काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय विदेशमन्त्री एस.जयशंकरसँग भेटवार्ता गरेका छन्।
शनिबार साँझ परराष्ट्रमन्त्री खनालले समकक्षी जयशंकरसँग भेटवार्ता गरेका हुन्। भेटवार्तामा मन्त्री खनालले भारतको नेपालको सबैभन्दा महत्त्वपूर्ण साझेदार भएको बताए ।
भारतसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको खनालले बताए। दुई देशबीचको सहकार्यलाई थप ठोस र अर्थपूर्ण रूपमा अगाडि बढाउन नेपाल पूर्ण रूपमा तयार खनालले बताए।
नयाँ सरकार भारतसँगको सम्बन्धलाई थप सुदृढ बनाउन उच्च तहमा सक्रिय रूपमा संलग्न हुन तयार रहेको खनालले बताए। ‘नेपालले भारतसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको छ। नयाँ सरकारको नेतृत्वमा हामी ठोस रूपमा उद्देश्यसहित सम्भव भएसम्म उच्च तहमा संलग्न हुन तयार छौँ,’ खनालले भने।
भेटवार्ताका क्रममा भारतीय विदेशमन्त्री जयशंकरले भारत र नेपालबीचको सम्बन्ध ‘बलियो जग’ मा आधारित भएको बताए। उनले यसलाई ‘विशेष’ भनेर उल्लेख गरे।
भारतीय विदेशमन्त्री डा. जयशङ्करले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै भेटका क्रममा द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जाल (कनेक्टिभिटी), ऊर्जा सहयोग तथा जनस्तरका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको उल्लेख गरेका छन् ।
परराष्ट्रमन्त्री खनाल भारतीय विदेशमन्त्री जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा जेठ २२ देखि २४ गतेसम्मको औपचारिक भ्रमणका लागि शुक्रबार नयाँ दिल्ली पुगेका थिए ।
भ्रमणका क्रममा उनले भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा. विजय चौथाईवालेसँग पनि भेटवार्ता गरेका थिए ।
त्यसैगरी, मन्त्री खनालले नयाँ दिल्लीस्थित इण्डिया फाउन्डेसनद्वारा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै नेपाल–भारत सम्बन्ध, क्षेत्रीय सहकार्य तथा साझा विकासका विषयमा धारणा राखेका थिए ।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा दुई देशबीचको बहुआयामिक सम्बन्धलाई थप मजबुत बनाउने विषयमा उच्चस्तरीय संवाद भइरहेको छ । मन्त्री खनाल भ्रमण सम्पन्न गरी जेठ २४ गते स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।



