न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा नेपाली मेला सम्पन्न भएको छ । शनिबार ज्याक्सन हाईट्को सडक बन्द गरी 'हिमालयन स्ट्रीट फेयर एवं हाम्रो मेला' आयोजना गरिएको हो ।
नेपाली खाना, मौलिक वस्तुका साथै विभिन्न स्थानीय सामाग्रीका ३७ वटा स्टल राखिएको मेला हेर्न घुईंचो लागेको थियो । नेपाली सागीतिक क व्याण्ड एवं स्थानीय नेपाली मूलका कलाकारहरुले आफ्नो प्रस्तुति दिएको मेलामा नेपाली एवं स्थानीय अमेरिकी नागरिकको बाक्लो उपस्थिति थियो । मेला स्थानीय सरकारका प्रतिनिधि, राज्यसभा सांसदलगायतले अवलोकन गरेका थिए ।

निम्जी, ओम र दिपेनको आयोजना, न्यूयोर्क राज्यका सांसद स्टेभन रागा र क्वीन्स नगर अध्यक्ष डोनोभान रिचार्डस् जुनियरको सह प्रायोजन एवं नेपाल सरकार, पर्यटन प्रवद्र्धक, न्यूयोर्कको सहकार्यमा हाम्रो मेला सम्पन्न भएको हो । मेलाका लागि एनवाई नेपाली कामपोष्ट र च्याम्पिएन मार्सल आर्टस् क्लवले पनि सहकार्य गरेका थिए ।

नेपालको पर्यटन प्रवद्र्धन, अमेरिकामा नेपाली बस्तुहरुको पहुँच एवं स्थानीय नेपाली व्यवसायको प्रवद्र्धनका लागि मेलाको आयोजना गरिएको आयोजक दिपेन्द्र लामाले बताए । मेलाले नेपाली व्यवसायी एवं नेपालका मौलिक वस्तको व्यवसायलाई प्रत्यक्ष फाईदा हुने लामाले विश्वास व्यक्त गरे ।

मेलाले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको न्यूयोर्कका लागि नेपाल सरकारका प्रर्यटन प्रवर्द्धक गोकुल श्रेष्ठले दावी गरे । मेलामा प्रदर्शन गरिएका वस्तु एवं नेपालको मौलिक खानाले स्थानीय नागरिकलाई आकर्षित गरेको प्रवर्द्धक श्रेष्ठले बताए । मेलामा नेपाल सम्बन्धी विभिन्न जानकारी मुलक पुस्तक वितरण गरिएको थियो ।





तस्बिर सौजन्यः न्यूयोर्कस्थित नेपाल सरकारका प्रर्यटन प्रवर्द्धक गोकुल श्रेष्ठ ।



