२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

विकासले उज्यालिँदै गाउँ, बसाइँसराइले बन्दै छन् अँध्यारा

विकासले उज्यालिँदै गाउँ, बसाइँसराइले बन्दै छन् अँध्यारा

शनिबार, फागुन ३ २०८१
  • images
    images
    विकासले उज्यालिँदै गाउँ, बसाइँसराइले बन्दै छन् अँध्यारा

    गलेश्वर (म्याग्दी) । सडक, सञ्चार, शिक्षा र स्वास्थ्यको पहुँचसँगै विकासले उज्यालिँदै गरेका गाउँ बसाइँसराइले अँध्यारा बन्दै गएका छन् । संघीयता कार्यान्वयनमा आएसँगै स्थानीय तह सबल हुँदा विकासका कार्यक्रम गाउँ केन्द्रित भए पनि गाउँ रित्तिँदै गएको हो । 


    images

    वर्षौंदेखि ओझेलमा परेका गाउँबस्तीमा विकास पुगेको छ । घरआँगनमै गाडी गुड्ने सडक छन् । नजिकै विद्यालय छ । वडा कार्यालयसँगै स्वास्थ्यचौकी, घरघरमा झलमल्ल बिजुली, घाँस पराल बोकेर घरगोठमा पुग्ने ट्याक्टर, मोटरसाइकल सबैको सुविधा गाउँमा भए पनि गाउँ छोड्दै शहर झर्ने र मधेश पस्नेहरूको संख्या बर्सेनि बढ्दै गएको छ ।

    ‘गाउँ गाउँजस्तो छैन 
    शहर शहरजस्तो छैन
    कसकसले केके गर्दिए कुन्नी
    आफू जन्मिएको ठाउँ नै चिनिँदैन ।’

    कवि हेम हमालको कवितामा भनिएझैँ तीव्र रूपमा भइरहेको बसाइँसराइ र वैदेशिक रोजगारीप्रतिको बढ्दो आकर्षणका कारण ग्रामीण सौन्दर्य रित्तिदै जाँदा गाउँ गाउँजस्ता रहेनन् भने सहर पनि वर्णशंकर हुँदै जान थालेको छ ।  

    चार–पाँच वर्षअघिसम्म दुर्गम मानिएका गाउँहरूमा पछिल्लो समय विकासको लहर चलेको छ । तर, विकास र सुविधा गाउँमा पुगेपछि मोटर चढेर गाउँ छोड्नेहरू पनि उत्तिकै बढेका रघुुगङ्गा गाउँपालिका–६ ठाडाखानीका टेकबहादुर छन्त्यालले बताए ।

    हेर्दै रहरलाग्दो म्याग्दीको मालिका गाउँपालिका–२ मा पर्ने रूम गाउँको यो सौन्दर्य अहिले बसाइँसराइका कारण एक्लिँदै जान थालेको छ । ’गाउँमा घरहरू त छन् तर, घरमा बस्ने मानिसहरू छैनन् । बस्ती पातलिँदै जान थालेको छ । भीरपहरा र खोलाहरू छिचोल्दै गाउँमै सडक पुगेको छ । सुविधा थपिएका छन् । विद्यालय, स्वास्थ्यचौकीदेखि लिएर खानेपानी र सिँचाइको राम्रो सुविधा भए पनि मानिसहरू थप सुविधाको खोजिमा शहर बजार र तराईतिर जानेक्रम भने झन बढ्दै जान थालेका छन,’ छन्त्यालले भने ।

    ठाडाखानी मात्रै होइन, आफ्नै रीतिथिति र जीवनशैलीमा रमाएको म्याग्दी जिल्लाका दर्जनौँ गाउँहरू  पछिल्लो समय बसाइँसराइका कारण उजाडिँदै जान थालेका छन् । जिल्लाका दुर्गम गाउँहरूबाट मात्रै होइन, सदरमुकाम नजिक र सबै कुराको सुविधा पुगेका गाउँहरूबाट समेत बसाइँसराइ बढ्दै गएको छ । बेनी नगरपालिकाको ज्यामरूककोट, पुलाचौर, सिंगा, भकिम्ली, घतानजस्ता गाउँहरू समेत बसाइँसराइका कारण रित्तिँदै जान थालेका स्थानीय जनप्रतिनिधिले बताएका छन् ।

    आठ–दश वर्षअघि ५५ घरधुरी भएको बेनी नगरपालिका–२, गौश्वारा गाउँमा अहिले २६ घरधुरीमा मात्रै मानिसको बसोबास रहेको छ । त्यसैगरी, एक सय ७९  घरधुरी भएको बगरफाँट र खबरा क्षेत्रबाट ४८ परिवारले बसाइँ सरेको बेनी नगरपालिका–२ का वडाध्यक्ष यामबहादुर कार्कीले बताए । 


    गाउँमा विकासले गति लिँदै गरे पनि बसाइँ सर्नेको संख्यामा भने कमी आउन नसकेको उनको भनाइ छ । गाउँमा साह्रोगाह्रो र आपत्विपद्‌ पर्दा सहयोग गर्ने छिमेकी घट्दै जान थालेका र विकास निर्माणको काम गर्न समस्या हुने गरेको मङ्गला गाउँपालिका–२ का केदार जैसीले बताए ।

    म्याग्दीमा वैदेशिक रोजगारीमा जाने, सेवासुविधाका लागि ठूला शहर र जिल्ला बाहिर बसाइँसराइ गर्ने र कम बच्चा जन्माउने प्रवृत्तिका कारण १० वर्षअघिको तुलनामा जनसंख्या घटेको पाइएको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार २०६८ सालको तुलनामा शून्य दशमलव ५४ प्रतिशतले म्याग्दीको जनसंख्या घटेको हो । 

    २०६८ सालको जनगणनाअनुसार १ लाख १३ हजार छ सय ४१ जना जनसंख्या रहेको जिल्लामा २०७८ को प्रारम्भिक नतिजामा १ लाख ७ हजार ३ सय ७२ जना भएको केन्द्रीय विभागको तथ्यांकमा उल्लेख छ । रासस

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार