काठमाडौं, मंसिर ११ । प्रहरी हिरासतमा रहेका इनम सापकोटाको जीवनरक्षाका लागि राष्ट्रिय मानव मानव अधिकार आयोगमा निवेदन परेको छ।
शुक्रबार सापकोटाका तर्फबाट उनकी पत्नी कविता पाण्डेले आयोगमा निवेदन दिएकी हुन्।
‘गोपनीयताको हकलाई समेत हनन गर्ने गरी नियोजित रुपमा ममाथि गैरकानुनी कार्य गरिरहेकाले संलग्न व्यक्तिहरू पहिचान गरी आवश्यक कारबाही गरि पाउँ,’ निवेदनमा भनिएको छ, ‘मेरो र मेरो परिवारको जिउ ज्यानको रक्षा गरि पाउँ।’
उनले आफूलाई पक्राउ गरेपछि धाकधम्की दिएर बयान लिइएको उल्लेख गरेका छन्। उनलाई गत असोज १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो।
विमानस्थलबाट पक्राउ गरेपछि गाडीमा राखेर आँखामा पट्टी लगाएर लगिएको निवेदनमा उल्लेख गरिएको छ। ‘बोर्डिङ पास लिएर अन्तिम सुरक्षा जाँच स्थलमा पुग्दा प्रहरीले मलाई त्यहाँबाट नियन्त्रणमा लिई मसँग भएको दुई वटा मोबाइल फोन खोसेर लिई विमानस्थलबाट निकाली गाडीमा राखी आँखामा पट्टी लगाई लिएर गएका थिए,’ उनले भनेका छन्।
त्यसपछिका दुई दिन अज्ञातस्थलमा राखेर सोधपुछ गरिएको उनले बताएका छन्। सोधपुछका क्रममा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालगायतका व्यक्तिविरुद्ध बयान दिन लगाइएको उनले निवेदनमा उल्लेख गरेका छन्।
‘सोधपुछको क्रममा तिमीविरुद्ध हाम्रो व्यक्तिगत केही छैन भन्दै पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, उनका भाइ तथा छोरा, राजनीतिक दल नेपाली कांग्रेसका सभापति गगन थापा, कांग्रेसका नेता तथा व्यवसायी उमेश श्रेष्ठ, भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ, हिमालय होटलका नविन तुलाधर, सर्वोच्च अदालतमा कार्यरत केही श्रीमानहरूविरुद्ध प्रमाण र बयान दिए छाडी दिने नत्र म मात्रै हैन, मेरो परिवारलाई समेत नराम्रो हुन्छ भनी धम्की दिइयो,’ उनले भनेका छन्।
जसका विरुद्ध बयान लिन लगाइयो, तिमध्ये केही चिनजानको र केही आफ्नो गुरु भएको उनले बताएका छन्। त्यतिबेला आफूले पटकपटक घरपरिवारसँग सम्पर्क गराउन आग्रह गर्दा पनि नमानेको उनले निवेदनमा खुलाएका छन्।
जति गर्दा पनि आफूले कसै विरुद्ध बयान दिन नखोजेको उनले भनेका छन्। त्यसक्रममा उनीहरूले आफूलाई तर्साउने, धम्क्याउने र यातना दिने कार्य गरेको इनमले निवेदनमा उल्लेख गरेका छन्।
‘मैले नमान्दा निजहरूले लामो समयसम्म जेल बस्ने गरि झुटा मुद्दा लगाउने, मेरो तथा मेरो परिवारकै जिउ ज्यानमै खतरामा पार्ने र सम्पूर्ण घरपरिवारलाई नै समस्या हुने भनी मानसिक यातना दिइरहे,’ उनले भनेका छन्।
आफूले जति गर्दा पनि कसैविरुद्ध बयान नदिएपछि केही लेखेको कुरा पढ्न लगाएको उनले निवेदनमा उल्लेख गरेका छन्। ‘तत्पश्चात निजहरूले धेरै कुरा बोल्न पर्दैन, हामीले यहाँ लेखेको कुरा पढ्नुस्। अनि यसमा तपाईंको सहमति भए कागज गराई छोडीदिन्छौं भनि एकातिरको आँखाको पट्टीमाथि सारी सबैले सुन्ने गरी पढ्नुस् भनेकाले मैले सोही बमोजिम पढेको थिएँ,’ उनले भनेका छन्।
त्यसपछि पढेको कागजमा सही गर्न भनेको उनले बताएका छन्। तर, आफूले जानकारी नै नभएको कुरामा सही गरेको आयोगमा दिएको निवेदनमा भनेका छन्।
उनले आफूलाई पढ्न लगाएको र सोही कुरा रेकर्ड गरेर सार्वजनिक गरिएको जिकिर गरेका छन्। ‘प्रहरीले उक्त अडिओ परीक्षणको नाममा मलाई फेरि स्वर तपाईंको हो होइन भनी सोधपुछ गरेको र उक्त आवाज आफ्नै जस्तो रहेको तर भनेका कुराहरू याद नभएको भनि उल्लेख गरी बयान लिएको छ,’ उनले भनेका छन्।
अहिले त्यही अडिओका आधारमा बयान दिनुपर्ने भनेर मानसिक दवाव र यातना दिइँदै आएको इनमले निवेदनमा गुनासो गरेका छन्। ‘मलगायत मेरो परिवारको जिउ ज्यान र स्वतन्त्रमाथि नै आघात पु¥याउनेसम्मको धम्की दिएकाले लामो समयदेखि म तनावमा रहेको छु,’ उनले भनेका छन्।
यस विषयमा अध्ययन अनुसन्धान गर्न उनले आयोगलाई आग्रह गरेका छन्। यससँगै आफूलाई फसाउन झुटा प्रमाण सिर्जना गर्नेहरूमाथि कारबाहीको लागि माग गरेका छन्।
‘अनुसन्धानका प्रमाणहरू र सो सम्बन्धी सामग्रीहरू एवं झुटा प्रमाण सिर्जना गर्ने र बाहिर चुहाउने अनुसन्धानमा कार्यरत तथा अन्य सम्बन्धित व्यक्तिहरू समेत उपर अनुसन्धान गरी कानुन बमोजिम सजायको लागि सिफारिश गरि पाऊँ’ इनमको निवेदनमा भनिएको छ।



