काठमाडौं । अमेरिकाको टेक्सास राज्यको ह्युस्टनस्थित अपार्टमेण्टमा गोली हानेर मारिएकी मुना पाण्डेका संदिग्ध हत्यारा पक्राउ परेका छन् ।ह्युस्टन प्रहरीले स्थानीय समय अनुसार बुधवार बेलुकी ती व्यक्ति पक्राउ परेको जानकारी दिदैं विवरण सार्वजनिक गरेको हो ।
प्रहरीले स्थानीय समय अनुसार बुधबार बिहान संदिग्ध हत्याराको फुटेज सार्वजनिक गरेपछि साँझ ती व्यक्ति पक्राउ परेका हुन् । संदिग्ध हत्यारा ५१ वर्षीय बबि सिंह शाह रहेको ह्युस्टन प्रहरीले जनाएको छ ।
अमेरिकाको टेक्सास राज्यको ह्युस्टन शहरमा गोली हानी नेपाली विद्यार्थी मुना पाण्डेको हत्या गरेको आरोपमा पक्राउ परेका व्यक्तिको विवरण सार्वजनिक भएको छ ।
प्रहरीले हत्या आरोपमा उनीविरुद्ध मुद्दा अघि बढाएको छ । प्रहरीले बुधबार मुना पाण्डेको हत्यामा संलग्न संदिग्धको क्लोज सर्किट (सीसी) टिभी फुजेटमा देखिएको तस्वीर सार्वजनिक गरेको थियो र उनलाई कसैले देखेको भए खबर गरिदिन अनुरोध गरेको थियो ।
यसको २४ घन्टा नवित्दै प्रहरीले शाहलाई नियन्त्रणमा लिएको हो । ह्युस्टन प्रहरीका प्रवक्ताका अनुसार, सीसी टीभीमा मुनाको अपार्टमेन्टबाट निस्किँदै गरेको देखिएका व्यक्ति शाह नै थिए ।
शाहलाई बुधबार अपराह्न ह्युटनको उत्तरपश्चिम क्षेत्रमा रहेको ट्राफिक स्टपबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।



