म मर्यो भन्ठानेर
मृत घोषणा गरियोस
चार किल्ला बाँधी
सर्जमिन मुचुल्का उठाइयोस
सेना, प्रहरीको रोहवरमा
कीर्ते औठा छापहरु लगाई
मलाई मुर्दाघर लगेर
करौतीले चरचरि चिरियोस ।
मैले मेरो जीवन जिउन पाउनु पर्छ भन्दा भन्दै
म माथि बाँच्नै नजान्ने आरोप थोपरेर
मेरो जिन्दगी माथि घात हुने चलखेल नगरियोस
म चुनैतीका पहाडहरु उक्लिरहेकै छु
अनावश्यक पासो थापेर
मेरो खुट्टा तान्ने दुष्साहस नगरियोस
म अनवरत लामो यात्रामा छु
मेरो यात्रामा अवरोध हाल्ने गरी
शण्ड, मुण्ड नपठाइयोस ।
कोही रोइरहेका
कोही तड्पिरहेका
एक हुल मान्छेहरुको दारुण कथा, व्यथा
मेरै थाप्लोमा बोकाएर
तपाईले उन्मुक्तिको कुरा गर्न सुहाउन्न ।
तपाई कति कठोर र निर्दयी <
मृत्युलाई पनि हाँसोमा उडाइ दिनु हुन्छ
तपाइ संग संवेदना छैन
तपाइ त संवेदनाहीन मान्छे
तपाईलाई मान्छे रोएको खुव मन पर्छ ।
जिउँदै लाशहरु बनाएर
चितामा जलाउन पाउनु हुन्न
रहरका विस्कुनहरु सुकाउनै छ
उमङ्गका चौतारीहरुमा, दौतरी खोज्नै छ
म मरे भन्ठानेर
तपाईले शोक धुनहरु बजाउन पाउनु हुन्न ।
म त जुलुस हुँ
जिन्दावाद, मुर्दावाद नारा घन्किनु पर्छ
तपाईको सडक जोगाइ राख्नोस
पदचापले निचोरिएर पड्कन सक्छ
प्लेकार्ड र व्यानरहरु देख्नु भएन <
तपाईले जसलाई मृत घोषित गर्नु भएथ्यो
उ नै जुलुसको अग्र मोर्चामा सामेल छ ।
थकाइहरु थाती राख्नु छ
पीडाहरु पन्छाउँदै जानु छ
दुश्मन संग पौठेजोरी खेल्दै
यात्रालाई विजयको ट्ङ्गोमा पुर्याउनु छ
असंभव भन्नु हारको संकेत रहेछ
किन हार्ने सजिलै
म मोर्चामा तैनाथ छु ।
तिर्खा पनि मेटिदो रहेछ अदम्य साहस भए पछि
भोक पनि टर्दो रहेछ दृढ इच्छा शाक्ति भए पछि
म संकल्पको पहाड उक्लदै छु
मलाई मेरो होस्टेमा तपाईको हैसे चाहिएको छ
म पहाडको चुचुरो चुम्ने तरखरमा छु
तपाईले मलाई विजयको झण्डा दिनु पर्छ
वैरभाव राख्ने किन ?
सच्चिनोस, तपाई संच्चिनु पर्छ
यदि सच्चिनै हुन्न भने
बुझ्नोस
तपाईको लाशको पनि
सर्जमिन मुचुल्का उठाइनु पर्छ ।
-प्रकाशचन्द्र खतिवडा
सुन्दरहरैंचा –६, दुलारी, मोरङ


