एउटा बाज
परेवाको शिकार गर्छ
अघाएर डकार्दै
नजिकै पिप्लाको हाँगामा बस्छ
उङ्छ
व्युँझन्छ
अनि झम्टन्छ पुनः परेवा माथि ।
दैनिक परेवाहरु आंतकित छन
बाजको झम्टाइ बाट
बचेराहरु रोइ रहेछन
आमाले चारो नल्याए पछि
दयाहीन बाज
दाउ हेरी बस्छ
छुट्याउँदैन परेवा परेवी
टुहुरो बनाउँछ बचेराहरुलाई ।
बचेराहरुको मातृत्व खोसेर
बाज पखेटा फटफटाउँछ
उड्छ वेग हानी
सुदूर जंगल तिर
परेवाको जीवन सुरक्षित छैन
अकालमै जान्छ ज्यान
प्रतिकार गर्न नसकी
युद्ध हारेको सिपाही जस्तै
झोक्राउछन परेवाहरु
बाज खुसीले नाच्छ
उन्मत्त हुन्छ
अनि बिर्सन्छ आफू मर्ने कुरा ।
बर्षौ बिते प्रताडना खपेर
परेवाहरुको याचना सुनिएन
परेवाहरु शालीन र शान्त थिए
बिद्रोहको अधिकार सुरक्षित राख्न नसक्दा
निरीह र निमुखा जस्तै बनी
परेवाहरुले जीवन उत्सर्ग गरि रहे ।
परेवाहरुको मुक्ति मिल्ने छैन
बाजहरुको साम्राज्य नतोडे सम्म
बाजहरु बिर्ता ठानिरहेछन
परेवाको शिकार गर्ने कुरा
बिउँतनु पर्छ परेवाहरु
बाजको साम्राज्य तोड्न ।
जब तोडिने छ
बाजहरुको साम्राज्य
परेवाहरु बेगिने छन
आकाश माथि माथि
रम्ने छन भाले पोथि
चुच्चोमा चुच्चो जोड्याएर
बचेराहरु रोमञ्चित हुने छन
गुँड बाटै पङ्ख उचाली
परेवाहरु उन्मुक्तिको स्वास फेर्नेछन
बाजहरुको बिर्ता खोसिए पछि ।
सुन्दरहरैंचा –६, दुलारी, मोरङ
९८४२०७३५२५


