काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव विदेश भ्रमण छोट्याएर स्वदेश फर्किएका छन् । आफू विदेशमै भएको बेला अशोक राईको नेतृत्वमा बहुमत सदस्यले पार्टी फुटाएपछि यादव भ्रमण छोट्याएर गएराति फर्किएका हुन् ।
कतार एयरवेजको जहाजबाट राति १ बजेतिर त्रिभुवन विमानस्थल उत्रिएका यादवलाई पार्टीका नेता, कार्यकर्ता र मन्त्रालयका अधिकारीले स्वागत गरे । उनी न्यूयोर्कस्थित यूएन सेक्रेटरियटमा आयोजित विश्व जनसंख्यासम्बन्धी सम्मेलनमा भाग लिन गत शनिबार त्यता गएका थिए ।
यादवले संसदीय दलको बैठक बोलाएका छन् । बैठक केहीबेरमा बस्नेछ । अशोक राईले प्रतिनिधिसभाका १२ मध्ये ७ सांसद र ३० केन्द्रीय सदस्यको हस्ताक्षरमा नयाँ पार्टी जसपा दर्ता गरिसकेका छन् । अब उपेन्द्रसँग प्रतिनिधिसभामा ५ जनामात्रै सांसद छन् ।