न्यूयोर्क । अमेरिकाको न्यूयोर्क शहरमा नेपाल डे परेड सम्पन्न भएको छ । विभिन्न जातजाति र क्षेत्रका नेपालीको मौलिक भेषभुषा र गीत संगीतसहितको उपस्थितिले न्यूयोर्कको व्यस्त शहर म्यानहाटन आईतबार दिनभर गुञ्जायमान भयो ।
पञ्चे बाजा, भजन, देउडा, सोरठी, मैथिली, शेर्पा र तामांग सेलोले गुञ्जिएको परेडमा विभिन्न संघसंस्थाका व्यानरसहित नेपाली र अमेरिकी नेपालीको उपस्थिति थियो ।
न्यूयोर्क, न्यूजर्सी र कनेक्टिकटबाट दुई हजार भन्दा बढि नेपाली एवं नेपाली मूलका अमेरिकीको उपस्थिति रहेको कार्यक्रमले अमेरिकामा नेपालीको उपस्थिति र एकतालाई झल्काएको थियो । त्यतिमात्र होइन सगरमाथाको देश नेपाल, बुद्ध जन्मेको भूमि मात्र होइन हरेक कोणबाट जीवनको अनुभव बटुल्न नेपाल भ्रमण गर्नु पर्ने सन्देश पनि परेडले दिएको थियो ।
न्यूयोर्क शहरका मेयर एरिक एडम्स, अमेरिकी सिनेटका मेजोरिटी लिडर चक सुमर, न्यूयोर्क राज्यका सांसद स्टेभन रागालगायत स्थानीय जनप्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रममा पर्यटकहरुले विशेष रुचीका साथ अवलोकन गरे ।
नेपालको विविध कला, संस्कृति र परम्परा झल्किने गरी गरिएको सांगितिक प्रस्तुतिले म्यानहाटन शहरलाई नेपालमय बनाएको थियो ।नेपाली महावाणिज्य दुतावास न्यूयोर्ककी वाणिज्य दुत विष्णु अधिकारीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा न्यूयोर्कका लागि नेपाल सरकारका पर्यटन प्रवर्द्धक एवं पत्रकार गोकुल श्रेष्ठ, उपवाणिज्य दुत संगीता न्यौपानेलगायतको विशेष उपस्थिति थियो ।
पत्रकार, मोडल एवं म्यूजिक डाईरेक्टर विक्कि पुलामी र डाजिमा शेर्पाको सञ्चालनमा सम्पन्न कार्यक्रमको आर्थिक संयोजन दिनदयाल भण्डारी दिनेशले गरेका थिए । कार्यक्रममा सात वटै प्रदेशको विशेष प्रस्तुति थियो । परेडका लागि हेमन्त मल्ल अध्यक्ष, ई. टेम्बा शेर्पा कन्भेनरको जिम्मेवारी दिईएको थियो ।
गैरआवासीय नेपाली संघ, अमेरिका न्यूयोर्क च्याप्टरको मूल आयोजना र स्थानीय नेपाली संघसंस्थाको सहकार्य र समन्वयमा नेपाल डे परेड सम्पन्न भएको हो । नेपालको गणतन्त्र दिवसको सेरोफेरो पारेर सन् २०१६ देखि नेपाल डे परेड गर्न थालिएको हो ।


