काठमाडौँ । सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका लागि ११ अर्ब ९६ करोड छुट्याएको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले पशुपतिनाथको गुरुयोजना अघि बढाइने र बुद्ध सर्किट बनाउने बताए ।
यस्तै ऐतिहासिक र परात्वात्विक सम्पदाको संरक्षण गर्न बजेटको व्यवस्था गरिने पनि अर्थमन्त्रीले बताए । यस्तै नुवाकोट दरबारलगायतका २५ वटा सांस्कृतिक सम्पदाको पुनर्निर्माण आगामी आर्थिक वर्षमा सम्पन्न गरिने अर्थमन्त्रीले जानकारी दिए । नयाँ पर्यटकीय गन्तव्य विकास र विस्तारका लागि २ अर्ब १३ करोड बजेट विनियोजन गरिएको छ ।
सरकारले वन तथा वातावरण क्षेत्रमा १५ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।अर्थमन्त्री महतले वन, जैविक विविधता र जलाधार व्यवस्थापन मार्फत वातावरणीय सन्तुलन कायम गरिने बताएका छन् ।
वन सम्पदाको दिगो उपयोग र वनजन्य उद्यम विकास गर्दै राष्ट्रिय अर्थतन्त्रमा यसको योगदान बढाइने उनले बताए । संरक्षित क्षेत्र र सामुदायिक वनलाई पर्या–पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने उल्लेख छ।राष्ट्रपति चुरे संरक्षण कार्यक्रम मार्फत संघ, प्रदेश र स्थानीय तहको सहभागितामा चुरे संरक्षणको गुरुयोजना कार्यान्वयन गरिने महतले बताए ।