काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत प्लेअफको समीकरण पूरा भएको छ । लिग चरणका खेल सकिएसँगै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले पहिलो क्वालिफायर खेल्ने भएका छन् भने चितवन राइनोज र काठमाडौं गोर्खाजले एलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछन् ।
आइतबार भएको खेलमा पोखरा एभेन्जर्ससँग काठमाडौं गोर्खाज पराजित भएपछि प्लेअफको समीकरण टुंगिएको हो । दोस्रो स्थानमा उक्लिने लक्ष्यसहित मैदानमा उत्रिएको काठमाडौं पोखरासँग पराजित भएपछि अंकतालिकाकाे तेस्रो स्थानमै रहन बाध्य भयाे ।
लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेको साविक विजेता लुम्बिनी लायन्स ११ अंकसहित शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेको छ । सुदूरपश्चिम रोयल्स १० अंकसहित दोस्रो स्थानमा रह्यो ।
त्यस्तै, चितवन राइनोज तेस्रो र काठमाडौं गोर्खाज चौथो स्थानमा रहँदै एलिमिनेटरमा पुगेका छन् । एनपीएलको प्लेअफ संरचनाअनुसार पहिलो र दोस्रो स्थानमा रहने टोलीबीच पहिलो क्वालिफायर हुनेछ । उक्त खेलको विजेता सिधै फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले भने फाइनल प्रवेशका लागि अर्को अवसर पाउनेछ ।
तेस्रो र चौथो स्थानमा रहने टोलीबीच एलिमिनेटर खेल हुनेछ । एलिमिनेटरको विजेताले पहिलो क्वालिफायरमा पराजित टोलीसँग दोस्रो क्वालिफायर खेल्नेछ । दोस्रो क्वालिफायर जित्ने टोलीले फाइनलमा स्थान बनाउनेछ ।
यससँगै एनपीएलको उपाधि दौडमा अब चार टोली मात्र बाँकी रहेका छन् । लुम्बिनी र सुदूरपश्चिम पहिलो क्वालिफायरबाटै फाइनल पुग्ने लक्ष्यमा रहँदा चितवन र काठमाडौंका लागि एलिमिनेटर जित्नैपर्ने दबाब हुनेछ ।



