अमेरिका,साउन २४ । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको महासचिवमा प्रतीक पाण्डेले उम्मेदवारी घोषणा गरेका छन । क्यालिफोर्निया निवासी पाण्डेले अगष्ट १४, १५ र १६ तारिखमा भर्जिनिया राज्यमा हुने तेश्रो केन्द्रीय अधिवेशनका लागि महासचिवमा उम्मेदवारी घोषणा गरेका हुन् ।
पाण्डेले संगठनलाई परम्परागत गतिविधिमा सीमित नराखी आधुनिक, पारदर्शी, प्रविधिमैत्री र परिणाममुखी संस्थाका रूपमा पुनर्संरचना गर्नुपर्ने एजेन्डा अघि सारेका छन् ।
महासचिवलाई केवल बैठक बोलाउने, माइन्युट लेख्ने वा निर्णय सुनाउने पदका रूपमा नभई संगठनको प्रशासन, समन्वय, कार्यान्वयन र जवादेहीतासहितको नेतृत्व गर्ने सक्रिय जिम्मेवारीका रूपमा परिभाषित गर्दै उनले प्रशासनिक दक्षता र कार्यान्वयनलाई आफ्नो उम्मेदवारीको प्रमुख आधार बनाएका छन्।
आर्थिक कारोबारदेखि संगठनात्मक निर्णयसम्म पारदर्शिता संस्थागत गर्नुपर्ने, ऋजबउतभच देखि केन्द्रसम्म सदस्यता, नवीकरण, कार्यक्रम, अभिलेख, सूचना प्रवाह र निर्वाचन प्रक्रियालाई डाटामा आधारित र डिजिटलाइज्ड बनाउनुपर्ने उनको प्रस्ताव छ। “जससँग आफ्नै संगठनको सही डाटा छैन, उसले संगठनको भविष्यको सही योजना पनि बनाउन सक्दैन” उनले भनेका छन ।
अमेरिकामा रहेका नेपालीको ज्ञान, प्रविधि, अनुसन्धान, उद्यमशीलता, पेशागत दक्षता र विश्वव्यापी नेटवर्कलाई नेपालको लोकतान्त्रिक र विकास प्रक्रियासँग जोड्दै जनसम्पर्क समिति अमेरिकालाई नेपाली काँग्रेसको प्रभावशाली पोलिटिकल थिंक ट्यांकका रूपमा विकास गर्नका लागि काम अघि बढाउने उनको योजना छ ।
उनका अनुसार जनसम्पर्क समिति केवल नेपालतर्फ प्रस्ताव पठाउने संस्था नभई अमेरिकाबाट पनि विचार, नीति र विज्ञता नेपाल पुर्याउने संस्थागत माध्यम बन्नुपर्छ। त्यस्तै, युवालाई कार्यक्रममा सहभागी गराउने औपचारिकताभन्दा माथि उठेर निर्णय प्रक्रियामै नेतृत्व दिने, अग्रजहरूको राजनीतिक अनुभवलाई नयाँ पुस्ताको प्रविधि, नवप्रर्वतन र ग्लोबल एक्सपोजरसँग सँग जोड्ने अवधारणा अघि सारिएको छ।
पुस्तान्तरणलाई अग्रज विस्थापनका रूपमा नभई अनुभव र नयाँ ऊर्जाबीचको संस्थागत सहकार्यका रूपमा अघि बढाउनुपर्ने उनको मत छ ।पाण्डेले संगठनको अर्को प्राथमिकता व्यक्ति होइन, संस्थागत प्रणाली निर्माण हुनुपर्ने बताएका छन्।


