२०८३, मंसिर ७ गते

आइतबार, मंसिर ७ गते २०८३

आइतबार, मंसिर ७ गते २०८३

शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गरौँ : प्रचण्ड

शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गरौँ : प्रचण्ड

'विस्तृत शान्ति सम्झौताको मर्म द्वन्द्वको अन्त्य मात्र थिएन'

साझा पोष्ट
शनिबार, मंसिर ६ २०८३
  • images
    शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गरौँ : प्रचण्ड
    images

    काठमाडौं, मंसिर ५ ।  नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत शान्ति सम्झौताको मर्म सशस्त्र द्वन्द्वको अन्त्यमा मात्र सीमित नरहेको बताएका छन् ।


    images

    शान्ति सम्झौताको २० वर्ष पूरा भएको अवसरमा सन्देश दिँदै प्रचण्डले सम्झौताको मूल उद्देश्य राजनीतिक, सामाजिक, आर्थिक तथा मानवीय रूपान्तरणमार्फत न्यायपूर्ण, समावेशी र दिगो समाज निर्माण गर्नु रहेको बताएका हुन् ।

    विस्तृत शान्ति सम्झौता भएको ऐतिहासिक दिनको अवसरमा  विज्ञप्ति जारी गर्दै उनले भनेका छन्– 'शान्ति सम्झौताको मर्म भनेको द्वन्द्वको अन्त्य मात्र होइन, पीडितलाई न्याय, समाजमा मेलमिलाप, दिगो शान्ति र सुशासनसहितको समृद्ध राष्ट्र निर्माण पनि हो। त्यसैले सङ्क्रमणकालीन न्यायको प्रक्रियालाई पीडितको भावना र शान्ति सम्झौताको मूल मर्मअनुसार निष्कर्षमा पुर्‍याउनु आजको राष्ट्रिय आवश्यकता हो।'

    उनले थप लेखेका छन्– 'ऐतिहासिक शान्ति सम्झौतामा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा (माओवादी) का अध्यक्षका रूपमा मैले हस्ताक्षर गरेका थियौँ। यो केवल दुई पक्षबिचको सम्झौता थिएन, बरु नेपाली जनताको त्याग, बलिदान, सङ्घर्ष र परिवर्तनको आकाङ्क्षाबाट निर्मित राष्ट्रिय सहमतिको ऐतिहासिक दस्ताबेज थियो।'

    उनले विस्तृत शान्ति सम्झौता नेपालको राजनीतिक इतिहासमा महत्वपूर्ण मोड भएको उल्लेख गर्दै यसले हिंसा र द्वन्द्वको अन्त्यसँगै नयाँ राजनीतिक व्यवस्थाको आधार तयार गरेको बताएका छन् ।

    प्रचण्डका अनुसार शान्ति सम्झौताको मूल भावना समानतामूलक, लोककल्याणकारी र भ्रष्टाचारमुक्त समावेशी गणतन्त्र स्थापना गर्नु हो । त्यसका लागि सामाजिक न्याय, आर्थिक समानता, सुशासन र समृद्धिका मुद्दालाई सम्बोधन गर्न आवश्यक रहेको उनले बताएका छन् ।

    उनले नेपालमा सामन्तवादको अन्त्य, संघीयता, समावेशिता, धर्मनिरपेक्षता र लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणमा शान्ति सम्झौताको महत्वपूर्ण भूमिका रहेको पनि उल्लेख गरेका छन् ।

    प्रचण्डले पछिल्लो पुस्ता विशेषगरी जेनजी युवाहरूले उठाएका आवाजलाई पनि शान्ति सम्झौताको मूल भावना र आकांक्षासँग जोडेर हेर्नुपर्ने बताएका छन् ।

    'शान्ति सम्झौताको आत्माअनुरूप शासकीय प्रणाली, शासन सञ्चालन तथा संविधानको आवश्यक परिमार्जन गर्न सके मात्र युवाहरूको आकांक्षाको सम्बोधन हुन सक्छ भन्ने दृढ विश्वास छ,' उनको भनाइ छ ।

    उनले ऐतिहासिक शान्ति सम्झौताको मर्मअनुसार मुलुकमा देखिएका वर्तमान राजनीतिक, सामाजिक तथा आर्थिक समस्याको समाधानका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

    २०६३ मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र तत्कालीन नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो ।

    सम्झौतासँगै २०५२ सालदेखि सुरु भएको एक दशक लामो सशस्त्र द्वन्द्व औपचारिक रूपमा अन्त्य भएको थियो । त्यसपछि संविधानसभा निर्वाचन, माओवादी लडाकुको व्यवस्थापन र नयाँ संविधान निर्माण हुँदै मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा प्रवेश गरेको थियो ।

    तर शान्ति सम्झौताले परिकल्पना गरेको सङ्क्रमणकालीन न्यायको प्रक्रिया भने अझै पूर्ण रूपमा टुंगिन सकेको छैन । द्वन्द्वपीडितलाई सत्य, न्याय र परिपूरण उपलब्ध गराउने विषय शान्ति प्रक्रियाको महत्वपूर्ण बाँकी कार्यभारका रूपमा रहेको छ ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार