काठमाडौं, कात्तिक १४ । देशभर सक्रिय रहेको न्यून चापीय प्रणालीको प्रभाव कमजोर हुँदै गएपछि शनिवार दिउँसोदेखि नेपालको मौसममा क्रमिक सुधार आउने भएको छ ।
केही दिनयता भारी वर्षा गराइरहेको उक्त प्रणालीका कारण जनजीवन प्रभावित बने पनि आगामी २४ घण्टाभित्र मौसममा थप सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा मध्यमदेखि भारी वर्षा मापन गरिएको छ । विशेषगरी मनाङको ताल मौसम मापन केन्द्रमा १२४।२ मिलिमिटर वर्षा रेकर्ड भएको छ भने गण्डकी प्रदेशका पहाडी भू–भागमा भारी वर्षा भएको छ ।
यद्यपि, लुम्बिनी, सुदूरपश्चिम तथा कोशी र मधेस प्रदेशका पूर्वी भेगमा बिहानैदेखि मौसममा सुधार आउन थालेको छ ।
हाल बागमती, गण्डकी, कर्णाली र कोशी प्रदेशका केही पहाडी क्षेत्रमा भने आंशिकदेखि सामान्य बदली रही काठमाडौं, ललितपुर, दोलखा र सङ्खुवासभा आसपासमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसमविद् रोजन लामिछानेकाअनुसार बङ्गालको खाडीमा बनेको चक्रवातको अवशेषका रूपमा रहेको न्यून चापीय प्रणाली कमजोर भएसँगै आज साँझसम्म प्रभाव निकै कम हुनेछ ।
आगामी २४ घण्टाको प्रक्षेपणअनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा हल्का वर्षाको सम्भावना रहे पनि सुदूरपश्चिम र मधेस प्रदेशका अधिकांश स्थानमा मौसम सामान्य रहनेछ । हिमाली क्षेत्रमा भने केही स्थानमा हल्का हिमपात वा वर्षा हुन सक्नेछ । आइतबार र सोमवारतिर मौसम थप सफा रहने र खासै ठूलो मौसमी प्रभाव नदेखिने विभागले जनाएको छ । यद्यपि, कृषि तथा पर्यटन क्षेत्रमा अझै केही प्रभाव पर्न सक्ने भएकाले सर्वसाधारणलाई अद्यावधिक मौसमी सूचनामा रहन आग्रह गरिएको छ ।



