काठमाडौं । अटोमोइल्स एसोसिएसन अफ नेपाल (नाडा)को अध्यक्ष करण चौधरीलाई बनाउने सहमति भएको छ । आकाश गोल्छा र प्रकाश कपुरी समेत प्रतिस्पर्धामा रहेकोमा चौधरीलाई बनाउने सर्वसम्मत निर्णय गरिएको नाडाले जनाएको छ।
लामो प्रयासपछि मंगलबार साँझ बसेको पूर्व अध्यक्षहरूसमेतको बैठकले सहमति गराउन सफल भएको नाडाका अध्यक्ष ध्रुव थापाले जानकारी दिए। थापाका अनुसार अर्को पटक अध्यक्षमा व्यवसायी आकाश गोल्छालाई सहयोग गर्नेगरी सहमति जुटेको छ । यसैगरी अध्यक्षका अर्का आकांक्षी प्रकाश कपुरीलाई समेत कार्यसमितिमा नै समेट्नेगरी सहमति जुटेको छ।
यो सहमतिपछि गोल्छा वरिष्ठ उपाध्यक्ष हुनेछन्। एशोसिएसनले वरिष्ठ उपाध्यक्ष पद थपेर गोल्छालाई चयन गर्न लागेको हो। नेपाल उद्योग वाणिज्य महासंघकोजस्तै वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने प्रावधानसहित विधान संशोधन हुनेछ। एशोसिएसनको उपाध्यक्षमा सिप्रदी ट्रेडिङका राजनबाबु श्रेष्ठ र लक्ष्मी इन्टरकन्टिनेन्टलका कार्यकारी निर्देशक निराकार श्रेष्ठ बन्ने सहमति भएको छ।
नाडाको अन्य पदाधिकारीमा समेत सहमति गराउने प्रयास भइरहेको नाडाले जनाएको छ। नाडाको अधिवेशन पुस २० र २१ गतेलाई तोकिएको छ। २१ गते नयाँ कार्यसमिति चयन हुने छ।