काठमाडौं, असोज १४ । नेकपाका नेता तथा पूर्व सांसद घनेन्द्र बस्नेतको निधन भएको छ । २०३३ सालमा झापा आन्दोलनका तत्कालीन अगुवा सिपी मैनालीसहितका नेताहरुसँग मिलेर नख्खु जेल ब्रेक गर्नेमध्येका एक बस्नेत केही समयदेखि क्यान्सर रोगबाट पीडित थिए ।
भोजपुर स्थायी घर भएका बस्नेत एमाले विभाजनपछि बनेको नेकपा समाजवादीका पूर्व वरिष्ठ नेता पनि थिए । भक्तपुरस्थित क्यान्सर अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । नेता बस्नेतको विहिबार विहान ८ बजेपछि पशुपतीस्थित आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने छ । बस्नेत जनअधिकारका लागि झण्डै १७ वर्ष जेल बसेका थिए ।
यसैबीच, एमाले अध्यक्ष केपी शर्मा ओलीले शोक वक्तव्य जारी गर्दै बस्नेतप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।



