२०८३, असोज २४ गते

शनिबार, असोज २४ गते २०८३

शनिबार, असोज २४ गते २०८३

बालेनलाई गगनको सुझावः राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रस्तुत हुनुस्, सचिवालयको मात्रै भर नपर्नुस्

बालेनलाई गगनको सुझावः राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रस्तुत हुनुस्, सचिवालयको मात्रै भर नपर्नुस्

साझा पोष्ट
आइतबार, भदौ २१ २०८३
  • images
    images
    बालेनलाई गगनको सुझावः राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रस्तुत हुनुस्, सचिवालयको मात्रै भर नपर्नुस्

    काठमाडौं,भदौ २१ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी संयुक्त राष्ट्रसंघको महासभामा नेपालको प्रस्तुती तथ्यपरक, वैज्ञानिक र परिणाममुखी हुनुपर्ने बताएका छन्।


    images

    आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै सभापति थापाले प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न विदेश भ्रमणलाई केवल औपचारिकतामा सीमित नगर्न सुझाव दिए।

    थापाले नेपालले जलवायु परिवर्तनका कारण भोग्नुपरेका समस्याहरूलाई विश्व मञ्चमा सशक्त ढंगले उठाउनुपर्ने बताए। विशेषगरी भोटेकोसीमा आएको बाढी जस्ता प्राकृतिक विपत्तिहरूलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले नेपालको न्यून हरित ग्यास उत्सर्जनका बावजुद भोग्नुपरेको क्षतिलाई वैज्ञानिक प्रमाणका साथ अन्तर्राष्ट्रिय समुदायमा लैजानुपर्नेमा जोड दिए। 

    प्रधानमन्त्रीलाई सुझाव दिँदै थापाले केवल आफ्नो सचिवालयको भर नपरी विज्ञहरू, विश्वविद्यालयका अनुसन्धानकर्ता र सम्बन्धित क्षेत्रका विशेषज्ञहरूसँग परामर्श गर्न आग्रह गरे। उनले नेपालभित्र र बाहिर रहेका दक्ष जनशक्तिलाई परिचालन गरी नेपालको प्रस्तुतीलाई प्रभावकारी बनाउन सकिने सम्भावना रहेको बताए।

    सभापति थापाले यसअघिका सरकार र प्रधानमन्त्रीहरूले अन्तर्राष्ट्रिय मञ्चहरूमा निर्वाह गरेको भूमिका र उठाएका एजेण्डाहरूलाई पनि अध्ययन गर्न सुझाव दिए। 

    सभापति थापाले भने, ‘हामीले वर्षौँदेखि जलवायु परिवर्तनको मारमा परेको कुरा उठाउँदै आएका छौँ, तर अबका दाबीहरू वैज्ञानिक अध्ययनमा आधारित हुनुपर्छ। नेपालले हानि र नोक्शानीको मुद्दा मात्र नभई अनुदानमा आधारित जलवायु वित्तका लागि पनि कडा लबिङ गर्नुपर्छ। यो भन्दा अगाडि पनि प्रधानमन्त्रीहरू महासभामा जानुभएको छ, हिमालदेखि महासागरसम्मका कुरा उठेका छन्। पूर्वप्रधानमन्त्रीको कार्यकालमा कोप–२८ मा भएका पहलहरू र अन्य अन्तर्राष्ट्रिय मञ्चमा उठाइएका ‘क्लाइमेट जस्टिस’ का विषयहरूलाई निरन्तरता दिँदै अहिलेको तयारीलाई थप मजबुत बनाइनुपर्छ।’

    उनले प्रधानमन्त्रीको महासभा सहभागितालाई ‘ग्राण्ड शो’ को रूपमा मात्र नलिन र देशका लागि ठोस उपलब्धि हासिल गर्ने अवसरका रूपमा सदुपयोग गर्न सरकारको ध्यानाकर्षण गराए। सही तयारी र विज्ञहरूको परामर्शका आधारमा प्रस्तुत भए नेपालले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो मुद्दालाई थप स्थापित गर्न सक्ने थापाको भनाइ छ। 

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार