काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रहेको सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको जानकारी गराएको छ।
राष्ट्र बैंकले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको भन्दै बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकोले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको जनाएको हो ।
'बैंक तथा वित्तीय संस्था सञ्चालनको पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको र यस बैंकले बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकोले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको व्यहोरा अनुरोध छ,' विज्ञप्तिमा उल्लेख छ।
कतिपय व्यक्ति तथा समूहले निश्चित बैंकहरू तोकेर भ्रामक प्रचार गरेको भन्दै राष्ट्र बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। अहिले कतिपय बैंकहरूमा निक्षेप झिक्नेहरू उल्लेखनीय बढेपछि राष्ट्र बैंकले अवस्था ठिक भएको जानकारी गराएको हो।
राष्ट्र बैंकले नियमन गरेका वाणिज्य बैंक, विकास बैंक तथा वित्त संस्थाहरूमा कुनै प्रकारको समस्या नभएको विज्ञप्तिमा उल्लेख छ।