काठमाडौं । भिजन लुम्बिनी ऊर्जा कम्पनीले सर्वसाधारणका लागि बिहीबारदेखि प्राथमिक सेयर (आईपीओ)मा आवेदन खोलेको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले नकिनेको सेयरसमेत थपेर कुल २० लाख ७५ हजार २८५ कित्ता सेयर सर्वसाधारणलाई खुला गरेको हो ।अंकित मूल्य १ सयका दरले कम्पनीको आईपीओ खुलेको छ । कात्तिक २० गतेसम्म आईपीओमा आवेदन दिन सकिनेछ ।
यसअघि आयोजना प्रभावित स्थानीयले नकिनेको ४ लाख ८७ हजार ९१० कित्ता सेयर थप गरी कम्पनीले सर्वसाधारणलाई निष्कासन गरेको हो ।आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ३ लाख ८० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । सीडीएससीको मेरो सेयर अनलाइन प्रणालीबाट आवेदन दिन सकिनेछ ।
कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपलिकामा २५ मेगावाटको सेती नदी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कुल अनुमानित लागत ५ अर्ब २० करोड रुपैयाँ रहेको र प्रतिमेगावाट कुल अनुमानित लागत २० करोड ८० लाख रुपैयाँ छ ।