सुदूरपश्चिमले पहिलो पटक च्याम्पियन बन्ने इतिहास रच्नेछ भन्ने टुंगो लगाउनेछ ।



