काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा फेरी बढाएको छ । यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका सवारीको भाडादर बढेको जानकारी गराएको हो ।
जेठ ११ मा मात्रै विभागले गाडी भाडा २ प्रतिशत घटाएको थियो । नेपाल आयाल निगमले डिजेलको मूल्यमा एकै पटक १२ रुपैयाँ बढाएपछि सरकारले गाडी भाडा समेत बढाउने निर्णय लिएको हो ।
इन्धनको मूल्य थपघटका आधारमा एकै पटक ५ प्रतिशतले बढेमा वा घटेमा भाडा समायोजना गर्ने नीति रहेको समेत विभागले जनाएको छ ।
यात्रुबाहक सवारीको हकमा २.५ प्रतिशत भाडा बढेको छ । पहाडी बाटोमा चल्ने मालबाहक सवारीको हकमा ३.३ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीमा ३.७ प्रतिशत मूल्य बढेको विभागले जनाएको छ ।